नसर्ने रोग बढ्दो, घटाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका
नेपालमा नसर्ने रोगबाट हुने मृत्युको दर निरन्तर बढ्दै गएको छ। सन् २०१० मा कुल मृत्युको ५१ प्रतिशत नसर्ने रोगबाट भएको थियो भने सन् २०१९ आइपुग्दा यो दर ७१.१ प्रतिशत पुगेको छ। विशेषज्ञहरूले यो प्रवृत्ति अझै बढ्ने अनुमान गरेका छन्।
बुधबार नेपाल एनसीडी एलायन्सले आयोजना गरेको मिडिया एडभोकेसी वर्कसपमा नसर्ने रोग नियन्त्रणका उपायहरू छलफल भएको थियो। एलायन्सका सह-अध्यक्ष शान्तालाल मुल्मीले सञ्चारमाध्यमको भूमिकालाई महत्त्वपूर्ण बताउँदै सुर्तीजन्य पदार्थ नियन्त्रण, मद्यपान र अस्वस्थ खानपान जस्ता जोखिम कारकहरू कम गर्न आवश्यकता रहेको बताउनुभयो ।
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा एनसीडीको बढ्दो प्रभाव र यसलाई नियन्त्रण गर्न गरिएका प्रयासहरूबारे जानकारी दिनुभयो । संस्थापक सदस्य शिव श्रेष्ठले स्वास्थ्य पत्रकारिताको भूमिकालाई सराहना गर्दै यस क्षेत्रमा थप जागरूकता आवश्यक रहेको बताउनुभयो ।
दक्षिण-पूर्वी एसिया क्षेत्र (सेयर) एनसीडी एलायन्सकी सचिव तथा एनसीडी अलायन्सकी आजीवन सदस्य डा. मनिता प्याकुरेलले नसर्ने रोगको रोकथामका लागि धूम्रपान, शारीरिक निष्क्रियता, अस्वस्थकर खानपान र प्रदूषण जस्ता कारकहरू नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
अलायन्सका सञ्चार संयोजक रामप्रसाद न्यौपानेले सञ्चारमाध्यमले नसर्ने रोग नियन्त्रणमा ठूलो भूमिका खेलेको बताउनुभयो । अलायन्सका सदस्य तथा पत्रकार सरोज ढुंगेल एवम् वरिष्ठ पत्रकार अतुल मिश्रले सरकारी नीतिहरूको कार्यान्वयन र मिडिया एथिक्सको महत्त्वबारे प्रस्तुति दिनुभयो ।
कार्यशालामा ३५ भन्दा बढी स्वास्थ्य पत्रकारहरू उपस्थित हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत