दाँत फोहोर हुँदा मुटुरोगको जोखिम, मधुमेहका रोगी र गर्भवतीलाई खतरा(भिडियो)
दाँत तथा गिजा वरिपरि फोहोर भयो भने दाँतमा समस्या हुन्छ, दाँत किराले खाने हुन्छ भन्ने आम बुझाइ रहेको छ । दाँत तथा मुख फोहोर भएको खण्डमा अरु विभिन्न स्वास्थ्य समस्या देखा पर्ने दन्तरोग विशेषज्ञ डा.सुजिता श्रेष्ठ बताउनुहुन्छ ।
विश्व मुख स्वास्थ्य दिवसका सन्दर्भमा हेल्थपाटीसँग कुराकानी गर्दै डा.श्रेष्ठले दाँतको फोहार मधुमेहका बिरामी र गर्भवती महिलाका लागि समस्या हुने जानकारी दिनुभयो । साथै यसले मुटुरोगको जोखिम बनाउने पनि उहाँले बताउनुभयो ।
मधुमेहका बिरामीलाई किन जोखिम ?
डा.श्रेष्ठका अनुसार दाँतका लाग्ने वा दाँतको वरिपरि बस्ने फोहोरलाई दन्त लेउ वा डेन्टल प्ला भनिन्छ । यो दाँतको परिवरि गिजामा जमेपछि विभिन्न समस्या हुन्छ । गिजामा रहेको लिगामेन्टलाई कमजोर बनाउँछ । त्यसले गर्दा दाँत हल्लिने र दाँत निकाल्नु पर्ने अवस्था आउन सक्छ । त्यो फोहोरको कारणले दाँतमा मात्रै नभएर शरीरका अन्य भागमा पनि असर गरिरहेको हुन्छ ।
मधुमेहका बिरामीलाई किन जोखिम ?
मधुमेह रोग र दाँतको फाहोरको सम्बन्धबारे डा.श्रेष्ठ भन्नुहुन्छ–कसैलाई टाइप टु मधुमेह छ भने दाँतमा भएको फोहोरको कारणले गर्दा मधुमेह नियन्त्रणबाहिर जान सक्छ । दाँतमा भएका फोहोरकै कारण औषधि खाँदा पनि मधुमेह नियन्त्रण नहुने हुनसक्छ ।
फोहोरमा धेरै किटाणु हुन्छ । त्यो रक्त वाहिनी नसामा जान्छ । त्यसले रगतमा भएको अनावश्यक ग्लुकोजलाई टुटाउने क्षमतालाई बनाउँछ। यस कारणले मधुमेह नियन्त्रणमा कठिनाइ उत्पन्न हुनसक्छ ।
मुटुमा असर
दाँतको फोहारले मुटुमा पनि असर गर्ने डा.श्रेष्ठले सुनाउनुभयो । ती किटाणुहरु रक्त नलीमा जाने र त्यसले त्यहाँ क्लट निर्माण गर्ने हुन्छ। त्यसले गर्दा हृदयघात जस्ता मुटुरोगहरु हुने, मस्तिष्कघात हुने कुरा धेरै अनुसन्धानहरुले देखाएको श्रेष्ठले बताउनुभयो।
गर्भमा असर
गर्भवती महिलामा दाँत तथा गिजा सम्बन्धि रोग देखा समय नपुगी बच्चा जन्मने, कम तौलको बच्चा जन्मने समस्या देखापर्न सक्ने डा.श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार दाँत तथा मुख फोहोर हुँदा त्यहाँ एक खालका कीटाणु जम्मा हुन्छन्। यी किटाणुका कारण हर्माेनमा असन्तुलन कायम हुन पुग्छ । यसले गर्दा कम तौलको बच्चा जन्मने, छिटै बच्चा जन्मने समस्या हुनसक्छ।
कम तौलको बच्चा जन्मने या छिटो बच्चा जन्मने यो मात्रै कारण नभएको डा.श्रेष्ठले स्पष्ट पार्नुभयो । यसका धेरै कारणहरु मध्ये दन्तरोग पनि एउटा रहेको डा.श्रेष्ठले जानकारी दिनुभयो।
अन्य स्वास्थ्य समस्याका तुनालना दाँतको समस्यालाई बेवास्ता गर्ने गरेको डा.श्रेष्ठको भनाइ छ । दाँत फोहोर हुँदा अन्य विभिन्न स्वास्थ्य समस्या हुने भएकाले समय–समयमा स्वास्थ्य संस्था गई दाँत सफा गर्न र बेला–बेला दन्त परीक्षण गर्ने डा.श्रेष्ठको सुझाव छ।
तपाईँको अभिमत