के चर्चा भएजस्तै कोरोनाको खोप तत्काल नेपाल आउँछ ?
अहिले खोपको प्रभावकारीताबारे समाचारमा चर्चा भइरहेका छन्, ती सबै प्रारम्भिक नतिजामात्रै हुन् । ती खोपहरु जनमासमा लगाइएको छैन ।
काठमाडौं । विश्वमा कोरोना भाइरसको महामारी सुरु भएको ११ महिना भयो । यो समाचार तयार पार्दासम्म विश्वमा ५ करोड ८५ लाख ३३ हजार ५३९ जना संक्रमित भइसकेका छन् जसमध्ये ३ करोड ७४ लाख ४ हजार ६५७ जना निको भएक छन् भने १३ लाख ८६ हजार २०४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोनाको औषधि पत्ता लागेको छैन । विश्वभरका वैज्ञानिकहरु यसको अनुसन्धानमा लागि रहेका छन् । विश्वमा १० भन्दा बढी खोपहरु क्लिनिकल परीक्षणमा छन् यद्यपि कुनै पनि खोपको अन्तिम नतिजा भने आइसकेको छैन । हाल कोभिड खोपबारे जति पनि चर्चा बाहिर भइरहेको छ ती सबै प्रारम्भिक नतिजाको आधारमा भइरहेको छ । त्यसैले विश्व नै कोरोना खोपको लागि प्रतिक्षारत छ ।
अहिले खोपको प्रभावकारिताबारे विभिन्न खाले चर्चा भइरहेका छन् । ती सबै प्रारम्भिक नतिजा मात्रै हुन् । खोपको प्रयोग सर्वसाधारणमा नभइन्जेल खोपको विषयमा यसै भन्न सकिने अवस्था नरहेको जानकारहरु बताउछन् । तर पनि खोपको प्रारम्भिक नतिजाले कोरोना नियन्त्रणमा आशा जगाएको भने देखिन्छ ।
नेपालमा खोप ल्याउन बनाइएको कार्यदलका सदस्यसचिव समेत रहनुभएका स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.झलक शर्मा गौतम बाहिर खोप बनिसकेकाे जसरी चर्चा भइरहे पनि त्यसो नभएको बताउनुहुन्छ ।
अहिले खोपको प्रारम्भिक नतिजा मात्रै आएकाले अन्तिम नतिजाका लागि कुर्नुपर्ने उहाँको भनाइ छ । नेपालको सन्दर्भमा, आफ्नो भण्डारण क्षमतासँग मिल्ने केही खोपहरु पनि क्लिनिकल ट्रायलमा रहेकाले नेपालले सो खोपको अन्तिम नतिजालाई पनि पर्खनुपर्ने गौतम बताउनुहुन्छ ।
सो गठबन्धनमा नेपालसहित १७२ वटा राष्ट्र सहभागी छन् । कोभ्याक्सले खोप छनौट गर्दा, सबै देशको सहजतालाई प्राथमिकतामा राख्ने समझदारी कोभ्याक्समा भएको छ ।
'नेपालमा अहिले माइनस २० डिग्री र २ देखि ८ डिग्री सेल्सियस तापक्रममा खोप भण्डारण गर्न सक्ने क्षमता रहेको छ । यदि २ देखि ८ डिग्रीमा भण्डारण गर्न मिल्ने खोपले सफलता पायो भने नेपाललाई सो खोप सस्तो, सहज र प्रभावकारी हुन्छ' गौतम भन्नुहुन्छ । खोपको निर्क्यौल नभई अहिले नै भण्डारणलाई हतार गर्नु पनि उपयुक्त नहुने उहाँको ठहर छ ।
नेपालमा २ तरिकाबाट खोप ल्याइने तयारी छ । एउटा कोभ्याक्समार्फत र दोस्रो नेपाल सरकार स्वयंले खरिद गरेर । विश्वका गरिब राष्ट्रहरुमा खोपको समान पहुँचका लागि विश्व स्वास्थ्य संगठन, यूनिसेफ, विश्व बैंक र गाभी सम्मिलित एउटा गठबन्धन बनेको छ । जसलाई कोभ्याक्स नाम दिइएको छ । कोभिड खोपको समान वितरणमा कोभ्याक्सले खम्बाको भूमिका निर्वाह गर्नेछ ।
सो गठबन्धनमा नेपालसहित १७२ वटा राष्ट्र सहभागी छन् । कोभ्याक्सले खोप छनौट गर्दा, सबै देशको सहजतालाई प्राथमिकतामा राख्ने समझदारी कोभ्याक्समा भएको छ ।
कोभ्याक्सले कस्तो खोप किन्छ ?
गौतमका अनुसार, सबै राष्ट्रलाई अनुकुल हुने गरी खोप भण्डारण गर्ने क्षमता, बजेट र गुणस्तरलाई आधार मानी कोभ्याक्सले खोपको छनौट गर्नेछ । त्यसैले कोभ्यासले पनि विश्वमा निर्मित खोपको अन्तिम नतिजालाई पर्खनुपर्ने हुन्छ । हालसम्म ५ वटा कम्पनीको खोपको क्लिनिकल ट्रायल अन्तिम चरणमा छ ।
प्रारम्भिक नतिजा अनुसार अमेरिकी कम्पनी फाइजरद्वारा निर्मित खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको दाबी गरिएको छ । यस्तै अमेरिकी कम्पनी नै मोर्डनाले पनि आफ्नो खोप ९४.५ प्रतिशत सुरक्षित रहेको बताइसकेको छ ।
सबै राष्ट्रलाई अनुकुल हुने गरि खोप भण्डारण गर्ने क्षमता, बजेट र गुणस्तरलाई आधार मानी कोभ्याक्सले खोपको छनौट गर्नेछ ।
यस्तै रुसी खोप स्पुतनिक भीले आफ्नो खोप ९२ प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ । अबको एक महिनाभित्र क्लिनिकल ट्रायलमा रहेका धेरै खोपहरुको नतिजा आउने र सो नतिजाले खोप छनौट गर्न थप सहयोग पुर्याउने आँकलन गरिएको छ ।
विश्वमा क्लिनिकल परीक्षण पश्चात सम्बन्धित देशको नियामक संस्थाबाट अनुमति लिई सर्वसाधारणलाई प्रयोग गरिसकेपछि खोपको प्रभावकारिता हेरेर डब्ल्यूएचओले स्वीकृति दिएपछि उक्त खोप कोभ्याक्सले किन्नेछ । कोभ्याक्सले खोप लिने बित्तिकै उक्त खोप नेपालले पनि स्वतः पाउनेछ ।
सो अभियानले सुरुमा २ विलियन डोज कोभिड खोप खरिद गर्नेछ र कोभ्याक्समा रहेका प्रत्येक राष्ट्रलाई २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप वितरण गर्नेछ । कोभ्याक्सले सो खोप बजार मूल्यभन्दा कम तथा चाहेमा निःशुल्क पनि दिनसक्छ । हाल सैद्धान्तिक रुपमा बजारभाउ भन्दा कम मूल्यमा वितरण गर्ने एक प्रकारको सहमति भएको छ ।
दोस्रो तरिका,
नेपाल सरकार आफैंले सस्तो, सहजता र प्रभावकारिता हेरेर पनि खोप ल्याउन सक्छ । त्यसका लागि सरकारले अध्यादेश ल्याइसकेको छ । हाल क्लिनिकल चरणमा रहेका खोपको अन्तिम नतिजा आएपछि उक्त खोपको गुणस्तर र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले खोप आयात गर्न सक्छ ।
त्यो खोप कोभ्याक्सले दिएको खोपको भन्दा पहुँच बाहिर रहेका नागरिकलाई दिइनेछ । सरकारले आयात गर्ने खोप सम्बन्धित देशको नियामक संस्थामा दर्ता भएको, सो देशको नागरिकमा प्रयोग भएको र खोप नेपालको औषधि व्यवस्था विभागमा पनि दर्ता भएको हुनुपर्नेछ । खोप ल्याउन कानुनी, प्राविधिक तथा आर्थिक तयारीमा जुटिसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।
नेपाललाई कोभ्याक्सले दिने खोप पहिला कसले पाउनेछन् ?
कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापनमा खटिएका फ्रन्टलाइनर र सामाजिक अभियन्तालाई दिइनेछ ।
तुलसा घिमिरे
तपाईँको अभिमत