सरकारले भन्याे, 'काठमाडौं संक्रमणको उच्च जोखिममा छ, सतर्कता अपनाऔं '
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबासीलाई काेराेना संक्रमणबाट जोगिन उच्च सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषद् वैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपत्यकामा संक्रमण बढिरहेकाले यसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयोे ।
केही सातादेखि देशभरको संख्यामध्ये आधा संक्रमितको संख्या काठमाडौं उपत्यकाकै रहेकाले अब पनि सचेत भइएन भने संक्रमण नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो । प्रवक्ता ज्ञवालीले देशका अन्य स्थानमा क्रमश संक्रमणदर घट्दै गएको भए पनि ४० लाख जनघनत्व रहेको काठमाडौंमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको बताउनुभयो ।
साथै उहाँले यस वर्ष जो जहाँ छौँ, त्यहीँ बसेर मनाउन सबैलाई आग्रह गर्नुभयो । दशैँ मनाउन जाँदा कोरोना संक्रमण पनि सँगै ओहोरदोहोर गर्ने भएकाले आफ्ना अभिभावकहरु उच्च जोखिममा रहने हुँदा यसतर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ ।
दशैंमा परिवारिक जमघट गर्ने, पारिवारिक पुनर्मिलन गर्ने, आफूभन्दा ठूलाको हातबाट टिका लगाई आशिर्वाद लिने भए पनि यसवर्ष परिस्थिति सामान्य नरहेकाले जो जहाँ छौँ, सोही स्थानबाट आशिर्वाद लिन सबैलाई आग्रह गर्नुभयो । पहिला स्वस्थ होऔं, दशैँ त अर्काे वर्ष पनि आइहाल्छ, उहाँले भन्नुभयो, 'आफ्नो आशिर्वादलाई जोगाऔं ।'
हेल्थपाटी
तपाईँको अभिमत