जेष्ठ नागरिकको मानसिक स्वास्थ्य विगार्ने ७ कारण, कसरी बच्ने ?
ज्येष्ठ नागरिक र मानसिक स्वास्थ्य समस्या

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषा ‘शारीरिक, मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु’ भनेर उल्लेख गरेको छ। शारीरिक स्वास्थ्यको बारेमा जताततै कुरा गरिए पनि मानसिक स्वाथ्यको त्यति चर्चा हुने गरेको पाइँदैन।
नेपालको सन्दर्भमा कुरा गर्दा २०७२ को भूकम्प र २०७६ मा भित्रिएको कोरोना महामारीपछि मानसिक स्वास्थ्यले बिस्तारै महत्व पाउन थालेको छ।
सामान्य रुपमा मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक तवरले स्वस्थ रहनु भन्ने बुझिन्छ। मानसिक स्वास्थ्यले व्यक्तिको विभिन्न पक्षहरू जस्तैः व्यक्तिगत, परिवारिक, समाजिक वातावरणसँगको अन्तरक्रियामा सहयोग पुर्याउँछ। त्यसैले मानसिक स्वास्थ्य व्यक्तिको सम्पूर्ण स्वास्थ्यको महत्वपूर्ण हिस्सा हो।
मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको चासो र सरोकार हुनु अति आवश्यक छ। तर यो क्षेत्रमा नत आवश्यक जनशक्ति छ नत जनचेतना नै। त्यसैले देशका ग्रामिण क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई देवी देवताको श्राप, पूर्वजन्मको पापको संज्ञा दिने चलन अझै छ।
रोग निको पार्न भन्दै झारभुक गर्ने, रोगीलाई बाँधेर वा थुनेर राख्ने गरेका धेरै घटना देखिन्छ। यो विषयमा पर्याप्त मात्रामा अध्ययन, अनुसन्धान भएका छैनन्। जसले गर्दा वास्तविक वास्तविक तथ्यहरू लुकेर बसेका छन्।
सुरुवाती अवस्थामै पहिचान गरी उपचार गर्न सकेको धेरैको मानसिक स्वास्थ्यसमस्याहरूलाई पूर्णरुपमा निको पार्न सकिन्छ। तर रोग लुकाउने र समयमा उपचार नगर्ने कारणले गर्दा समस्या जटिल बन्दै जान्छ। यसबाट घातक परिणाहरू देखा पर्न सक्छन्।
कतिपय मानसिक स्वास्थ्य समस्याहरू मनोपरामर्श र मनोवैज्ञानिक उपचार पद्धतिबाट निको पार्न सकिन्छ।
जब हामीलाई साधारण रुघा वा ज्वरो आउँछ तब हामी सजिलोसँग अस्पताल जान्छौँ, औषधी खान्छौ। यसमा कसैलाई केही अफ्ठेरो हुदैँन वा लाज लाग्दैन। तर हामीलाई अनिन्द्रा, एक्लोपना, चिन्ता या उदासीनता जस्तासमस्या हुदाँ हामी उपचारका लागि जान आवश्यक ठान्दैनौँ।
आफ्ना समस्याका विषयमा खुलेर कुरा गर्न हिचकिचाउँछौँ किन लाज मान्छौँ। जवकि उपचार पनि छ। औषधि पनि छ। यो जान्दा जान्दै हामी किन उपचारमा जान हिचकिचाउँछौँ ?
मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेरका जो कसैलाई पनि हुनसक्छ। उमेर अनुसार रोगको प्रकृति र लक्षणहरू फरक–फरक होलान् तर समस्या सबै उमेर समूहमा छ।
नेपालको संविधानले ६० वर्ष वा सो भन्दा माथिको उमेर समूहलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ।
मानिसक स्वास्थ्यका हिसाबले यो जोखिमपूर्ण उमेर हो।
संसारमा ६० वर्ष वा सोभन्दा माथिका करिब १५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको रिेपोर्ट विश्व स्वास्थ्य संगठनले निकालेको छ।
ज्येष्ठ नागरिकमा देखा पर्ने मानसिक समस्याहरूमा उदासिनता, चिन्ता, तनाव, लागुपदार्थ दुरुपयोग आदि पर्दछन्। यो अवस्थामा मानसिक स्वास्थ्यमा समस्या बढ्नुका धेरै कारणहरू छन्।
१.शारीरिक परिवर्तन
उमेर बढ्दै जाँदा विभिन्न प्रकारका शारीरिक परिवर्तनहरू देखा पर्न थाल्दछन्। आँखा कम देख्नु, कान कम सुन्नु, शरीर कुप्रिन थाल्नु, शारीरिक क्षमतामा कमी हुनु आदि।
यी परिवर्तन वृद्ध अवस्थामा देखिने सामान्य लक्षण हुन्। तर यहिी परिवर्तन र यसको प्रभावलाई लिएर पिरोलिइरहने, चिन्ता गर्ने बानी धेरै भएमा यसले मानसिक स्वास्थ्यमा असर गर्न थाल्दछ।
२.एक्लोपन
रोजगार, पढाइ वा अन्य कारणले परिवारका सदस्यहरू घर छाडेर जाने भएकाले अहिले धेरै जेष्ठ नागरिकहरू एक्लिएका छन्।
त्यति मात्रै होइन घरमा सँगै बसेका परिवारका सदस्यहरू आफ्ना काममा व्यस्त भएर जेष्ठ नागरिकलाई समय दिन पाइरहेका हुँदैनन्।
उनीहरूलाई खासै वास्ता गरिरहेका पनि हुँदैनन्। यसरी पनि जेष्ठ नागरिकले आफूलाई एक्दो महसुस गरिरहेका हुन्छन्।
छोराछोरीका कारण गाउँबाट शहर बसोबासका लागि आएका ज्येष्ठ नागरिकहरू शहरी वातावरणमा घुलमिल हुन नसकेर एक्लोपनको शिकार देखिन्छन्।
एक्लोपनका यी कारणले जटिल खालको मानसिक स्वास्थ्य समस्या निम्तिन सक्छ।
३.परनिर्भरताको पीर
वृद्ध उमेर हुँदै गएपछि अरुमा निर्भर हुनुपर्ने अवस्था हुँन्छ। कतिपयलाई शारीरिक अशक्तताले गर्दा दैनिक साना कुरामा समेत अरुको सहयोग चाहिने हुन्छ।
काम गर्न र कमाउन नसक्दा खर्चका लागि पनि अरुमै निर्भर हुनुपर्ने हुन्छ।
सक्रिय अवस्थामा स्वतन्त्र रुपमा हिँडडुल गरेको, कमाएको, धेरै काम गरेको व्यत्तिलाई अरुमा निर्भर हुनुपर्दा निकै तनाव हुनसक्छ। यस्तो बेला परिवारका सदस्यबाट हुने व्यवहारले पनि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या उत्पन्न हुनसक्छन्।
४.अवकास पछिको अन्योल
ज्येष्ठ नागरिक अवस्था अवकासको समय हो। कुनै न कुनै पेशामा सक्रिय जीवन बिताइरहेको व्यक्ति अवकासपछि के गर्ने, समय कसरी बिताउने भन्ने खास योजना नहुँदा अन्योलमा पर्छ।
अवकासपछि पनि सक्रिय जीवन बाच्न सकिन्छ। पहिलाकै सीप, अनुभव प्रयोग गरेर नयाँ कामहरू गर्न पनि सकिन्छ। तर हाम्रो देशमा अवकास भन्नेबित्तिकै बुढो भयो, अब पनि के काम गर्नु भन्ने धेरैको मानसिकता छ।
कामको समयमा एउटा योजनामा चलेको व्यक्ति बिना योजना यताउता भौँतारिदा नराम्रा बिचारहरू मनमा आउने र त्यस्ता विचारले मानसिक स्वास्थ्यसँग सम्वन्धित समस्या आउन सक्छन्।
५.बढी चिन्ता
स्वभावैले अन्य उमेरका व्यक्ति भन्दा ज्येष्ठ नागरिकहरू स–साना कुरामा पनि बढी चिन्ता लिन्छन्। कतिपयले यस्तो अवस्थामा खाना नखाने, नसुत्ने गर्नुका साथै औषधी खान समेत छोडिदिन्छन्।
आफ्ना सन्तानको विषयमा चिन्ता र चासो राख्नु सामान्य व्यवहार हो। तर हद भन्दा धेरै चिन्ता र चासोले मासिक समस्या निम्तिन्छ।
यसरी ज्येष्ठ नागरिकले गरेको चिन्ता र चासोलाई कतिपय छोराछोरीले नकारात्मक रुपमा लिएर परिवारमा उल्टो समस्या निम्तिन पनि सक्छ।
६.नयाँ प्रविधिबारे अनविज्ञ
अहिले दैनिकीलाई सहज बनाउन नयाँ–नयाँ प्रविधि भित्रिइरेका छन्। धेरैजसो जेष्ठ नागरिकहरू ती प्रविधिको चलाउन जान्दैनन्।
जस्तै टीभीको रिमोर्ट चलाउन, फोन गर्न, विद्युतीय भाँडा तथा चुल्हो चलाउन जेष्ठ नागरिकलाई कठिन भइरहेको हुन्छ। यस्ता काममा हरेक पटक अरुको सहायोग लिनुपर्दा तनाव हुनसक्छ।
यस्ता काममा सहयोग गर्नुपर्दा परिवारका सदस्यले झिँजो मानिरहेका हुन्छन्। गाउँबाट भर्खरै शहरका बस्न आएका जेष्ठ नागरिकहरू साइनबोर्ड पढ्न नजान्दा, यहाँको भूगोलबारे थाहा नहुँदा हराउने गरेको घटनाहरू पनि छन्। यस्ता कुराले उनीहरूमा हिनताबोध हुने, निराशा र एक्लोपनका समस्या बढाउँछ।
बहु अन्तर्राष्ट्रिय कम्पनी भोडाफोनले गरेको एक अध्ययनअनुसार मोबाइल प्रयोग गर्ने ज्येष्ठ नागरिकहरूमा एक्लोपनाको समस्या कम रहेको पाइएको थियो।
७.विभिन्न रोग र अनिन्द्रा
ज्येष्ठ नागरिकमा मानसिक समस्या बढाउने करणहरूमा विभिन्न रोगहरू र अनिन्द्रा पनि पर्दछ। यो अवस्थामा विभिन्न जस्तैः मुटु रोग, बाथ रोग, उच्च रक्तचाप, मधुमेह, डिमेन्सिया आदिले गर्दा ज्येष्ठ नागरिकमा चिन्ता, उदासिनता जस्ता मानसिक समस्या बढ्ने सम्भावना हुन्छ।
चिन्ता र मनमा धेरै कुरा खेलाउने बानीले अनिन्द्राको समस्या उत्पन्न हुन्छ। पर्याप्त मात्रामा निदाउन नसक्नु मानसिक समस्या वृद्धि गर्ने प्रमुख कारक हो।
यी बाहेक ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या वृद्धि हुने अन्य कारणहरूमा वंशानुगत, पोषण, व्यायाम तथा योगको कमी आदि पर्दछन्।
ज्येष्ठ नागरिकलाई मानसिक रुपमा स्वस्थ राख्न परिवारका सदस्य तथा स्वयं ज्येष्ठ नागरिकको भूमिका रहन्छ।
परिवारका सदस्यले उनीहरूलाई सकेसम्म धेरै समय दिने, गफ गर्ने, उनीहरूका आवश्यकता र स्वास्थ्य स्थितिबारे जानकारी लिइरहनु पर्दछ।
पारिवारिक छलफल र निर्णय गर्दा उनीहरूको राय सुझाव लिनुपर्छ। उनीहरूलाई सक्रिय रहन प्रेरित गर्नुपर्छ। उनीहरूले चलाउन नजानेको कुरा कुनै झन्झट नमानी सिकाउनुपर्छ। पारिवारिक जमघट, पिकनिक, सामाजिक कार्य आदिमासहभागी हुने वातावरण बनाउनुपर्छ।
ज्येष्ठ नागरिकले पनि आफू मानसिक रुपमा स्वस्थ रहनका लागि बुढ्यौली अवस्थालाई जीवनको सामान्य र सबैमा हुने प्रक्रियाका रुपमा लिनुपर्छ।
सकेसम्म सक्रिय रहनुपर्छ। आफूले गर्नसक्ने काम गर्ने, अध्ययन गर्ने, सामाजिक कामहरूमा सहभागी हुने गर्नुपर्छ। कुनै कामको योजना बनाउने, परिवार तथा छरछिमेकीसँग कुराकानी गरिरहने गर्नुपर्छ।
दैनिक व्यायाम अथवा योग गर्ने, शान्त र प्रफुल्ल रहने साथै आवश्यक मात्रामा सुत्ने गर्नुपर्दछ। खानपानमा पनि विशेष ध्यान दिनुपर्छ। रोग अनुसारको शरीरले पचाउन सक्ने खाना र प्रशस्त पानी पिउनुपर्छ। धुम्रपान, मद्यपान, लागुपदार्थ सेवन गर्नु हुँदैन। नियमित स्वास्थ्य जाँच गराउनु पर्छ।
(लेखक अधिकारी ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने संस्था एजिङ नेपालमा आवद्ध हुनुहुन्छ)
तपाईँको अभिमत