चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेशको डर, रातभर नसुती नतिजा
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षापछि अहिले नतिजा आउने क्रममा छ । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शस्त्रका लागि यही भदौ १ गतेदेखि ५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
१ गते सञ्चालन गरेको एमबीबीएसको आज बिहानै र ३ गते सञ्चालन गरेको बीएएसएलपी, बी पर्फ्यूजन टेक्नोलोजीको कार्यक्रममा नतिजा हिजो राति प्रकाशन भइसकेको छ ।
अदालतको रिटका कारण नतिजा रोकिने डरले आयोगले रातारात यी नतिजाहरु प्रकाशन गरेको आयोगका एक अधिकारीले बताए ।
एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिएका तर कक्षामा १२ ननग्रेडिङ(पास नभएका) विद्यार्थी २२७५ थिए । उच्च अदालत पाटनको आदेशका कारण ननग्रेडिङ विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा आयोग बाध्य भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले पुनर्योगको नतिजा निकालेपछि आयोगले प्रवेश परीक्षाको नतिजा निकाल्ने भनिएको थियो । बोर्डले पुनर्योगको नतिजा भदौ १२ मा निकाल्यो। त्यसका आधारमा रुजु गरी नतिजा प्रकाशन गरिएको आयोगका अधिकारीले बताए।
यसमा पुनर्योगको नतिजा आउँदा प्रवेश परीक्षा दिएका ननग्रेड विद्यार्थीमा १०–१२ जना मात्रै पास भएको आयोगले जानकारी दिएको छ ।
प्रवेश परीक्षा दिएका र कक्षा १२ को ग्रेड वृद्धिका लागि परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले यसअघि भदौ ९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
उनीहरुले हालेको रिटमा पूरक परीक्षा दिएर नतिजा नआउँदासम्म एकीकृत प्रवेश परीक्षाको नतिजा रोक्न माग गरिएको थियो । आफूहरुले पनि योग्ताक्रममा समावेश हुन पाउनु पर्ने माग रिट निवेदक विद्यार्थीहरूको थियो ।
भदौ ९ गते दायर रिटको पेशी आज तोकिएको थियो । अदालतले विद्यार्थीको मागअनुसार अन्तरिम आदेश दिई नतिजा रोक्ने डर चिकित्सा शिक्षा आयोगलाई थियो ।
रिटमाथि सुनावाइ हुनअघि नै नतिजा सार्वजनिक गरेमा नतिजा रोक्न अन्तरिम आवेदन नआउने विश्वासका साथ आयोगका अधिकारी तथा कर्मचारीहरू नतिजा निकाल्न रातभरी खटेका थिए ।
थोरै परीक्षार्थी भएका २ कार्यक्रम बी पर्फ्यूजन टेक्नोलोजी र बीएएसएलपीको बिहीबार राति नै नतिजा प्रकाशन गरियो ।
सबैभन्दा धेरै परीक्षार्थी रहेको र विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको एमबीबीएसको नतिजा शुक्रबार बिहानै प्रकाशन गरियो ।
आयोगका अधिकारी तथा कर्मचारीहरू रातभर नसुती खटेर बिहानै नतिजा निकाल्न सकेको आयोगका सदस्य सचिव कृष्ण प्रसाद काप्रीले जानकारी दिए । आयोगविरुद्ध परेको रिटमा सुनुवाई हुँदा नतिजा प्रकाशन गरिसकेको अवस्था भएपछि अदालतले नतिजा रोक्न नसक्ने आयोगका अधिकारीहरुको अनुमानले काम गरेको छ ।
शुक्रबार उच्च अदालत पाटनले विद्यार्थीको मागलाई अस्वीकार गरी अन्तरिम आदेश दिएन । उत्प्रेषणको माग गरी दायर गरिएको रिटमा न्यायाधीश लेखनाथ पौडेल र अन्जु उप्रेती ढकालको इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश दियो ।
अदालतले निवेदक विद्यार्थीको मागअनुसार आदेश दिएको भए नतिजा दशैंपछि मात्रै प्रकाशन हुने अवस्था रहेको सदस्य सचिव काप्रीको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षाको मिति भदौ २५ र २६ गते तोकेको छ । उक्त परीक्षा भएर नतिजा आउन कार्तिकसम्म लाग्ने र त्यति लामो समयसम्म प्रवेश परीक्षाको नतिजा रोक्दा धेरै समस्या हुने काप्रीले बताए ।
बाँकी नतिजा कहिले आउँछ ?
आज दिनभर आयोगका अधिकारीहरु अदालतमा उपस्थित हुनेपरेकाले नतिजाका लागि काम गर्न नपाएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव काप्रीले जानकारी दिए ।
अब ४–५ दिनसम्ममा सबै कार्यक्रमका नतिजा प्रकाशन गरिसक्ने पनि उनले जानकारी दिए । बीडीएस, बीएसी नर्सिङ, बी फर्मा लगायत कार्यक्रमको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्न बाँकी छ ।
नतिजालगतै सीट निर्धारणको सूची निकाल्ने तयारी भएको आयोगले जनाएको छ । आयोगका वार्षिक कार्यसूची अनुसार एक महिनाअघि नै मेडिकल कलेजहरुमा सिटी निर्धारण भइसक्नु पर्ने थियो । तर प्रवेश परीक्षाको नतिजा सार्वजनिक भइसक्दा पनि कुन कलेजमा कुन विषयमा कति सिट भर्ना पाउछन् भन्ने आयोगले सार्वजनिक गर्न सकेको छैन ।
तपाईँको अभिमत