नर्सिङ सम्मेलनको निष्कर्ष : राज्यले स्वदेशमै सेवा गर्ने वातावरण मिलाउनपर्ने
स्वदेशमा नै सेवा गर्ने वातावरण मिलाउन नेपाली नर्सहरुले सरकारसँग माग गरेका छन् । नर्सिङ क्लब नेपालले आयोजना गरेको एक दिने नर्सिङ सम्मेलनमा सहभागीहरुले स्वदेशमा रोजगारी नपाएपछि विदेशिन बाध्य भएको बताएका हुन् ।
नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदले काठमाडौंमा संयुक्त आयोजना गरेकाे नेशनल नर्सिङ सम्मेलनकाे नारा ‘नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास ’भन्ने थियाे ।
सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुती भएको थियो ।
नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी जुनसुकै क्षेत्रमा नर्सकाे उत्तिकै आवश्यक पर्ने भन्दै नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न सम्मेलनहरु महत्वपूर्ण हुने बताउनुभयो ।
क्लबकी उपाध्यक्ष सम्मेलनकी संयोजक उषा खनालले नर्सिङ पेशामा आवद्ध भएकाहरुलाई आत्मबल बढाउन र स्वदेशमै बसी नर्सिङ पेशालाई निरन्तरता दिन प्रेरित गर्ने उद्धेश्यले सम्म्ेलनको आयोजना गरिएको जानकारी दिनुभयो ।
सम्मेलनलाई सम्बाेधन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनालले नीति, व्यवस्थापन र नयाँ उदेश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने सवालमा सरकार चुकेको बताउनुभयो ।
उहाँले पछिल्लो पाँच बर्षमा स्वास्थ्य क्षेत्रमा क्रन्ति गर्न सकिने भएपनि त्यो पुरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ गाउँ – गाउँमा हेल्थ केयर सेवा पुर््याउन संरचना, जनशक्ति र प्रविधि हुनुपर्छ । यसका लागी सरकारले नै पहल गर्नुपर्छ।’
कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन भएका दक्ष नर्स जनशक्तिलाई क्षतिपूर्ति दिएर मात्रै विदेशीले लैजानुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले यस्ता सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडांै मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमिता पाठकले नेपाली नर्सहरु विदेश जाने क्रम बढेको बताउदै नेपालमा नर्सको अभाव हुने देखिएको बताउनुभयो । उहाँले नेपालमा नर्सलाई टिकाउँने विषयमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।
आर्मी अस्पतालकी नर्सिङ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पुर्ति गर्नसके नर्स विदेश जाने क्रम केही रोकिने विश्वास व्यक्त गर्नुभयो । नर्सिङ काउन्सिलकी उपाध्यक्ष सारदा अर्यालले स्वदेशमा रोजगारी नहुदाँ नर्सहरु विदेशीको बताउनुभयो ।
यसरी नै नर्स विदेशीने हो भने भविष्यमा नर्सको अभाव हुने उहाँको ठम्याई छ ।
युनिसेफ पाकिस्तानका पुर्व प्रमुख हरि बास्कोटाले नेपालमा नसर्ने रोगबाट वर्षमा १ लाख २६ हजार मानिसको मृत्यु हुने गरेको उल्लेख गर्नुभयो ।
वीर अस्पतालकी नसिङ् प्रमुख संगिता श्रेष्ठले खानपिनमा ध्यान नदिँदा नसर्ने रोगको जोखिम बढिरहेको बताउनुभयो । नेपाल क्यान्सर अस्पतालकी लहरमाया श्रेष्ठले नर्सिङका विद्यार्थीहरुले समुदायमा नसर्ने रोगका बारेमा जानकारी गराउँने तर्फ ध्यान दिनपर्ने तर्क गर्नुभयो ।
पाटन अस्पतालकी नर्सिङ सुपरभाईजर रचना शाक्यले नसर्ने रोगबाट बच्न जिवनशैलीमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति प्राडा.राजेन्द्र वाग्ले नसर्ने रोगमा सबै जना मिलेर अघि बढेमा परिवर्तन आउने बताउनुभयाे ।
हेल्थपाटी 
तपाईँको अभिमत