पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरु बढी
पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरु बढी रहेको पाइएको छ ।
परिवार कल्याण महाशाखा पोषण महाशाखाले काठमाडौंमा आयोजना गरेको आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको (बिक्री वितरण नियन्त्रण)ऐन, २०४९ सम्बन्धि पत्रकारहरुसँगको बहस पैरवी कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा पोषणसँग सम्बन्धित राष्ट्रव्यापी कार्यक्रमहरुबारे जानकारी दिदै पोषण शाखा प्रमुख लिला विक्रम थापाले शिक्षित आमाहरुले पूर्ण स्तनपान कम गराउने गरेको पाइएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक प्रस्तुत गर्दै थापाले पूर्ण स्तनपानको दर माध्यामिक तहभन्दा शिक्षित आमाहरुमा कम देखिएको जानकारी दिनुभयो ।
साथै तथ्यांकअनुसार न्यून आय भएका आमाहरु ६४ प्रतिशत, उच्च आय भएका ४४ प्रतिशत परिवारका आमाहरुले पूर्ण स्तनपान गराएको पाइएको छ । नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत र शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।
शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ । पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्विनीमा ३६ प्रतिशत रहेको छ ।
उक्त तथ्यांक अनुसार नेपालमा बोतलपान गराएका शिशुको संख्या २२ प्रतिशत रहेको छ भने प्रदेशगत रुपमा बागमतीमा सबैभन्दा बढि (४३ प्रतिशत) र कर्णालीमा सबैभन्दा कम (११ प्रतिशत) रहेको छ ।
नेपालमा ५ वर्ष मुनीका २५ प्रतिशत बालवालिकाहरु पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रत्तअल्पताबाट ग्रसित छन् ।
संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । सवै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको भूमिका महत्वपुर्ण हुन्छ ।
स्तनपानको संरक्षण र सम्बर्द्धन गर्न सरकारले गरिरहेका कार्यहरु
सरकारले स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लिला विक्रम थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रि वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानहरुको कार्यन्वयन गरि स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्ने कार्य भइरहेको छ । त्यसका लागि निरिक्षकहरुको नियुक्ति भइ क्षमता विकास तालिम समेत सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
पूर्ण स्तनपानलाई सहयोग गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सरकारी, गैरसरकारी वा नीजी संघ संस्थामा कार्यरत महिलालाई कम्तिमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा तथा चिकित्सकको सिफारिसमा बढिमा एक बर्षसम्मको वेतलबि बिदाको व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।
स्तनपान गराइरहेकी कामकाजी आमाहरुलाई कार्यालय समयभित्र सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ (३) अनुसार स्तनपानमैत्री वातावरण श्रृजना गरी सहयोग गर्न, पुर्ण स्तनपानलाई ध्यानमा राखि प्रसूति बिदा दिने लगायतका लागि सबै सरकारी, गैरसरकारी कार्यालयहरुमाझ समन्वय, पहल, पैरवी गर्ने कार्य भइरहेको थापाले जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा प्रसुती अस्पतालका सिनियर कन्सल्टेन्ट पेडियाट्रिसियन डा.शैलेन्द्रवीर कर्माचार्यले जहाँ पढेलेखेका व्यक्तिहरु छन् त्यहाँ स्तनपान गराउने दर कम रहेको बताउनुभयो ।
उहाँले अस्पताल या घरमा आमा वा सासु नभएका सुत्केरी आमाहरुमा पनि स्तनपान गराउने दर कम रहेको बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले स्तनपानको महत्ववारे विद्यालयको पाठ्यक्रममै समावेश गरेर लैजानपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा परिवार कल्याण महाशाखामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.गौरी प्रधानले स्वास्थ्य संस्थाहरुमा शिशुलाई स्तनपान नगराउँदासम्म सुत्केरी आमाहरुलाई डिस्चार्ज गर्न नहुनेतर्फ सचेत हुनपर्ने बताउनुभयो ।
स्तनपानमा नेपालको अवस्था
नेपालमा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत । ६ महिनासम्म पूरा स्तनपान गराउने ५६ प्रतशित, २ वर्षसम्म स्तनपान गराउने ९४ प्रतिशत।
विश्वको अवस्था
–२ जना नवजात शिशुमध्ये १ जनालाई जन्मिएको १ घण्टाभित्र स्नतपान गराइएको पाइन्छ।
-सन २०१५ देखि २०२० मा जन्मिएदेखि ६ महिनासम्मको शिशुमध्ये ४४ प्रतिशत शिशुले पूर्ण स्तनपान गरेका छन् ।
राष्ट्रव्यापी पोषण कार्यक्रम अन्तर्गत, मातृ शिशु तथा बाल्यकालिन पोषण, वृद्धि अनुगमन तथा प्रब्रदन कार्यक्रम, आयोडिनको कमीले कमीले हुने विकृतिको रोकथाम, भिटामिन 'ए' को कमीले रोकथाम नियन्त्रण तथा उपचार, जुकाको औषधिद्वारा परजीवी नियन्त्रण, किशोरी आइरन वितरण कार्यक्रम, सीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम, एकीकृत शिशु तथा बाल्यकालीन पोषण तथा बलबिटा प्रवर्द्धन कार्यक्रम आइरन कमीले हुने रक्तअल्पता रोकथाम तथा नियन्त्रण कार्यक्रमहरू सञ्चालनमा छ।
स्तनपान सप्ताह
-स्तनपानलाई प्रवर्द्धन गर्न सन १९९२ देखि विश्व स्तनपान सप्ताह मनाउदै आइएको छ ।
-स्तनपानको महत्वबारे स्थानीय जनसमुदायमा चेतना अभिवृद्धि गराउनश नेपालमा विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ ।
-यस वर्ष पनि 'स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिवद्धता भन्ने मूल नाराका साथ श्रावण १६ गते देखि २२ गते (तदनुसार १ देखि ७ अगस्ट २०२३) सम्म विश्व स्तनपान सप्ताह २०८० मनाइँदैछ ।
-स्तनपानलाई संरक्षण, प्रवर्द्धन र सहयोग गर्न विश्वव्यापी रुपमा मनाइने विश्व स्तनपान सप्ताहको अवसरमा विभिन्न गतिविधिहरु सञ्चालन गर्न नेपाल सरकारले विश्व स्तनपान सप्ताह कार्यक्रमका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा बजेटको व्यवस्था गरिएको छ।
अबको योजना
-आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ को समयानुकुल संशोधन गर्ने,
-प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा मातृशिशु मैत्री सेवा अभियानको विस्तार गर्ने
-स्तनपान व्यवस्थापन केन्द्रको प्रत्येक प्रदेशमा स्थापना तथा विस्तार गर्ने।
-स्तनपान संरक्षण तथा सम्वन्वय समिति प्रदेश स्तरमा गठन गर्ने।
-ठूला अस्पतालमा स्तनपान परामर्शदाताको व्यवस्था गरी तालिम दिने
-सञ्चालन र गर्भवती तथा सुत्केरी महिलालाई प्रभावकारी परामर्शको सुनिश्चितता गर्ने
नोट : जन्मने बित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ, जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ । त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको बगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ ।
हेल्थपाटी
तपाईँको अभिमत