बाल मानसिक स्वास्थ्यमा राज्यको लगानी निराशाजनक छ : डा. कुवँर (भिडियो)
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यही असोज १५ र १६ गते हुने अन्तर्राष्ट्रिय सम्मेलनमा देश तथा विदेशका सम्बन्धित विषयका २५० बढी विज्ञहरूको सहभागिता रहनेछ ।
नेपालमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको यो तेस्रो पटक हो ।
सम्मेलनमा नेपाल सरकार र यस क्षेत्रका अन्य मानसिक स्वास्थ्यमा काम गर्ने संस्थाहरूका साथै पाकिस्तान, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, चीन लगायतका देशहरूबाट बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था र व्यक्तिहरू सहभागी हुनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन सन् २०१८ र २०२२ मा सम्पन्न भइसकेका छन् । बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एसिया नेटवर्क (क्याम्स)सन् २०२३ मा दक्षिण एसियामा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्न स्थापना गरिएको थियो । जुन संस्था यस सम्मेलनको प्रमुख आयोजक हो ।
सम्मेलनमा अन्य गैरसरकारी संस्थाहरूको संयोजन रहन्छ । सम्मेलन हुन गइरहेको सन्दर्भमा नेपालमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य अवस्था, नेपालले गर्नुपर्ने काम, सम्मेलनबाट हुने उपलब्धि लगायतका विषयमा जगन्नाथ ढकालले कान्ति बाल अस्पतालका बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभाग प्रमुख एवं बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. अरुणराज कुँवरसँग कुराकानी गर्नुभएको छ । डा. कुँवर क्याम्सन्का अध्यक्षसमेत हुनुन्छ । प्रस्तुत छ उक्त कुराकानीको अंश :
नेपालमा बाल तथा किशोरावस्थाको मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ?
केही वर्ष अगाडिसम्म बालबालिका तथा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य अवस्थाको पहिचान हुँदैनथ्यो । आजभोलि मानसिक स्वास्थ्य अवस्थाको पहिचानको दर बढिरहेको छ । २०१५ सालमा कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरीहरूलाई मानसिक स्वास्थ्य सेवा सुरु गर्दा ६ महिनामा करिब ६ सय बालबालिकाहरू उपचारको पहुँचमा आए । गत वर्षसम्म आइपुग्दा यो संख्या बढेर १२ हजार पुगेको छ ।
१५ लाख बालबालिकालाई मानसिक स्वास्थ्य सेवाको सहयोगको खाँचो छ । यो तथ्यले साना नानीहरूमा पनि देखिने मानसिक समस्या र यसप्रतिको बेवास्ताले समाजमा कस्तो असर पार्न सक्छ भनेर उजागर गर्छ ।
संख्यात्मक रूपमा हेर्दा मानसिक स्वास्थ्य सेवाको पहुँचमा आउने बालबालिका एवं किशोरकिशोरीहरू बढेको देखिए पनि जति संख्यामा मानसिक स्वास्थ्य समस्या देखिरहेको छ, त्यो गतिमा सन्तोषजनक रूपमा सेवा प्रवाह गर्न सकिएको छैन ।
विभिन्न तथ्यांक हेर्दा नेपालमा कुल जनसंख्याको करिब १० देखि १५ प्रतिशत अर्थात् १५ लाख बालबालिकालाई मानसिक स्वास्थ्य सेवाको सहयोगको खाँचो छ । यो तथ्यले साना नानीहरूमा पनि देखिने मानसिक समस्या र यसप्रतिको बेवास्ताले समाजमा कस्तो असर पार्न सक्छ भनेर उजागर गर्छ ।
काठमाडौं बाहिर मानसिक स्वास्थ्य सेवाको पहुँच पुगेको छैन । देशव्यापी रूपमा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन ढिला गर्नु हुँदैन । किनकि बालबालिकाको मानसिक समस्या समयमै समाधान नगरे, तिनीहरूका जीवनका महत्त्वपूर्ण पक्षहरू, जस्तै, अध्ययन, सम्बन्ध, समग्र विकासमा नकारात्मक प्रभाव पार्न सक्छ। यसो हुँदा परिवारले मात्रै होइन राज्यले पनि क्षति व्यहोर्नुपर्ने हुन्छ ।
बाल मानसिक स्वास्थ्य सेवामा भएका प्रयासहरू के–के छन् ?
कान्ति बाल अस्पताल र मानसिक अस्पताल पाटनमा मानसिक स्वास्थ्य हेर्न छुट्टै वार्ड स्थापना भएको छ । यो बाल मानसिक स्वास्थ्य सेवाको सुरुवाती अवस्था हो । सरकारले बालबालिकाको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न जरुरी छ । मानसिक स्वास्थ्य सेवालाई देशव्यापी पुर्याउनुपर्छ । पहुँच नभएका स्थानमा सेवा विस्तार गर्न अब ढिला गर्नु हुँदैन ।
बाल मानसिक स्वास्थ्यमा राज्यको लगानी कस्तो छ ?
छ । हामीसँग कार्यक्रम, नीति तथा योजना छ तर जुन स्तरमा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले कुल बजेटको ५ प्रतिशत हिस्सा स्वास्थ्यमा छ । स्वास्थ्यको कुल बजेटको १ प्रतिशत जति लगानी मानसिक स्वास्थ्यमा छ । अनि १ प्रतिशत भन्दा कम लगानी बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यमा छ ।
म एउटा उदाहरण दिन चाहन्छु, मैले मानसिक समस्या देखिएको एक बच्चालाई ८ वर्षदेखि नियमित जाँच गरिरहेको छु । अहिले उसले मास्टर्स गरेर आफूले सिकेको ज्ञान र सीपअनुसार काम गरिरहेको छ । समयमा उपचार पाउन सकेको कारण उसको ऊर्जावान समय खेर गएन ।
परिवार, समाज, राज्यलाई उसले सहयोग गरिरहेको छ । भन्नुको तात्पर्य, समयमै मानसिक स्वास्थ्य समस्याको पहिचान भएका कारण अहिले ऊ काम गर्न सक्ने भयो । ऊ बौद्धिक अपांगता हुनबाट जोगियो । बेलैमा समस्या पहिचान हुनसक्दा त समाधान पनि निस्कने रहेछ नि !
सरकारले गाउँ–शहर सबै ठाउँमा मानसिक स्वास्थ्य सेवाहरू पुर्याउन विशेष योजना बनाउन जरुरी छ । विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताहरू नियुक्त गर्ने, शिक्षक र अभिभावकलाई प्रशिक्षण दिने र समुदायमा जनचेतना फैलाउने कार्यहरूबाट बालबालिकाको भविष्य उज्यालो बनाउन सकिन्छ ।
बालबालिका देशको गहना हुन् । उनीहरूमा आजको लगानीले भोलिको उज्यालो भविष्य सुनिश्चित गर्छ । यदि बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा समयमै ध्यान दिएर लगानी गर्यौँ भने उनीहरू सक्षम, सशक्त, र समाजका जिम्मेवार नागरिक बन्न सक्छन्। तर, यदि हामीले उनीहरूको स्वास्थ्य, शिक्षा र समग्र हितलाई बेवास्ता गर्यौँ भने भविष्यमा यसको ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।
सरकारले बाल मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेमा के कस्ता उपलब्धि हासिल होला ?
बाल मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सके नेपालको कुल ग्राहस्थ उत्पादन (जिडीपी)मा ५ प्रतिशतसम्म फरक पर्छ । अहिले एक आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन वर्षको ५ प्रतिशत छ । आर्थिक, सामाजिक र भावनात्मक क्षेत्रमा सकारात्मक असर पुग्छ । अनुसन्धानहरूले के देखाएका छन् भने एक बालबालिकामा एक डलर लगानी गर्दा भविष्यमा उसबाट ५ डलर बराबरको प्रतिफल पाइन्छ ।
नेपालले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ, त्यसको एजेण्डा के हो ?
सम्मेलनमा विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने एजेण्डा रहेको छ ।
राष्ट्रिय र क्षेत्रीय एजेण्डामा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने नीतिहरूको वकालत, बालबालिका र किशोरकिशोरीहरूबिचको मानसिक स्वास्थ्य समस्याहरूको बारेमा चेतनाको प्रर्वद्धन गर्ने उद्देश्य रहेको छ । सम्मेलनमा ६७ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
नेपालले के कस्ता विषय उठाउँछ ?
विद्यालयहरूमा बालबालिकाको मानसिक स्वास्थ्यलाई कसरी प्रवर्द्धन गर्ने, सरकारलाई नीति तथा योजना बनाएर कार्यान्वयन गर्न दबाब दिने लगायतका विषयमा छलफल गर्छाै ।
नेपालमा तेस्रो पटक सम्मेलन हुँदासम्म मानसिक स्वास्थ्य सेवामा के कस्तो परिवर्तन भयो ?
सम्मेलनले नै परिवर्तन हुने होइन । बालबालिकाको मानसिक स्वास्थ्य सेवामा कामहरू भइरहेका छन् । उपचारको पहुँचमा आउन थालेका छन् । जनचेतना फैलेको छ । विद्यालयहरूमा नर्स कार्यक्रममार्फत मानसिक स्वास्थ्य सेवाबारे जागरण गराइएको छ । सरकारी तथा गैरसरकारी संस्थाहरू मानसिक स्वास्थ्यमा काम गरिरहेका छन् ।
सम्मेलनहरूबाट दिइने सुझावलाई नेपाल सरकारले कार्यान्वयन गरेको छ ?
हामी हरेक सम्मेलनबाट घोषणपत्र जारी गर्छाै । अहिलेसम्म सम्पन्न भएका सम्मेलनको नेतृत्व नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको छ । सम्मेलनमा सरकार आफैं सहभागी भएको हुँदा सरकार आफैंले आफ्ना नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्छ भन्ने हामी सोचिरहेका हुन्छौँ ।
तपाईँको अभिमत