जनस्वास्थ्य प्रयोगशालामा एक हजारभन्दा बढी टेस्ट, कस्ता छन् प्याकेज परीक्षण ? (भिडियो)
जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले सर्ने तथा नसर्ने दुवै रोगको सस्तोमा एवं गुणस्तरीय परीक्षण भइरहेको जानकारी दिनुभयो ।
नसर्ने रोग अन्तरगत रगतसम्बन्धी परीक्षण (हेमाटोलोजी), बायोकेमिस्ट्री, भाइरोलोजी (एचआइभी) भाइरल लोड, एचसीभी भाइरल लोड, सिडी फोर काउन्ट, स्टोन एनालाइसिस लगायत परीक्षण, हिस्टोप्याथोलोजी प्याप सिमियर प्लेटलेट्स, लिभर फसन टेस्ट, थाइरोइड, हर्माेन, क्यान्सर, डाउन सिन्ड्रोमका ट्रिपल टेस्टहरू हुन्छन् ।
सर्ने रोगमा सामान्य रोग, यूनिभर्सल फ्लू, इन्फ्लुएन्जा लगायतको जाँच गर्न सकिने निर्देशक भट्टले जानकारी दिनुभयो ।
निजी स्वास्थ्य संस्थाहरूमा २०० रुपैंयासम्म पर्ने ब्ल्ड सुगरको परीक्षण शुल्क जनस्वास्थ्य प्रयोगशालामा २५ रुपैयाँमा गर्न सकिन्छ । त्यसमा पनि विपन्न र ज्येष्ठ नागरिकलाई ९० प्रतिशतसम्म छुट रहेको निर्देशक डा. भट्टले जानकारी दिनुभयो । त्यसरी छुट हुँदा ब्लड सुगरको शुल्क रु. २ रुपैयाँ ५० पैसा पर्न आउने उहाँले बताउनुभयो ।
साथै बाहिर १ लाखसम्म पर्ने मिर्गाैलासम्बन्धी रोगको परीक्षण जनस्वास्थ्य प्रयोगशालामा ३० हजारमा हुने गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सुपथ मूल्यमा गुणस्तरीय परीक्षण गर्न सकिन्छ । जनस्वास्थ्य प्रयोगशालामा एक हजारभन्दा बढी परीक्षण गर्न सकिन्छ । यहाँ रु. २५ देखि चार हजारसम्म परीक्षण शुल्क रहेको छ ।
निर्देशक डा. भट्टका अनुसार विभिन्न रोगका दिनहुँ कम्तीमा ५ सय नमुना संकलन हुने गरेको छ । बाहिर स्वास्थ्य परीक्षण गरेपनि ल्याब परीक्षण गर्न भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै आउने गरेको उहाँले बताउनुभयो ।
ल्याब परीक्षणबाट केही वर्ष अगाडि ३ करोड रुपैयाँ राजश्व संकलन हुन्थ्यो भने अहिले बढेर १३ करोडसम्म पुगेको उहाँले बताउनुभयो ।
प्रयोगशालामा प्याकेजमा पनि टेस्ट हुने गरेको छ । प्रिमियिम हेल्थ प्याकेज, बेसिक हेल्थ प्याकेज, एन्टीनेटल प्याकेज, मेगा डायबेटिक प्याकेज, मिनी डायबेटिक प्याकेज, कार्डियाक प्रोफायल र प्रिकन्सेप्सनल हेल्थ प्याकेज सञ्चालनमा छ ।
प्रिमियम हेल्थ प्याकेजमा विभिन्न १५ किसिमका टेस्ट हुन्छन् जसको शुल्क २ हजार २२५ रहेको छ । अन्य प्याकेज ८२५ देखि १ हजार ९०० रुपैयाँ पर्नेछ ।
निर्देशक डा. भट्टसँग हेल्थपाटीका लागि तुलसा घिमिरेले छोटो कुराकानी गर्नुभएको छ ।
तपाईँको अभिमत