२४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु, आइसियु र भेन्टिलेटरको अभाव
काठमाडौं । नेपालमा २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
७७३ जना कारोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको निको हुने दर हाल नेपालमा ८९ दशमलव ३ प्रतिशत रहेको छ ।
सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । २४ घण्टामा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ गरी २०४७ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका अधिकांश अस्पतालहरु कोभिडका बिरामीले भरिएका छन् । नयाँ बिरामीका लागि आइसियु र भेन्टिलेटर उपलब्ध गराउन सक्ने अवस्था नै छैन ।
सरकारले दैनिक १० देखि ११ हजारसम्म कोभिडबाट संक्रमित हुन सक्ने प्रक्षेपण यस अघि नै गरिसकेको छ ।
अनि एकजना संक्रमितलाई आइसियुमा राखेर उपचार गर्नुपर्दा औसतमा १० दिन उपचार गर्नुपर्ने हुन्छ । यसको अर्थ प्रत्येक १० दिनमा आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीको सङ्ख्या १० गुणाले बढ्न थाल्नेछ ।
तर सरकारसँग पर्याप्तमात्रामा आइसियु र भेन्टिलेटरको व्यवस्था छैन । निजी अस्पतालहरुमा पनि पर्याप्तमात्रामा आइसियु र भेन्टिलेटर को व्यवस्था छैन भने नयाँ पूर्वाधारका लागि पनि केही गरिएको छैन ।
कोभिडका कारण अक्सिजनको मात्रा कम भई अक्सिजन चढाउनु पर्ने अवस्थामा पनि शैया नपाएर सडकमै अक्सिजन चढाउने वा अन्तिम समय कुरेर बस्ने स्थिति आउन सक्ने खतरा बढेको छ । कोरोनाको दोस्रो लहर फैलँदा सुरुवातमै अस्पतालमा बेड नपाइने अवस्था आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत