एक खिली चुरोट खाँदा ७ मिनेट आयु घट्छ, यसरी त्यागौं लत
काठमाडौं । सूर्तिजन्य पदार्थ खानाले क्यान्सर लगायत अन्य २५ किसिमका रोग लाग्न सक्छ । सूर्तिजन्य पदार्थले फोक्सो, स्वासनली, मुख, मष्तिष्क, आँखा, मुटु, कलेजोमा नराम्रो असर गर्दछ । सूर्तिजन्य पदार्थको प्रयोगबाट उत्पन्न स्वास्थ्य समस्याका कारण दिनमा ७० जना नेपालीको मृत्यु हुने गरेको छ ।
अध्ययनहरूका अनुसार एक खिली चुरोटले ७ मिनेट आयु घट्नेछ । अरुको तुलनामा धुमपान गर्ने पुरुषको आयु १३ र महिलाको आयु १४ वर्ष कम हुने अनुसन्धानले देखाएको छ ।
सूर्तिजन्य पदार्थको प्रयोगबाट नेपालमा वर्षेनी २७ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । सूर्तिजन्य पदार्थले हानीमात्रै गर्छ भन्ने थाहा हुँदाहुदै पनि यसको प्रयोगमा कमी आउन सकेको छैन ।
३० प्रतिशत क्यान्सर धुमपानका कारण
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेका अनुसार विभिन्न रोगका कारण भइरहेको मृत्युमा ७० प्रतिशत हिस्सा धुमपानको रहेको छ र त्यसमा क्यान्सरको कारणमा ३० प्रतिशत धुमपान रहेको छ । धुमपानका कारण क्यान्सर भई वर्षमा कम्तिमा ७०० नेपालीको मृत्यु हुने गरेको छ ।
उहाँ भन्नुहुन्छ, ‘धुमपान सुस्त विष हो जसले सुरुमा असर गरेको थाहै हुँदैन तर कालान्तरमा भित्रभित्रै शरीरका अंगहरुलाई खोक्रो बनाइसकेको हुन्छ र मानिसको मृत्यु गराउँछ ।’ सूर्तीजन्य पदार्थमा लगाइँदै आएको करलाई बढाउननै सूर्तिजन्य पदार्थ नियन्त्रणको बलियो उपाय रहेको उहाँको तर्क छ ।
चुरोट खानेहरुमा मष्तिष्कघात र हृदयघातको समस्या बढ्दो
मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले चुरोटले फोक्सो खराब गर्छ भन्ने जुन बुझाइ छ त्यो गलत रहेको बताउदै चुरोट प्रयोग गर्नेहरुमा मष्तिष्कघात र हृदयघातको समस्या बढिरहेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । यद्यपी कोभिडको डरले अहिले धेरैले धुमपान छोडेको पाइएको उहाँले बताउनुभयो । ‘मैले बिरामीसँग सोध्ने गरेको छु । चुरोट खानेलाई कोभिड भयो भने खतरा धेरै हुने थाहा पाएर उहाँहरुले चुरोट छोडेको पाएको छु । कोभिड, चुरोटको लत छोडे अवसर पनि हो उहाँले थप्नुभयो, जनचेतनाका कार्यक्रममा केन्द्रित हुन जरुरी छ । ’
सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई कोरोनाको जोखिम उच्च
अहिले कोरोना भाइरस रोगको महामारीमा विश्व छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सूर्तिजन्य पदार्थ सेवन गर्ने र दीर्घरोगी कोरोनाको उच्च जोखिममा रहेकाले सचेत हुन सुरुदेखि नै आग्रह गर्दै आइरहेको छ । धुमपानले विभिन्न किसिमका राग उत्पन्न गराउने र रोग प्रतिरक्षा क्षमता घटाउने भएकाले कोरोना संक्रमणको जोखिम उच्च रहने भएकाले धुमपानबाट टाढा रहनुपर्ने डब्ल्यूएचओको सुझाव छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमका अनुसार सूर्तिजन्य पदार्थ प्रयोग गर्नेहरुको मुख्य अंगहरु फोक्सो, मुटु, मिर्गाैला कमजोर हुने भएकाले उनीहरुलाई उनीहरुको रोग प्रतिरक्षा प्रणालिमा असर पुगिसकेको हुन्छ र यस्तो अवस्थाका मानिसलाई कोरोनाको संक्रमण भएमा झनै गाह्रो बनाउँछ र संक्रमितको मृत्युसमेत हुने जोखिम उच्च रहन्छ ।
यसरी त्याग्न सकिन्छ धुमपान
वरिष्ठ क्यान्सररोग विशेषज्ञ न्यौपाने सुझाव दिनुहुन्छ, सूर्तिजन्य पदार्थको लतबाट आफूलाई टाढा राख्नुपर्छ र यसलाई सजिलै त्याग्न पनि सकिन्छ । यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ ।
यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ । किताब पढ्ने, टिभी हेर्ने लगायतका क्रियाकलापमा आफुलाई व्यस्त राख्नुपर्दछ ।
प्रलोभनले कानुन कार्यान्वय भएन
सरोकारवालाहरुले सूर्ती तथा चुरोट उद्योगहरुबाट नीति निर्माण तहका व्यक्तिहरु प्रलोभनमा पर्दा सूर्ति जन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयन हुन नसकेको बताएका छन् ।
पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सूर्ति जन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सूर्ति जन्य पदार्थमा लाग्दै आएको करको दायरालाई बढाए उत्पादन र प्रयोगमा कमी आउने बताउनुभयो । कर बढाउँदा राज्यको बिना लगानीमा हजारौं नागरिकको ज्यान जोगाउन सकिने सरल उपाय हुँदाहुँदै पनि कर बढाउनेतर्फ राज्यले किन नसोचेको भन्ने प्रश्न उहाँले गर्नुभयो ।
एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सूर्ति उद्योगहरुले सामाजिक उत्तरादायित्व तथा चन्दाका नाममा उच्च तहका व्यक्तिहरु, डाक्टर, सरकारी अधिकारी, अस्पतालहरुलाई चन्दा लगायतका कुनै पनि बहानामा आर्थिक सहयोग गर्ने र त्यो सहयोग लिनेगर्दा नीति नियम कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो ।
म्यूजिक भिडियोहरुमा सूर्ति जन्य पदार्थ स्वास्थ्यका लागि हानीकारक छ भनेर सानो अक्षरमा लेख्ने तर भिडियो नसकिदाँसम्म चुरोटको प्रयोग भइरहेको दृश्य देखाउँदा जनचतेनामा असर पुगिरहेको बताउनुभयो ।
दि युनियन एसिया प्यासिफिक रिजनका निर्देशक डा. तारासिंह बमले सूर्ति जन्य पदार्थ प्रयोग विरुद्ध जारी भएका ऐन नियमको कार्यान्वयन गर्नेतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने बताउनुभयो । प्रभावकारी कानुनहरु भएरपनि त्यसको कार्यान्वयन हुन नसक्दा वर्षेनी हजारौं व्यक्तिको मृत्यु सूतिजन्य पदार्थकै कारण भइरहेको उहाँ बताउनुहुन्छ ।
सूर्ति जन्य पदार्थमा आव आर्थिक वर्षमा २५ प्रतिशतले कर बृद्धि गरिएको छ । यसबर्ष भएको कर बृद्धि दर पछिल्लो पाँच बर्ष यताकै बढी भएता पनि अपेक्षाकृत हुन नसकेको सूर्तिजन्य पदार्थ प्रयोग नियन्त्रणमा लागेका अगुवाहरुले बताएका छन् ।
सूर्ति जन्य पदार्थको प्रयोग नियन्त्रणमा क्रियाशिल संस्था नेपाल विकास अनुसन्धान परिषद्का अध्यक्ष जय कुमार गुरुङले सरकारले जति मात्रामा कर बृद्धि गर्नुपर्ने थियो त्यो गर्न नसकेको बताउनुभयो ।
उहाँले कोरोनाले आक्रान्त पारिरहेको यो समयमा सूर्ति जन्य पदार्थमा कम्तिमा पनि ५० प्रतिशत कर बृद्धि गर्नुपथ्र्यो, जसले देशको राजस्वमा पनि दोब्बर बृद्धि हुन्थ्यो, तर त्यो मौका सरकारले गुमाएको टिप्पणी गर्नुभयो । नेपाल सूर्ति जन्य पदार्थमा कम कर लगाउने सार्क राष्ट्रहरुको सूचीको पहिलो नम्बरमै रहेको गुरुङ बताउनुहुन्छ ।
कम कर भएकै कारण सूर्ति जन्य पदार्थको मूल्य सस्तो हुने र आम सर्वसाधारणको पहुँचमा पुग्ने भएकोले यसको प्रयोगमा नियन्त्रण गर्न नसकिएको उहाँको धारणा छ । डब्ल्यूएचओले सूर्तिजन्य पदार्थमा ७० प्रतिशत कर पु¥याउनुपर्ने बताउँदै आएको छ ।
सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि कस्ता नियमहरु छन् ?
सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन,ऐन २०६८) ले सार्वजनिक स्थलमा धूमपान तथा सुतिजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ यदि गरेमा १०० रुपैयाँ जरिवाना तिर्नपर्ने व्यवस्था छ तर अहिले सम्म कति जरीवाना उठ्यो यसको तथ्यांक सरकारी निकायसँग छैन ।
कुनै पनि सञ्चारमाध्यमबाट सूर्ति जन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन् । यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर खेलकुद तथा अन्य कार्यक्रमहरु सूर्ति कम्पनीहरुले स्पन्सर गरिरहेको देख्न सकिन्छ भने संस्थादेखि अस्पतालसम्मले उनीहरुबाटै सहयोग लिइरहेको पाइन्छ ।
फुटकर रुपमा चुरोट बिडी वा सिगारको खिल्ली बिक्री बितरण गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । तर खुलेआम फुटपाथ पसल यतिसम्मकी अस्पतालका गेटमा रहने पसलमासमेत सूर्ति जन्य पदार्थको प्रयोग भइरहेको छ ।
कार्यालय र सार्वजनिक स्थलमा धूमपान तथा सूर्ति सेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ । यदि नगरेमा त्यस्तो कार्यालयले ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर सरकारी कार्यालयदेखि अस्पताल हाताभित्रै कर्मचारीहरुले चुरोट प्रयोग गरिरहेको देखिन्छ ।
सूर्ति जन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनु पर्छ यदि नलिएको खण्डमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ भने निशुल्क रुपमा सूर्ति जन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइदैन । यदि यस्तो गरेको भेटिएमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।
यसैगरी १८ बर्ष भन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सूर्ति जन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलव्ध गराउन पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । साथै, सूर्ति जन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था सूर्ति जन्य पदार्थ (नियन्त्रण तथा नियमन,ऐन २०६८ ले गरेको छ ।
तपाईँको अभिमत