तोकिएको ढाँचामा कोरोना बीमितको विवरण आएन : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दाबी गरेकाहरुको विवरण तोकिएको ढाँचामा नआएको भन्दै ७ दिनभित्र भनेबमोजिम विवरण पेश गर्न बीमितहरुलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले विवरण प्रमाणिकरणको क्रममा संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले काेभिड - १९ को परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुले कोभिड १९ सम्बन्धि राष्ट्रिय मार्गदर्शन अनुसार तोकिएको ढाँचामा दिनहुँ २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा लगायत अन्य निकायमा पठाउनुपर्नेमा सो अनुसार नपठाएको पाइएको जनाएको छ ।
तोकिएअनुसार समयभित्र विवरण उपलब्ध नभएमा बीमा दाबी प्रमाणिकरणका लागि अयोग्य ठहरिने मन्त्रालयले स्पष्ट पारेको छ । यसैगरीतोकिएको अनुसार समयमा नै रिपोर्टिङ नगरे प्रयोगशालाहरुको सम्बन्धन खारेज हुने चेतावनी मन्त्रालयले दिएको छ ।
साथै,केही व्यक्तिहरुको विवरण कोरोना परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै रिर्पोटिङ भएको पाइएकाले ती विवरणहरु बीमा दाबीका लागि अयोग्य ठहरिएको जानकारी मन्त्रालयले दिएको छ । दाबी प्रमाणिकरणका लागि १८ हजारभन्दा बढीको विवरण आएको र जसमध्ये १५ हजारभन्दा बढी विवरण प्रमाणिकरण भइसकेको पनि मन्त्रालयले जनाएको छ ।
तपाईँको अभिमत