अक्सफोर्डकाे कोरोना खोपलाई बेलायतद्वारा प्रयोग अनुमति
लन्डन । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगका लागि बेलायतले अनुमति दिएको छ । बेलायती औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक निकायले खोप प्रयोगका लागि अनुमति दिएको हो ।
पछिल्लो समय पुनः कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढेसँगै यसविरुद्ध ठूलो परिणाममा खोप वितरण गर्नुपर्ने देखिएका बेला बेलायतले दोस्रो खोपलाई अनुमति दिएको हो । बेलायतमा खासगरी ठूलो संख्यामा रहेका वृद्धवृद्धालाई खोप दिनुपर्ने आवश्यकता रहेको बताइएको छ ।
पहिलो चरणमा उत्पादन भएको खोप बेलायतमा प्रयोगका लागि तयारी अवस्थामा रहेको द गार्जियनले उल्लेख गरेको छ । त्यस्तै अन्य चरणका खोप पनि बेलायतका विभिन्न औषधी उद्योगमा उत्पादन गरिने बताइएको छ । बेलायतले १० करोड डोज खोप माग गरेको छ । जसमध्ये ४० लाख मानिसले केही दिनभित्रै खोप पाइसक्ने बताइएको छ ।
यसअघि डिसेम्बर २ मा अमेरिकी औषधी उत्पादक कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले निर्माण गरेको कोरोना खोप बेलायतले आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो । यो खोपको ९५ प्रतिशत प्रभावकारिता रहेको छ ।
यसैगरी अक्सफोर्डको खोपको प्रभावकारिता भने दुई किसिमले मूल्याङ्कन गरिएको छ । ठूलो संख्यामा परीक्षण गर्दा ६२ र सानो संख्यामा परीक्षण गर्दा ९० प्रतिशत प्रभावकारिता मापन गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत