सेनेटरी प्याडमा कर बढाएकै छैन उसै भ्रम फैलाइयो : अर्थमन्त्री शर्मा (भिडियाे)
अर्थमन्त्री जनार्दन शर्माले सेनेटरी प्याडमा कुनैपनि कर नबढाएको स्पष्ट पार्नुभएको छ । शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सेनेटरी प्याडमा कर बढाएको भनेर कुरै नबुझी भ्रम फैलाइएको बताउनुभएको हो ।
सेनेटरी प्याड सम्बन्धमा आर्थिक वर्ष २०६९/ ७० देखि जे व्यवस्था थियो अहिले पनि सोही व्यवस्था रहेको मन्त्री शर्माको भनाइ छ । अनावश्यक भ्रममा नपर्न महिला तथा अन्य सबैलाई शर्माले आग्रह गर्नुभयो ।
सेनेटरी प्याडमा मूल्य वृद्धि कहाँबाट भयो ? यसबारे मन्त्रालयले अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो। ‘प्याड महिलाहरुका लागि अत्यावश्यक र अति जरुरी वस्तुमा पर्नुपर्छ त्यसका लागि अर्थ मन्त्रालय सकारात्मक छ । कर बढाएको भन्ने विषयमा सत्यता छैन' मन्त्री शर्माले भन्नुभयो ।
सर्वसुलभ रुपमा महिलाहरुको प्याड पाउन भनेर प्याड उत्पादन गर्ने उद्योगहरूलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
स्यानीटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो, बढाइएको होइन । तसर्थ वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं ।
बरु स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत