डाक्टर रमेश, जसको प्राथमिकतामा पर्यो जेष्ठ नागरिकको उपचार

डाक्टरका लागि वृद्धवृद्धालाई उपचार गर्न छुट्टै विशेषज्ञता चाहिन्छ र ? ‘पक्कै चाहिन्छ ! जसरी बालकालिकाको उपचार गर्नका लागि बालरोग विशेषज्ञ आवश्यक छ।
डाक्टर रमेश कँडेललाई धेरैले गर्ने प्रश्न र उहाँले दिने उत्तर हो यो। डाक्टर रमेश कँडेल जेरियाट्रिक मेडिसिनमा एमडी गर्ने नेपालकै पहिलो डाक्टर हुनुहुन्छ अर्थात उहाँ नेपालकै पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञ।
धेरैलाई अझै पनि यो कुराको ज्ञान छैन-वृद्धवृद्धाहरूको उपचराका लागि अस्पतालमा छुट्टै वार्ड चाहिन्छ, छुट्टै जनशक्ति चाहिन्छ, यसमा विशेषज्ञता हासिल गर्नका लागि छुट्टै कोर्स पढ्नुपर्छ भनेर। नेपालमा यसको अभ्यास सुरुवात चरणमै छ। डाक्टर रमेशका अनुसार वामे पनि सरेको छैन।
तर यो पद्धतिलाई हुर्काएर वयस्क बनाउने अठोटका साथ डा.रमेश यस क्षेत्रमा लागिरहनुभएको छ।
रमेश गुल्मीको सिरिङ्गामा सामान्य परिवारमा जन्मनुभएको हो। कक्षा तीनसम्म गाउँकै एक स्कुलबाट पढाइ सुरु गर्नुभएको थियो। पछि उहाँको परिवार बुटवल सर्यो। बुबाआमासँगै उहाँ पनि बुटवल आउनुभयो। विद्यालय तहसम्मको पढाइ बुटवलकै एक निजी स्कुलमा सक्काउनुभयो।
२०५८ सालमा एसएससी पास गरेपछि उहाँ पढ्न काठमाडौं आउनुभयो। सेन्टजेभियर क्याम्पसबाट आइएससी पास गर्नुभएको उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस पढ्नुभयो। त्यसपछि ६ महिना अछामको बयलपाटा अस्पतालमा काम गरेपछि आफैँ पढेको बीपी प्रतिष्ठानमा सर्पदंश सम्बन्धी एक अनुसन्धानमा संलग्न हुनुभयो।
त्यतिबेला सम्म डा.रमेशले स्नातकोत्तर तह पढ्दा कुन चिकित्सकीय विद्यामा लाग्ने निधो गर्नुभएको थिएन। यसपछि एमडी पढ्ने तयारीमा लाग्नुभयो।
दिल्लीस्थित अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा पढ्न पाउने गरी छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभयो। त्यहाँबाट उहाँले जेरियाट्रिक मेडिसिन (जेष्ठ नागरिक रोग विशेषज्ञ) मा एमडी गर्नुभयो। यस विषयमा एमडी गर्ने नेपालको पहिलो चिकित्सक बन्नु सफल हुनुभयो।
त्यसअघि नेपालमा कसैले पनि नरोजेको विधा किन रोज्नुभयो ?
डा. रमेश भन्नुहुन्छ, ‘एमबीबीएस सकेर काम गर्न थालेपछि अब के पढ्ने भनेर सोच, विचार गरिरहेको हुन्थेँ। साथीहरूसँग पनि छलफल भइरहन्थ्यो। नेपालमा जेष्ठ नागरिकको संख्या बढिरहेको छ।
बाहिरी देशमा जेष्ठ नागरिकको उपचार क्षेत्रमा राम्रो व्यवस्था भएपनि नेपालमा जेष्ठ नागरिकलाई उपचार गर्ने छुट्टै डाक्टर हुनुपर्छ भन्ने अवधारणा आएकै थिएन्। छिट्टै नेपालमा यस महत्व बढ्नेवाला छ । गर्नु आवश्यक पनि छ। यस्तै कुराले प्रेरित गर्यो।’
नेपालमा आफू यस सम्बनधी पहिलो विशेषज्ञ हुने कुुराले यसप्रति रुची जगेको उहाँ सुनाउनुहुन्छ। नेपालको स्वास्थ्य क्षेत्रमा जेष्ठ नागरिक विधा सुरु गर्न नीतिगत तहमा पनि काम गर्न सकिन्छ भन्ने विश्वास डाक्टर रमेशलाई भयो। एमबीबीस गर्दै गर्दा र त्यसपछि पनि बिरामी हेर्ने क्रममा जेष्ठ नागरिकलाई स्वास्थ्य क्षेत्रबाटै पनि उपेक्षा भएको महसुस उहाँले गर्नुभयो।
