बच्चाले ख्वाक्क खोक्दा अस्पताल दौडाउछौँ, वृद्ध बुबाआमाले खोके डिस्टर्ब भो भन्दै रिसाउछौँ
अन्य उमेरका व्यक्ति र जेष्ठ नागरिकको उपचारमा फरक के छ ?
वयस्क मान्छेलाई रोग लाग्दा प्राय एक खालको नै रोग लागेको हुन्छ । जेष्ठ नागरिक जब कुनै रोगको उपचार गर्न आउनुहुन्छ, उहाँहरूमा एकैपटक धेरै रोग देखिन सक्छ । उमेर भएका व्यक्तिलाई सामान्य असर गर्ने रोगले पनि जेष्ठ नागरिकलाई गम्भीर बिरामी बनाउन सक्छ। एक साथ धेरै दीर्घरोग देखिनसक्छ । रोग लाग्दा त्यसबाट उत्रिन उहाँहरूलाई निकै समय लाग्छ।
उपचारकै कुरा गर्दा त बालबालिका बिरामी हुँदा पनि सामान्य मेडिकलमा एचए, सिएमए पढेकाले पनि त गरिरहेका छन् । तर उपलब्ध भएसम्म त हामीले बालरोग विशेषज्ञकोमै लैजान्छौँ नी, जेष्ठ नागरिकको हकमा पनि त्यही हो । जेष्ठ नागरिकलाई गर्ने उपचार र उहाँहरूलाई हेर्ने तरिका नै फरक हुन्छ ।
अहिले हाम्रोमा अन्य उमेरका व्यक्तिले जसरी उपचार सेवा पाइरहेका छन्, जेष्ठ नागरिकलाई पनि उसैगरी उपचार गरिने गरिएको छ । उहाँहरूको शारीरिक, मानसिक अवस्था हेरेर, आर्थिक, सामाजिक परिवेश बुझेर मात्रै उपचार गर्नुपर्ने हुन्छ ।
एउटै रोग लाग्दा पनि जवान उमेरका व्यक्तिलाई देखिने लक्षण फरक हुन्छन्, गर्ने उपचार पद्धति फरक हुन्छ । उपचारमा कुन विधि अपनाउने ? शल्यक्रिया गर्ने कि नगर्ने ? जस्ता निर्णयमा फरक पर्छ । उनीहरूको उपचारको प्रभावकारिता, जोखिमलाई विचार गर्नुपर्ने हुन्छ।
एउटा युवा उमेरको बिरामीलाई जाँच गर्न जति समय लाग्छ, वृद्ध उमेरको व्यक्तिलाई त्यति समयले पुग्दैन । उहाँहरूको सुन्ने शक्तिमा पनि कमी आइसकेको हुन्छ । बुझ्ने शक्ति कम हुनसक्छ । सामान्य उमेरका बिरामीलाई जसरी उपचार गरिन्छ । त्यही तरिकाको उपचार गर्दा जेष्ठ नागरिकलाई न्याय हुनसक्दैन ।
यी सबै आयामहरूलाई केलाएर एकमुष्ठमा उपचार गर्ने पद्धति जेष्ठ नागरिक विशेषज्ञता हो । वृद्ध उमेरको व्यक्तिलाई कुन उपचारले कस्तो काम गर्छ र उक्त उपचारपछि कति वर्षसम्म उ बाच्न सक्छ भन्ने कुराका पूर्वानुमान गर्नसक्ने दक्षता जेष्ठ नागरिक विशेषज्ञसँग रहन्छ ।
नेपालका जेष्ठ नागरिकमा प्राय देखिने रोग
वृद्ध उमेरका व्यक्तिलाई देखिने रोग दुई किसिमका हुन्छन् पहिलोमा रोगसँग लड्ने क्षमता कम भएर लाग्ने रोगः
यसमा संक्रमणजन्य रोग जस्तै अहिले कोभिडबाट पनि धेरै जेष्ठ नागरिककै मृत्यु भयो । अन्य यस्तै खालका सरुवा रोग, जुन रोगसँग लड्ने शक्ति कम भएका कारण लाग्ने गर्छ । निमोनिया, पिसाबको संक्रमण, क्षयरोग आदि यसमा पर्छन् ।
अर्को भनेको शरीरका अंगहरू शिथिल हुँदै जाँदा लाग्ने नसर्ने किसिमका रोगः
उच्चरक्तचाप, यो नेपालका करिब ४० प्रतिशत जेष्ठ नागरिकमा देखिन्छ । यसपछि अर्काे स्वास्थ्य समस्या भनेको मधुमेह हो, १० देखि २० प्रतिशत जेष्ठ नागरिकलाई मधुमेहको समस्या देखिन्छ ।
यसबाहेक दम, मिर्गौला रोग, पक्षघात, मानसिक समस्या (डिप्रेसन, बिर्सने रोग) छन् । अहिले नेपालमा अल्जाइमर्स(बिर्सने रोग) का बिरामी धेरै बढेको देखिन्छ । पिसाब रोग्न नसक्ने समस्या, महिलाहरूमा पाठेघर खस्ने समस्या, भोक कम लाग्ने, निन्द्रा नलाग्ने, जोर्नी दुख्ने, क्यान्सरजन्य रोग पनि धेरै धेरै वृद्धवृद्धामा पाइन्छ ।
यी भनेका काम गर्दा पाइएका व्यक्तिगत भोगाइका आधारमा मात्रै हुन् । समुदायमा रहेका जेष्ठ नागरिकमा के कस्ता रोग छन् भनेर अध्ययन अनुसन्धान भएकै छैन । ती बारे केही तथ्यांक नै छैन ।
रोगजारका लागि छोराछोरीहरू शहर तथा विदेश जाने प्रचलनले अहिले जेष्ठ नागरिकहरू एक्लिइरहेका छन् ।
यसले पनि उहाँहरूको सामाजिक अवस्था नै गडबड भइरहेको छ । उहाँहरूमा मानसिक तनाव, निराशा धेरै देखिन्छ । आत्मबल कमजोर हुनुका साथै राम्रो हेरचाह र कुनै रोग लागेमा समयमै उपचार पाउनबाट पनि उहाँहरू वञ्चित भइरहेको अवस्था छ ।
वृद्ध उमेरमा स्वस्थ रहन अहिले नै तयारी
वृद्ध उमेरका स्वास्थ्य रहने हो भने अहिल्यैबाट तयारी थाल्नुपर्छ । अहिले बाट नै स्वस्थ जीवनशैली अपनाउनु भनेको नै हामी वृद्ध उमेरको हुँदा स्वास्थ्य सहनु हो । अहिलेका युवा पुस्तामा धुम्रपान, मध्यपानको लत बढिरहेको देखिन्छ । अहिले केही हुँदैन जस्तो हुन्छ । तर लगातार ती बानीहरू कायम राख्दा विस्तारै हाम्रा अंगहरू खराब भइरहेका हुन्छन् । त्यसले हाम्रो उमेर ढल्किएपछि स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । पछि म स्वास्थ रहन चाहन्छु भन्ने हो भने आजैबाट तयारी थालौँ ,
जेष्ठ नागरिक परिवार र समाजको बोझ होइन
परिवारमा हामीले जति धेरै बालबालिकाको स्वास्थ्यको चिन्ता गर्छौँ, त्यति नै जेष्ठ नागरिकको स्वास्थ्यको बारेमा पनि सचेत रहन जरुरी छ।
हामीले अहिले समाजमा के देख्छौँ भने साना छोराछोरीले ख्याक्क खोम्नेवित्तिकै डराएर अस्पताल दौडाउँछौँ । तर वृद्ध बुबाआमा वा हजुरबा, हजुरआमाहरूले रातभरि खोक्नुहुन्छ त्यसबारे खासै वास्ता गर्दैनौँ बरु सुत्न दिइनस् भनेर उल्टै कराउँछौँ ।
बालिबालिकाले खाना अलि कम खायो भने हाम्रो पेट पोल्न थालिहाल्छ, केही भयो कि भनेर । तर वृद्ध उमेरका बुबाआमाले खाना खानुभएन भने बुढो भएपछि खान रुच्दैन यस्तै हो भन्छौँ । किन त्यसो भयो ? भनेर बुझ्न खासै चासो दिदैनौँ ।
