चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अञ्जनीकुमार झा नियुक्त
सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ।
केहीबेर अघि बसेको मन्त्रिपरिषद बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
सिफारिस समितिले आयोगको उपाध्यक्षमा ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा पहिलो नम्वरमा झा, दोस्रो नम्बरमा डा. प्रविण मिश्र र तेस्रो नम्बरमा डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो। सिफारिस भएका तीन जना मध्येबाट मन्त्रिपरिषद्ले डा. झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
आयोगको उपाध्यक्षका लागि डा. पीयूष दाहाल, डा.प्रमोदकुमार यादव, प्रा.डा. मनेन प्रसाद गोर्खाली, प्रा.डा. विधान निधि पौडेल, प्रा. डा. संगिता सिंह भण्डारी र प्रा.डा. सुमन कुमार श्रेष्ठ गरी नौ जनाले उम्मेदवारी दिनु भएको थियो।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहनुभएका डा. अन्जनी कुमार झा.नेपाली कांग्रेस निकट हुनुहुन्छ।
चिकित्सा शिक्षा ऐन, २०७५ मा आयोगको उपाध्यक्ष नियुक्तिको सिफारिसका लागि तीन सदस्यीय समिति रहने व्यवस्था बमोजिम मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरेको थियो।
यसैगरी मन्त्रिपरिषद् बैठकले शिक्षा ऐन संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ भने स्वास्थ्य क्षेत्रको लैङ्गीक समानता सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत पनि गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत