पारासिटामोल : आवश्यकभन्दा १० गुणा बढि घर - घरमा, अभाव नरहेको एपोनको प्रष्टोक्ति
नेपाल औषधि उत्पादक संघ (एपोन)ले बजारमा सिटामोल लगायत कुनै पनि औषधिको अभाव नरहेको प्रष्ट पारेको छ । संघले विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो ।
बजारमा सिटामोल वार्षिक करिव ७ करोड चक्की माग हुने गरेको र करिब ९९ प्रतिशत औषधि उद्योगले नै पूर्ति गरिरहेको संघले जनाएको छ । औषधि नपाइने अफबाहका कारण बिरामी भए औषधी पनि खान पाइदैन भन्ने सोचले सर्वसाधरणले आवश्यक भन्दा १० गुणा बढि घरघरमा पारासिटामोल सञ्चय सुरु भएको संघको भनाइ छ ।
यसअघि पनि औषधि उत्पादक संघले भुकम्प, नाकाबन्दी तथा कोरोना संक्रमणको बिषम परिस्थितिमा समेत भारतले निर्यातमा प्रतिवन्ध लगाएका कच्चा पदार्थ साथै कच्चापदार्थको मूल्यमा तिन गुणा बृद्धि हुँदापनि १५ बर्ष देखि २०६४ साल असोज १० गते तोकेको मुल्यमा नै उपलब्ध गराई चीन लगायत अन्य मुलुकबाट मगाएरै स्वदेशमै उत्पादन हुने कुनै पनि गरि औषधिको अभाव हुन नदिएको संघको प्रष्टोक्ति छ ।
नेपाल औषधि लिमिटेड बाहेक उद्योगहरुले पुष महिनामा करिव ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएको र माघ महिनाको दोश्रो सातामा ३५ लाख र यो महिनाको अन्त्य सम्म अर्को ३५ लाख गरि ७० लाख चक्की बजारमा पठाउने लक्ष लिएको संघले जानकारी दिएको छ ।
साथै पारासिटामोल उत्पादन गर्ने कच्चापदार्थको मौज्दात करिव १९,४६० किलोग्राम रहेको र यसबाट करिव ३,८४,८३,९०० पारासिटामोल ५०० मिलिग्राम चक्की बनाउन सकिने संघले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत