वर्षौँ काम गर्दा पनि पढाइ खर्च नउठ्ने नर्सको समस्या मलाई थाहा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले वर्षाैँ काम गर्दा पनि पढाइ खर्च उठाउन नसक्ने नर्सको समस्याबारे आफू जानकारी रहेको बताएका छन् ।
नेपाल नर्सिङ संघले आयोजना गरेको १४औँ राष्ट्रिय नर्सिङ सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘नर्सहरुले लामो समय इन्टर्नका रुपमा काम गर्नुपर्ने, न्यून पारीश्रमिक हुने, प्रोत्साहन कार्यक्रम नहुने, वर्षौैँ काम गर्दा पनि पढाइ खर्च नउठ्ने समस्या मैले बुझेको छु’ प्रधानमन्त्री प्रचण्डले भने ।
बिरामीको अनुपातमा स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति निकै कम रहेको बारे पनि आफू जानकारी रहेको उनले बताए । यसमा ओएनएम सर्वे गरी काम भइरहेको, छलफल अगाडि बढिरहेकाले छिट्टै निष्कर्षमा पुगी सरकारले समस्या समाधान गर्ने प्रतिवद्धता प्रचण्डले जनाए।
नर्सिङ शिक्षामा परिवर्तनसँग स्वास्थ्य सेवामा गुणस्तरीयता कायम भएको पनि उनको भनाइ छ। देशका कुना–कुनामा स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य सेवा बिस्तारमा समेत नर्सहरुको अहम भूमिका रहेको प्रधानमन्त्री प्रचण्डले सुनाए ।
यो नर्सिङ सम्मेलनमा हुने बहस तथा निष्कर्षले सरकारलाई नीति तर्जुमा गर्न, कार्यक्रम तयार पार्न मार्गनिर्देशन दिने विश्वास उनले व्यक्त गरे । अहिले नीति कार्यक्रम ता बजेट निर्माणको काम चलिरहेकाले नर्सिङ संघले उठाएका विषय र मागलाई उच्च प्राथमिकतामा खारेर छलफल गर्ने आश्वासन प्रधानमन्त्रीले दिए ।

नर्सिङ संघले विश्व नर्स दिवसको समेत अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलन भोलिसम्म चल्ने सम्मेलनमा नर्सिङ क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल र बहस हुने संघकी अध्यक्ष प्रा.मनकुमारी राईले जानकारी दिइन् ।
नर्सिङ शिक्षा गुणस्तरीय बनाउन सके बिरामीको खर्च कम हुने बताइन् । नर्सिङमा गुणस्तरीय जनशक्ति उत्पादन भएमा बिरामीको उपचार राम्रो हुने यसो हुँदा बिरामी धेरै समय अस्पताल बस्नु नपर्ने र अस्पताल कम बस्नुपर्दा खर्च कम हुने राईको भनाइ छ ।

नर्सहरुलाई काम पाउनै मुस्किल रहेको, पाएपनि न्यून पारीश्रमित रहेको र बिरामीको अनुपातमा नर्सको संख्या कम भएको गुनासो राईले गरिन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बिरामी अनुपातका आधारमा नर्सिङ जनशक्ति व्यवस्थापन गर्न सरकारसँग माग उनले माग गरिन् ।
नर्सिङ संघको कार्यालय रहेको भवन अति जीर्ण भएकाले नयाँ कार्यालयका लागि समेत सरकारको सहयोग आवश्यक भएको राईले सुनाइन् ।
विभिन्न देशका नर्सिङ संठगनका नेतृत्व, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नर्सिङ परिष्द लगायतका नेतृत्वले भिडियो सन्देशमार्फत सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत