ओमीक्रोन बीए.२ संक्रमण : लक्षण देखिन्छ तर रिपोर्ट नेगेटिभ
अहिले संसारभर कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोन फैलिइरहेको छ । अहिलेसम्म वैज्ञानिकहरूले ओमीक्रोनका ३ उपभेरियन्टहरू पत्ता लगाएका छन् । यसमा पनि अहिले अधिकांश क्षेत्रमा यसको उप भेरियन्ट बीए.२ फैलिएको छ ।
यो यसको मूल भेरियन्ट भन्दा ३३ प्रतिशत बढी संक्रामक रहेको विज्ञहरूको दावी छ । वैज्ञानिकहरूका अनुसार यो उपभेरियन्टको अर्काे खतरनाक पक्ष भनेको यसलाई पत्ता लगाउन कठिन छ ।
यो मानिसमा संक्रमण भएर लक्षण देखिइसक्दा पनि उक्त व्यक्तिको आरटी–पीसीआर गर्दा रिपोर्ट नेगेटिभ देखिने विज्ञहरूले बताएका छन्।
युके हेल्थ सर्भिस एजेन्सीका अनुसार यस उपभेरियन्टमा शरीरमा रहेको कोरोना भाइरस पत्ता लगाउन अत्यावश्य एक म्युनेशनको कमी छ । यही कारणले गर्दा आरटी–पीसीआरबाट भाइरसलाई फेला पार्न कठिन हुन्छ।
आरटी–पीसीआरविधिलाई कोभिड भाइरस पत्ता लगाउन सबैभन्दा प्रभावकारी मानिएको छ। यसरी शरीरमा बीए.२ भेरियन्ट संक्रमणको लक्षण देखिने तर रिपोर्ट नेगेटिभ आउनुलाई फल्स नेगेटिभ मानिन्छ ।
अमेरिकाका महामारी विशेषज्ञ फहिम युनुसका यही कारणले गर्दा ओमीक्रोनका रुघा, खोकी, ज्वरो आउने, जिउ दुख्नेजस्ता लक्षणलाई हल्का रुपमा नलिन आग्रह गर्छन् । यस्ता लक्षण देखाएमा तुरुन्त परीक्षण गर्न उनको सुझाव छ। रिपोर्ट नेगेटिभ आएमा २४ या ४८ घण्टापछि पुनः परीक्षण गर्न पनि युनुसले आग्रह गरेका छन् ।
रिपोर्ट नेगेटिभ आएपनि त्यस खालका लक्षण देखिएमा अवस्था हेरेर ५ देखि १० दिनसम्म आइसोलेट भएर बस्नुपर्ने उनको भनाइ छ । लक्षण देखिएर परीक्षण गर्दा एन्टिजेन परीक्षणको मात्रै भर पर्न नहुने उनी बताउछन् ।
बीए.२ को लक्षण मूल भेरियन्टकै जस्तो रहेको विज्ञहरू बताएका छन् । विज्ञका अनुसार थकान महसुुस हुने, टाउको दुख्ने, घाँटीमा खसखस हुने, वान्ता हुने जस्ता लक्षण बीए.२ भेरियन्ट संक्रमणका लक्षण हुन् । अघिल्ला भेरियन्ट भन्दा ज्यादा संक्रामक हुने यसको फरक लक्षण हो ।
यो उपभेरियन्टले मानिसको प्रतिरक्षा प्रणालीलाई झुक्याउने क्षमता धेरै राख्ने भनाइ विज्ञहरूको छ । यसले पूर्ण खोप साथै बुस्टर डोज समेत लगाइसकेकालाई समेत संक्रमित बनाउन सक्छ ।
तर पनि खोप लगाएकालाई यो भेरियन्टले गम्भीर बिरामी बनाउने सम्भावना कम भएकाले खोप लगाउने कुरामा हिच्किचाहट नगर्न विज्ञहरूको सुझाव छ ।
हेल्थपाटी
तपाईँको अभिमत