हाम्रो समाज जेष्ठ नागरिकको स्वास्थ्यमा खासै संवेदनशील नभएको पाइन्छ । उनीहरूको उपचारमा खासै ध्यान नदिएपनि हुन्छ भन्ने अवधारणा पाइन्छ । बालबालिकाको उपचारलाई भविष्यका लागि लगानीका ठान्ने र जेष्ठ नागरिकको उपचारलाई अनावश्यक खर्चका रुपमा लिने प्रवृत्ति छ ।
अब यसको उमेर गइहाल्यो बाँचेर पो के नै गर्नसक्छ र ? भन्ने सोचाइ धेरैको देखिन्छ । जेष्ठ नागरिकलाई बोझको रुपमा लिने सोचाइलाई अन्त्य गर्नु जरुरी छ । उहाँहरूलाई स्वस्थ्य राख्न सक्यौँ भने जति उमेर भएपनि परिवार, समाजलाई कुनै न कुनै योगदान गर्न गक्नुहुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।
कस्ता अनुभव पनि छन् भने उपचार सम्भव छ भन्दाभन्दै पनि ‘भैगो छाडदिउँ अब उपचार गरेर के फाइदा छर ?’ भन्नुहुन्छ कतिपयले । उपचार खर्च अभाव भएर होइन । साँच्चै भन्नुपर्दा यस्तो व्यवहार सम्पन्न परिवारका व्यक्तिहरूमा धेरै धेरै पाइन्छ। बरु मध्यम र निम्न वर्गमा व्यक्तिले आमा बाबुलाई बचाउनुपर्छ भन्दै घरजग्गा बेचेर पनि खर्चको जोहो गर्छन् ।
जेष्ठ नागरिकको उपचारबारे सोच्न ढिला भइसक्यो
जेष्ठ नागरिकको उपचारलाई बोझको रुपमा लिने परिपाटी हटाउन यसमा राज्यले ध्यान दिनुपर्ने देखिन्छ । जेष्ठ नागरिकको उपचारको जिम्मा राज्यले लिनुपर्छ । बीमा कार्यक्रम लागु गरेर त्यो गर्न सम्भव पनि छ । अहिले भएका बीमा कार्यक्रम त्यति प्रभावकारी रुपमा अघि बढेको देखिँदैन। भएका बीमा कार्यक्रम पनि बन्न हुने अवस्थामा छन् ।
यसलाई व्यवस्थित बनाएर सञ्चालन गर्न जरुरी छ । यसो भयो भने जेष्ठ नागरिकको उपचारलाई परिवारले बोझ रुपमा लिने समस्याको पनि हल हुन्छ र उहाँहरूले सहजै उपचार पनि पाउनुहुन्छ ।
नेपालमा जेष्ठ नागरिकको स्वास्थ्यलाई हेर्न छुट्टै विशेषज्ञको व्यवस्था गर्न निकै ढिलो भइसकेको छ । संसारका थुप्रै मुलुकमा यसको व्यवस्था भइसकेको छ । नेपालमा जेष्ठ नागरिकको जनसंख्या छिटोछिटो बढिरहेको छ । २०६८ को जनगणनामा ८.१ प्रतिशत थियो । यो भनेको २१ लाख हो । यस वर्ष पनि जनगणना हुँदैछ । अहिले १० प्रतिशत पुग्ने अनुमान छ । त्यो भनेको करिब ३० लाख हुन आउँछ । जनसंख्या बढेपछि उनीहरूका लागि दिइने स्वास्थ्य सेवामा लगानी पनि बढाउन जरुरी छ।
जेष्ठ नागरिकमैत्री पूर्वाधारको निर्माण र विशेषज्ञ चिकित्सक र नर्सहरूको जनशक्ति बढाउनका लागि पनि त्यही किसिमको तयारी गर्नु जरुरी भइसकेको छ ।
त्यसका लागि नेपालको चिकित्सा शिक्षामा परिवर्तन आवश्यक छ । अहिले नै यसबारे सोचेर कदम चालेमा जेष्ठ नागरिकको उपचारका लागि आगामी दशकमा सहज हुनेछ ।
(डाक्टर कँडेलसँग गरिएको कुराकानीमा आधारित)
डा. रमेश कँडेल
तपाईँको अभिमत