वायू प्रदुषणबाट नेपालमा वर्षेनी ४२ हजार बढीको मृत्यु
नेपालमा वायू प्रदुषणका कारण वर्षेनी ४२ हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य पत्रकार मञ्च, यूएसएड स्वच्छ हावा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य पत्रकारसंग वायू गुणस्तर व्यवस्थापन र यसको सुशासन सम्बन्धी छलफल कार्यक्रममा यूएस एड क्लिन एयरमा कार्यरत वातावरण विद् भुषण तुलाधारले सन् २०१९ मा वायू प्रदुषणले मानव स्वास्थ्यमा पारेकोबारे गरिएको एक अध्ययनले नेपालमा वायू प्रदुषणले ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
जसमा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ८० जनाको मृत्यु वायू प्रदुषणका कारण हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो तथ्यांक विभिन्न रोगका बिरामीको रोगको लक्षणमा वायू प्रदुषणको तत्वका आधार अध्यनन गरि तयार पारिएको हो ।
विश्व स्वास्थ्य संघले वायू प्रदुषण संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्यको समस्याका रुपमा राखिएको उहाँले बताउनुभयो ।
विश्वमा ९९ प्रतिशत मानिसहरु प्रदुषित वायु भएको ठाउँमा बस्ने गरेको अध्ययनले देखाएको छ । नेपालमा २०७६ सालमा काठमाडौं वायु गुणस्तर व्यवस्थापन कार्य कार्ययोजना स्विकृत भएको छ ।
कार्यक्रममा यूएस एड क्लिन एयरकी अवान्तिका प्रियदर्शनीले वायू प्रदुषणले शरीरको सबै भागहरुमा असर पुर्याइरहेको बताउनुभयो ।
टाउको दुख्ने, सास फेर्न गार्हो हुने, वाकवाकी लाग्नु, एलर्जी हुनु, आँखा पोल्नु, छाला सुख्खा हुनु, घाउ खटिरा आउनु वायू प्रदुषणको तत्कालिन असर रहेको बताउनुभयो । उहाँका अनुसार स्ट्रोक, डिमेन्सिया, पार्किसन्स्, कमजोर मानसिक स्वास्थ्य, अल्जाइमर, इस्केमिक हृदयरोग, उच्च रक्तचाप,सीओपीडि, फोक्सोको क्यान्सर लगायतका रोगको जोखिम बढी रहन्छ ।
कार्यक्रममा सिकागो यूनिभर्सिटी वायू गुणस्तर जीवन सुचांक एवं स्वच्छ हावा कार्यक्रमकी डाइरेक्टर क्रिस्टा हसेनकोफले वायू प्रदुषण बढिरहँदा यसलाई घटाउन पनि सकिने र यसका उपायहरु रहेको बताउनुभयो ।
वायू प्रदुषणका कारण स्वास्थ्यमा असर परिरहेको भएपनि वायू स्वच्छतामा ख्याल नगरिरहेको उहाँले बताउनुभयो । उहाँले वायू प्रदुषणका कारण मानिसको आयू घटिरहेको भन्ने एक अध्ययन गर्नुभएको थियो ।
कार्यक्रममा यूएस एड क्लिन एयरका भोला भट्टराईले स्वच्छ हावाको वकालत र जवाफदेहिता प्रक्रियामा आमसञ्चार माध्यमको भूमिका धेरै रहने बताउनुभयो । उहाँले वातावरण र स्वास्थ्यसँग जोडिएर पत्रकारहरुले कलम चलाउनपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी नर्सिङ कृतिका प्रसाइले वायू प्रदुषणले नसर्ने रोगहरु ब्बढाइरहेकाले यसबारे जनचेतना फैलाउन सञ्चारमाध्यमले भूमिका खेल्नपर्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले धुमपान जस्तै नसर्ने रोगहरुको लागि वायु प्रदुषण पनि एक मुख्य कारण रहेको बताएको छ ।
बालबालिकाहरु वायू प्रदुषणको उच्च जोखिममा रहेका छन् । नेपालमा वायू प्रदुषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणा बढी रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत