कोरोना खोप परीक्षण : भारतमा खोप लिएको ९ दिनमा एक स्वयंसेवकको मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोनाविरुद्धको खोप परीक्षणका क्रममा एक स्वयंसेवकको मृत्यु भएको समाचार बाहिर आएको छ । भारतको मध्य प्रदेशको राजधानी भोपालमा भारत बायोटेकको खोप परीक्षणका क्रममा दीपक मरावी नामका स्वयंसेवकको मृत्यु भएको हो ।
भारत बायोटेक कम्पनीले शनिबार यसबारे जानकारी दिँदै खोप लिएको ९ दिनमै सो स्वयंसेवकको मृत्यु भएको बताएको छ ।
यसबारे उहाँका परिवारले भने सवाल उठाएको छ । तर कम्पनीले भने स्वयंसेवकको मृत्युको कारण खोपसँग नजोडिएको जिकिर गरेको छ ।
कम्पनीले दिएको बयानअनुसार डिसेम्बर २१, २०२० मा एक स्वयंसेवकको मृत्यु भएको थियो । यसलाई खोपको तेस्रो चरणको परीक्षणसँग जोडेर मृतकका छोराले पीपुल्स कलेज अफ मेडिकल साइन्सेज एन्ड रिसर्च सेन्टरलाई जानकारी दिइसक्नुभएको छ ।
कम्पनीले भने सुरुवातमा मृतक स्वयंसेवकको स्वास्थ्य अवस्था बिलकुलै राम्रो रहेकोले उहाँलाई स्वीकार गरिएको बताएको छ । उहाँलाई खोप दिएर स्वास्थ्यको निगरानी गरिएको कम्पनीले जनाएको छ । सात दिनसम्म पनि उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको कम्पनीले बताएको छ ।
पोस्टमार्टम रिपोर्टअनुसार उहाँको मृत्यु मुटुरोगसँग सम्बन्धित रहेको भोपाल प्रहरीले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत