किसानका छोराछोरीले डाक्टर पढ्न खोज्दा धेरै चुनौती आउने रैछन्(भिडियो)
काभ्रेका सुशिल गौतम अहिले डाक्टर बन्ने आफ्नो सपना पूरा गर्न संघर्षरत छन् । उनी नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षका विद्यार्थी हुन् । अहिले बोर्ड परीक्षाको तयारी गर्न कलेजले छुट्टी दिएको छ । काठमाडौं बसेर परीक्षाको तयारी गर्न आएका सुशिल काभ्रे नमोबुद्ध नगरपालिका–१० स्थित घरमा भेटिए । असार महिना भएकाले गाउँमा धान रोप्ने मारामार छ ।
बुबा आमालाई खेत रोप्न २–४ दिन सघाएर काठमाडौं फर्किने योजना रहेको सुशिलले सुनाए ।
गाउँको सामान्य सरकारी स्कुल पढेका सुशिलले पहिलो पटकमै प्रवेश परीक्षामा सफलता हात पारे । एमबीबीएस छात्रवृत्तिमा नाम निकालेर नेपालगन्ज मेडिकल कलेजमा पढ्न गए । छात्रवृत्तिमा पढ्न पाउँदा पनि कमजोर आर्थिक पृष्ठभूमि भएका व्यक्तिलाई त्यति सहज नहुने अनुभव सुशिलको छ ।
एमबीबीएस पैसा हुने व्यक्तिले पढ्ने विषयका रुपमा बुझिने गरेको सुशिल सुनाउँछन् । तर अहिले एमबीबीएस पढ्ने समान्य किसान परिवारका छोराछोरी धेरै हुन्छन् ।
परिवारका आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई एमबीबीएस पढ्ने बाटोमा पटक–पटक चुनौती आउने सुशिल बताउँछन् ।
‘सामान्य किसान परिवारबाट आउनेलाई एक हिसाबले आर्थिक चुनौती हुन्छ’ सुशिल सुनाउँछन्, ‘पहिलो त प्लस टु पढ्ने बेला नै आर्थिक चुनौती आउँछ । साइन्स पढ्न अरु विषय भन्दा महंगो पर्छ । अर्को चुनौती भनेको प्रवेश परीक्षाको तयारी गर्नुपर्दा आउँछ । त्यसमा पनि खर्च लाग्छ।
छात्रवृत्तिमा नाम निकालेर कलेज छिरेपछि पनि विभिन्न खर्चहरु निस्किन्छन् ।’
उनका अनुसार वर्षको ३ लाख जति खान बस्नका लागि कलेजलाई पैसा तिर्नुपर्ने हुन्छ । किताब, कपी लगायत पढाइका सामग्री किन्न वर्षमा थप ४०–५० हजार लाग्छ । किसानको नियमित आम्दानी हुने भएकाले त्यति जुटाउन पनि कठिन नै हुन्छ ।
अहिले मात्रै होइन स्कुल पढ्दा देखि नै खेतीपातीको काममा सघाउने गर्थे । गाउँको स्कुलमा असार एक महिना बिदा हुन्थ्यो । धान उठाउने बेलामा पनि दशैँ तिहारको समय भएकाले लगभग एक महिना बिदा नै हुन्थ्यो । स्कुल विदा भएको समयमा बुबा, आमालाई खेतीपातीको काममा सघाएरै बित्थ्यो।
सानै उमेरदेखि घरमा सघाउँदै आएकाले खेतीपातीको अनुभव पनि राम्रो रहेको सुशिल बताउँछन् ?
खेती सजिलो कि डाक्टर पढ्न सजिलो त ? आफ्नो अनुभवमा पढ्न भन्दा खेतीपातीको काम निकै गाह्रो हुने सुशिलले सुनाए ।
‘पढनु भन्दा खेती किसानी निकै गाह्रो अझ पहाडको खेती किसानी निकै गाह्रो’ सुशिल भन्छन्, पढ्न त आफ्नो तरिकाले पढ्यो, भोक लागेको बेला खायो तर खेतीपातीमा त्यति सहज छैन।’
यसमा पनि मान्छेअनुसार फरक–फरक बुझाइ हुने उनको तर्क छ । ‘कसैलाई पढ्नै पनि आकाश लागि रहेको हुन्छ। १० पास गर्न पनि कठिन हुन्छन् त्यसरी हेर्दा त फेरि पढाइ नै कठिन देखिएला’ उनी भन्छन् ।
सरकारी स्कुल पढेर एमबीबीएस पढ्न सकिँदैन कि भनेर सोच्नु नहुने नभएको सुशिलले बताउँछन्। निजी स्कुलबाट पढेर आउने भन्दा केही कुरामा कमजोरी हुने भएपनि केही मेहनत गरेमा उनीहरु बराबर बन्न सकिने अनुभव उनको छ । सरकारी स्कुल पढेकालाई प्रवेश परीक्षामा आरक्षण समेत भएकाले त्यसैलाई आफ्ना सबल पक्ष मानेर अघि बढ्नु पर्ने उनको सुशिलको भनाइ छ ।
भविष्यमा रेडियोलोजी र अर्थोपेडिक सर्जन बन्ने मनसाय राखेको भएपनि पछि यो धारणा परिवर्तन हुनसक्ने सुशिल बताउँछन् । अहिले नै के बन्ने भन्दा पनि एमबीबीएसमै ध्यान केन्द्रीत गरेको उनले सुनाए ।
सन्तोष निरा राई
तपाईँको अभिमत