आवश्यक बजेट नपाउँदा सरकारी अस्पतालहरू गम्भीर संकटमा : स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले अर्थ मन्त्रालयको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउनुभएको छ ।
पाँच महिने कार्यकाल सकिँदै गर्दा आयोजित धन्यवाद मन्तव्यमा शर्माले आवश्यक बजेट नपाउँदा देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताउनुभयो।
शर्माका अनुसार मन्त्रालयले अस्पतालहरूको न्यूनतम सेवा सञ्चालनका लागि ७ अर्ब रुपैयाँ माग गरे पनि अर्थ मन्त्रालयले केवल १ अर्ब रुपैयाँ मात्र उपलब्ध गराएको छ।
“कात्तिकसम्मको हिसाब निकालेर ७ अर्ब माग्दा जम्मा १ अर्ब मात्र पाइयो,” मन्त्री शर्माले भन्नुभयो “निर्वाचनपछि बाँकी रकम दिने भनिए पनि अहिले अर्थ मन्त्रालय अस्पतालका समस्याबाट विमुख भएर ‘कुलिङ पिरियड’ मनाउन व्यस्त देखिन्छ।”
उहाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो व्यवहार अस्वीकार्य भएको उल्लेख गर्दै यसले अस्पताल सेवामा प्रत्यक्ष असर परेको बताउनुभयो।
मन्त्री शर्माले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा प्रणालीमा रहेका दीर्घकालीन विकृतिहरू पहिचान गरी सुधारको आधार तयार गरिएको दाबी गर्नुभयो।
बीमा बोर्डको आर्थिक संकट समाधान गर्न मन्त्रालयभित्रकै कार्यक्रम कटौती गरेर ७५ करोड रुपैयाँ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।
“यी सुधारहरूले आगामी दिनमा राज्यको अर्बौँ रुपैयाँ बचत हुनेछ,” उहाँले भन्नुभयो “तर बीमाको चुनौती अझै समाप्त भइसकेको छैन।”
उहाँले स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा प्राथमिकताका आधारमा काम गर्ने भए पनि अर्थ मन्त्रालयको व्यवहार त्यसको ठीक विपरीत रहेको बताउनुभयो ।
“हामीलाई दुःख मनाउने बाहेक केही गर्न नसक्ने अवस्थामा पुर्याइएको छ,” उहाँले भावुक हुँदै भन्नुभयो।
छोटो कार्यकालमा सुधारका प्रयास
मन्त्री शर्माले आफ्नो कार्यकालमा मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य, मातृ–शिशु स्वास्थ्य, औषधि व्यवस्थापन, खरिद प्रक्रिया र बीमा सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
औषधि क्षेत्रको नियमन सुदृढ बनाउन संरचनागत सुधार, नयाँ प्रयोगशाला योजना तथा दरबन्दी विस्तारका काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो।
मन्त्रालयबाट बिदा हुँदै उहाँले ढिलासुस्ती घटाउन, प्रक्रिया सरल बनाउन र परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
“हरेक निर्णयको पछाडि एउटा मानव जीवन जोडिएको हुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन,” मन्त्री शर्माले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत