सावधानी अपनाउँदै नन काेभिड बिरामीकाे घाँटीकाे (स्वास्-प्रश्वास) अप्रेशन

काठमाडौं । अहिले कोरोना महामारीमा नन् काेभिड बिरामीको उपचार पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्नुपर्ने हुन्छ । माथिका फोटाहरु ललितपुरको पाटन अस्पतालमा घाँटीको क्यान्सर भएका एक बिरामीको आकस्मिक शल्यक्रिया गर्दैगर्दाकाे हुन् । डाक्टर तथा नर्सहरुले शिरदेखि पाउसम्म ढाक्ने गरी पीपीई पहिरिएका छन् भने बिरामीलाई टाउकाेदेखि पेटसम्म प्लाष्टिक जस्तो देखिने ड्रेपले छाेपिएकाे छ । उक्त ड्रेप सोसाइटी अफ ओटोलारिङगोलोजिष्ट (सोल नेपाल)ले उपलव्ध गराएको थियो ।
जनकपुरका ६० वर्षका पुरुषलाई घाँटीको क्यान्सर भई सास फेर्न असहज भएपछि तुरुन्तै शल्यक्रिया गर्नपरेकाे थियाे । शल्यक्रिया गर्दा डाक्टर तथा नर्स कसरी आफू र बिरामीलाई सुरिक्षत राखी उपचार गर्छन् भन्ने चित्रण फाेटाेले गरेकाे छ । क्यान्सरले सास फेर्ने नली बन्द गरेपछि सास फेर्न अप्ठेरो हुँदै गएपछि सास फेर्न सहजताका लागि डाक्टरहरुले बिरामीकाे घाँटीबाट अर्काे बाटो बनाइदिएका छन् ।

अपरझट घाँटीको शल्यक्रिया गर्नुपर्ने भएकाले यसरी सावधानी अपनाउँदै उपचार गरिएकाे उपचारमा संलग्न डा. लिजन महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीलाई सास फेर्नका लागि सजिलाे बनाउन गरिएको आकिस्मक शल्यक्रिया हो र बिरामीकाे अवस्था अहिले सुधारोन्मुख छ । अर्काे साता साेही बिरामीकाे क्यान्सरकाे अर्काे शल्यक्रिया गर्ने तयारी डाक्टरहरुले गर्नुभएकाे छ । डा. दिपक यादव, डा.भावना, डा.लिजन महर्जन र डा.सरोज चापागाईँ एनेस्थेिसयाका डा. निराेज हिराचन, शुन्ती बराही र नर्स मीजु महर्जनको समुहले बिरामीको सफल शल्यक्रिया गर्नुभएको थियो ।
शल्यक्रिया गरिएका बिरामी काेराेना संक्रमित होइनन् तर संक्रमित नभएका बिरामीको उपचार, त्यसमा पनि शल्यक्रिया गर्नुपर्ने बिरामीको हकमा पोजेटिभ भएका बिरामीलाई उपचार गर्दा सरह पीपीई, फेस सिल्ड, चस्मा, पञ्जा लगायतका व्यक्तिगत सुरक्षाका सबै सामग्रीको अनिवार्य प्रयोग गर्नुपर्दछ ।
यो फोटोले कोरोना महामारीमा डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा कसरी खटिएका छन् र उनीहरु आफ्नो पेशाप्रति कति समर्पित छन् भन्ने दर्शाउँछ । पाटन अस्पतालमा कोरोना संक्रमितको सँगसँगै ननकोभिडका बिरामीको पनि उपचार भइरहेको छ । काेराेना मात्रै हाेइनन् काेराेना बाहेकका बिरामीकाे उपचार गर्दा पनि काेराेना संक्रमणकाे जाेखिम उच्च हुने भएकाले आजभाेलि हरेक अस्पतालमा स्वास्थ्यकर्मीहरुले यसैगरी सुरक्षाका विधि अवलम्वन गर्दै बिरामीकाे उपचार गरिरहनुभएकाे छ ।
तस्विर डा. लिजन महर्जन ।




तपाईँको अभिमत