‘बिदाको दिनमा ओपीडी खोल्ने निर्णय चिकित्सक, स्वास्थ्यकर्मीमाथि ठूलो अन्याय'
अस्पतालहरुमा बिदाका दिनमा समेत ओपीडी सेवा सञ्चालन गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल चिकित्सक संघले माग गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै यो निर्णय मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक रहेको बताएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मीको संख्या आवश्यकता भन्दा एकदमै कम रहेकाले उक्त निर्णय कार्यान्वयन गर्न कठिन रहेको संघको भनाइ छ । अरु दिनमा समेत अन्य पेशाकर्मी भन्दा बढी समय काम गर्न बाध्य स्वास्थ्यकर्मीले बिदाको दिनमा पनि कामा गर्नसक्ने अवस्था नरहेको संघको निष्कर्ष छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि काम गर्ने समय हप्ताको ४० घण्टा तोकेको भएपनि चिकित्सक, स्वास्थ्यकर्मीले त्यो भन्दा बढी गरिरहेको दावी संघको छ ।
बिदाका दिनमा काम गर्नुपर्दा स्वास्थ्यकर्मी तनावमा हुने, राम्रोसँग काम गर्न नसक्ने, उनीहरुमा मानसिक समस्या हुने जस्ता समस्या हुने संकले बताएको छ ।
‘बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पुष्टी भइसकेको छ’ संघले विज्ञप्तिमा भनेको छ ।
बिदाका दिनमा समेत काम लगाउँदाचिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ठूलो अन्याय हुने बुझाइ संघको छ ।
कामको अध्याधिक तनावका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिवारिक जीवनमा समेत गम्भीर असर परिरहेको वैवाहिक जीवनमा भई डिभोर्स सम्म हुनेगरेका घटना देखिएको स्मरण चिकित्सक संघले गराएको छ ।
कतिपय स्वास्थ्यकर्मीहरुमा अत्याधिक तनावका कारण जटिल मानसिक समस्याहरु उत्पन्न भई आत्महत्याको अवस्थासम्म पुग्ने घटना पनि हुने गरेको संघको भनाइ छ ।
यी विभिन्न कारणले गर्दा बिदाको दिनमा समेत काम गर्न बाध्य हुनेपर्ने अवस्था अव्यवहारिक रहेकाले तत्काल फिर्ता लिन सरकारसँग संघले माग गरेको छ ।
तपाईँको अभिमत