नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार जना महिलाको मृत्यु
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको देखिएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको अनुमान रहेको बताउनुभयो ।
मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले गरेको ‘पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार बर्सेनि २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । त्यसमध्ये १,३१३ जनाको मृत्यु हुने गरेको हो ।
‘नेपालमा हरेक वर्ष २,१६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘बर्सेनि १,३१३ जनाको मृत्यु हुन्छ । यसरी हेर्दा प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको देखिन्छ ।’
विश्वमा पाठेघरको मुखको क्यान्सर हुनेको सङ्ख्या वृद्धि भइरहेको देखिएको छ । डा. गौतमका अनुसार विश्वमा अहिलेको सङ्ख्या ५,७०,००० बाट सन् २०३० सम्ममा ७,००,००० पुग्ने अनुमान गरिएको छ । त्यस्तै मृत्यु हुने सङ्ख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ । सन् २०३० सम्ममा मृत्यु हुनेको सङ्ख्या बर्सेनि ४,००,००० पुग्ने अनुमान गरिएको छ ।
डा. गौतमले नेपालमा पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि तीन वटा उपाय अपनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार खोप दिने, परीक्षण गर्ने उपचार गर्ने पद्धति हाल नेपालमा अपनाइएको छ ।
सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको नेपालले हाल गाभीबाट ६५ प्रतिशत अनुदानमा खोप पाउँदै आइरहेको छ । प्राप्त खोपबाट सरकारले खोप अभियान सञ्चालन गर्दै आइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत