दशैंका बेला बर्थिङ सेन्टरमा एक्लै बसेको थिएँ (भिडियो)
दशैंमा सबैजसो सरकारी कार्यालय बन्द हुन्छन् । उद्योग, कलकारखाना अधिकांश व्यापार व्यवसाय पनि बन्द नै हुन्छ । सरकारी जागिरे मात्रै नभएर निजी क्षेत्रमा काम गर्नेले पनि ४-५ दिनको छुट्टी पाएका हुन्छन् । स्वास्थ्यकर्मीहरू सरकारी कर्मचारी नै भएपनि अन्य चाडपर्व होस् या दशैं सबैले छुट्टि पाउँदैनन् ।
स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले पालो मिलाएर मात्रै छुट्टि बस्ने चाडपर्व मनाउने हुन्छ ।
नर्स शारदा केसीले सरकारी सेवामा काम सुरु गरेको २१ वर्ष भयो । अति दुर्गम ठाउँमा गएर सेवा दिनुभएकी उहाँ दशैंका बेला एक्लै बर्थिङ सेन्टरमा बसेकाे अनुभव सुनाउनुहुन्छ । तीजमा ब्रत बसेको दिन पनि सेवा दिनका लागि ५-६ घण्टाको बाटो हिँडेको नर्स शारदा बताउनहुुन्छ ।
अहिले काठमाडौं ३२ वडामा कार्यरत उहाँ यसपाली चाहिँ घरमै रहेर रमाइलो गरी दशैं मनाउँदै हुनुहुन्छ।
नर्सको सेवा अनुभव
म स्वास्थ्य क्षेत्र प्रवेश गरेको २०५९ साल कार्तिक १२ गतेदेखि हो । सुरुमा गोदावरी स्वास्थ्यचौकीमा काम गर्थेँ। आफ्नो पालामा राम्रो सेवा गरेको जस्तो मलाई लाग्छ।
म सरुवा हुँदा अहिले पनि मलाई सोधिरहनुहुन्छ भन्ने सुनेको छु। त्यहाँबाट म रोल्पा सरुवा भएर गएँ । त्यो ठाउँ अति दुर्गम थियो। फिल्डमा गाउँघर क्लिनिक, खोप क्लिनिक चलाउनुपर्ने हुन्थ्यो।
३ घण्टा हिँडेर जानुपर्ने फेरि ३ घण्टा हिँडेर फर्किनु पर्ने त्यस्तो ठाउँमा पनि काम गरियो।
चाडपर्व भएपनि फिल्ड कार्यक्रममा जानुपर्ने, बर्थिङ सेन्टरमा बस्नुपर्ने भएकाले छोड्न पाइँदैनथ्यो। पालैपालो बस्ने गरेका थियौँ। कहिले काँही चाडपर्वमा म एक्लै पनि काम गरेर बसेको थिएँ।
तीजमा केही पनि खाइँदैन नि, पानी पनि खाइँदैन, त्यो बेलामा ३ घण्टाको बाटो हिँडेर सेवा दिएर ३ घण्टा लगाएर फर्किएको अनुभव पनि छ।
गिम्दी(ललितपुर)मा पनि काम गरेँ। गिम्दी पनि साह्रै दुर्गम ठाउँ हो जाँदा बाटोमा बास बस्नुपर्ने। पहिरो जान्थ्यो। त्यहाँ पनि बर्थिङ सेन्टर थियो चाडपर्वका बेला कहिले छ्ट्टी मिल्थ्यो, कहिले मिल्दैनथ्यो।
काठमाडौंबाट हिँडेर २ दिन–३ दिन लाग्थ्यो। पहिरो जाँदा बाटैमा भोकभोकै पनि बसेको छु।
म बर्थिङ सेन्टरमा बस्दासम्म त्यस्तो जटिल केस आएन। कोही कोही ३–४ दिनसम्म बेथा लागेर बस्नुहुन्थ्यो। तर अन्तिममा सामान्य तरिकाले नै सुत्केरी हुन्थे।
काठमाडौं ३२ नम्बर वडामा आएको ६ महिना जति भयो।
काठमाडौँमा खोप हेर्ने, क्षयरोगको बिरामीहरु हेर्ने, औषधि दिने उनीहरुलाई परामर्श दिने त्यस्तै काम हुन्छ। राष्ट्रिय खोप अभियान संलग्न हुने खोप दिने त्यस्तै काम गरिराखेको छु।
यसपाली हामी घरमा ३ जना छौँ, छोरा बाहिर छ। दशैँ राम्रोसँग मनाइन्छ भन्ने आशा छ।
तपाईँको अभिमत