स्वास्थ्य सेवा लिनका लागि एउटा ८० वर्षको बिरामी र २०/३० वर्षका बिरामी सँगै लाइन लागेका हुन्थे। त्यसमा कसैले वास्ता गरेको पनि देखिँदैनथ्यो। यस्ता कुराले पनि यस क्षेत्रमा केही गर्नुपर्छ र त्यो मैले नै सुरुवात गर्नुपर्छ भन्ने अठोट उहाँमा आयो। अनि जेष्ठ नागरिकको डाक्टर बाटोमा लाग्नुभयो।
सन २०१५ एमडी गरेर फर्केपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वर्ष काम गर्नुभयो। त्यहाँ रहँदा उहाँले नेपालमै पहिलो पटक जुराटिक वार्ड(नागरिक उपचार कक्ष) स्थापना गर्न कामको अगुवाइ गर्नुभयो।
छुट्टै जेष्ठ नागरिक वार्ड स्थापनाका लागि नीति निर्माण तहमा बस्नेलाई बुझाउन केही समय लाग्यो। जेष्ठ नागरिकका लागि छुट्टै वार्ड चाहिन्छ र ? त्यो सम्भव हुन्छ र ? अहिले पनि उपचार त पाइरकेका छन् नी। भन्ने जस्ता तर्क विभिन्न तहका व्यक्तिबाट आउने गर्थे। उहाँको अभियानमा साथ दिनेहरू पनि धेरै थिए।
आखिर डा. रमेश त्यसमा सफल हुनुभयो। विशेषज्ञ चिकित्सह उहाँ एक्लै भएकाले उक्ता वर्डामा काम गर्न अरु टोलीले सहयोग गर्यो।
पाटन अस्पतालपछि विश्व स्वास्थ्य संगठनको दिल्लीस्थित क्षेत्रीय कार्यालयमा परामर्शदाताका रुपमा ६ महिना काम गर्नुभयो। डा. रमेश अहिले किस्ट मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ।
पहिलो पटक जेरियाट्रिक मेडिसिनमा एमडी गरेर आएपछि यसबारे उहाँलाई केहीमा कौतुहलता भयो। एमबीबीएस सकाएका र पढ्दै गरेका धेरैले यो क्षेत्रबारे जिज्ञासा राखेको डा. रमेश सुनाउनुहुन्छ। ‘यो क्षेत्रमा लाग्दा भविष्यमा स्कोप कत्तिको छ, भनेर धेरैले सोध्नुहुन्थ्यो। कुराकानी हुन्थे। यसमा अहिले नै त भन्न सकिन्न, आमामी निकै राम्रो सम्भावना भन्ने गर्थेँ’ डा रमेश भन्नुहुन्छ।
उहाँका अनुसार अहिले नेपालमा जेरियाट्रिक मेडिसिनमा एमडी गर्ने मेडिकल काउन्सिलमा दर्ता भएका ८ जना पुगेको उहाँले जानकारी दिनुभयो। त्यसमा पनि ४ जना मात्रै नेपालमा छन्। भर्खरै एक जना महिला डाक्टरले पढाइ सक्काउनु भएको छ।
नेपालमा पढाइ हुँदैन। यो हुँदा नयाँ जनशक्ति उत्पादन गर्न कठिनाइ हुने रमेशको भनाइ छ ।
जनशक्ति बढाउने विषयमा नीति निर्माणतर्फ पनि जोड दिइरहेको उहाँले सुनाउनुभयो। ‘चिकित्सक मात्रै भएर हुँदैन यसै विधामा अध्ययन गरेको नर्स पनि पछि चाहिन्छ’ उहाँ भन्नुहुन्छ, ‘नेपालमै जनशक्ति उत्पादन गर्ने अवस्था कसरी बनाउन सकिन्छ भनेर लागिपरिरहेका छौँ।’
नेष्ठ नागरिक विशेषज्ञ चिकित्सक नभएपनि देशभर अहिले ४९ वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिरहेको छ। त्यही कार्यरत चिकित्सकहरूलाई जेष्ठ नागरिकको उपचारबारे काउन्सलिङ गरेर काम चलाउनु पर्ने अवस्था रहेको डा.रमेश बताउनुहुन्छ।
जेष्ठ नागिरकको उपचार गुर्नु भनेको खाली रोग निको पार्नु मात्रै नभएर उहाँहरूका अनुभवसँग साक्षात्कार हुने मौका पनि हुने उहाँ सुनाउनुहुन्छ । 'उपचारका लागि आउनुभएका मध्ये कतिपयका अनुभव हामी सुन्छौँ । एउटा कथाजस्तो लाग्छ' डाक्टर रमेश भन्नुहुन्छ, 'छुट्टै खालको प्रेरणा मिल्छ । निको बनाएर पठाउँदा उहाँहरूले दिने आशीर्वाद नै यस क्षेत्रको रमाइलो पक्ष हो ।'
तपाईँको अभिमत