डण्डीफोर हटाएर हङकङ जान चाहन्थिन् नितु, औषधिले लियो ज्यान(भिडियो)
अनुहारमा आएको डण्डीफोर निको बनाउन औषधि खाँदा भक्तपुर च्याम्हासिंहकी २२ वर्षीया नितु दुवालले ज्यान गुमाउनु परेको छ।
औषधिको गलत प्रभावले शरीरभरि छालामा फोका आउने, पाक्ने, छाला झर्ने, पटपटी फुटेर रगत आउने जस्ता समस्या भएर गत भदौ ३१ गते पाटन अस्पतालमा नितुको अत्यन्तै कष्टकर मृत्यु भयो।
ललितपुरको ग्वार्काेस्थित क्वेस्ट इन्टरलेशनल कलेजबाट भर्खरै स्नातक सक्काउनु भएकी नितु होटल म्यानेजमेन्टको इन्टर्नसिपका लागि हङकङ जाने तयारीमा हुनुहुन्थ्यो।

हङकङ जाने प्रक्रिया अघि बढिरहेको थियो।अनुहारमा अलि बढी नै डण्डीफोर देखिएको उहाँले महसुस गर्नुभयो। उता जानुअघि डण्डीफोरको औषधि गरेर अनुहार सफा बनाउने सोच नितुले राख्नुभयो।
नितुका बुबा राधेश्याम र आमा गीताले दिनुभएको जानकारी अनुसार गत असार २२ गते घरनजिकै रहेको खोप अस्पतालमा नितु डाक्टरलाई देखाउन जानुभयो।
अस्पतालका चिकित्सकले एक वटा मुख धुने र २ वटा खाने गरी ३ वटा औषधि लेखिदिए।
औषधि दुई साता खान भनिएको थियो। औषधि खान सुरु गरेको केही दिनपछि नितुलाई ज्वरो आयो। छाती र खुट्टातिर खटिरा देखिन थाल्यो। घाँटी पनि दुखेको थियो।
साउन २ गते नितु फेरि ख्वप अस्पताल जानुभयो। त्यसपछि यसअघि जाँच गर्ने छालाका डाक्टरले जनरल फिजिसियनलाई देखाउन भन्नुभयो। एजर्ली, ज्वरो र खोकीको दिएर घर पठाइयो। पहिलादेखि खाइरहेको डण्डीफोरको औषधि यथावत नै थियो।
साउन १२ गते राति उहाँलाई फेरि ज्वारो बढ्यो। धेरै ज्वरो आएपछि राति ११ बजेतिर इमर्जेन्सीमा लगियो। केही घण्टाको उपचारपछि बिहान ४ बजेतिर औषधिहरू दिएर घर पठाइयो।
२ दिनमा पनि ज्वरो खासै कम भएन। वान्ता हुने, जिउका खटिराको अवस्था उस्तै रह्यो। अनि साउन १४ गते फेरि ख्वप अस्पताल नै लगियो। यस पटक डाक्टरले भर्ना गरेर २–३ दिन राख्नुपर्छ भन्नुभयो। त्यसपछि त्यहाँ भर्ना गरियो। जाँच गर्दा टाइफाइडको संकेत देखिएको भन्दै टाइफाइटको इन्टिबायोटिक चलाएको नितुको परिवारले जानकारी दिएको छ।
ज्वरो केही कम भयो तर बेला-बेला वान्ता आइरहेको थियो। छाती र खुट्टामा मात्रै रहेको खटिरा जिउभरी फैलिएको थियो। जिउ सुन्निन थाल्यो। टाइफाइटको इन्टिबायोटिक दिइएको थियो।
यति हुँदा पनि पहिलो कुन औषधि खाएको थियो भनेर डाक्टरले नसोधेको आमा गीताको गुनासो छ।
समस्या बढ्दै गएपछि परिवारका सदस्यले नितुलाई अरु अस्पताल लैजाने भन्न थाले तर डाक्टरहरूले औषधिको असर ३ दिनमा देखिन्छ, औषधिको डोज पुगेको छैन भनेर नपठाएको उहाँहरूको गुनासो छ।
नितुले समेत आफू यहीँ बसे नबाच्ने भन्न थालेपछि अस्पतालमा सँगै रहनुभएकी उहाँकी आमा आत्तिनुभयो। साउन २१ गते बिहान अस्पतालले डिस्चार्ज नदिएपनि लैजाने भनेर आमा गीताले सामान पोको पार्न थाल्नुभयो । अनि बल्ल अस्पतालले डिस्चार्ज दियो।
साउन २१ गते बिहान ७ बजेतिर ख्वप अस्पतालको एम्बुलेन्समा ग्वार्काेस्थित बी एण्ड बी अस्पताल लगियो। नितु पीडा सहन नसकेर रोइरहनुभएको थियो।
बी एण्ड बी मा डाक्टरहरूले समस्या यही नै हो भनेर किटान गर्न सक्नुभएन। पुराना रिपोर्ट र हिस्ट्री हेरेर औषधिको एजर्लीले नै भएको प्रारम्भिक निष्कर्ष उहाँहरूको रह्यो। औषधिको एलर्जी भएकाले राम्रोसँग जाँच नगरी औषधि चलाउन नमिल्ने भनेर कुनैपनि औषधि खान दिनुभएन।
‘कुनै औषधि खुवाउन दिनुभएन’ आमा गीताले सुनाउनुभयो, ‘झोल खानेकुरा खाउ बलियो हुन्छ भनेर हौसला दिएर राख्नुभयो।’
रगत परीक्षण गर्न पठाइयो। परीक्षणको रिपोर्ट आउन एकसाता लाग्ने, अस्पतालमा बसेपनि कुनै औषधि दिन नमिल्न भएकोले रिपोर्ट आएर के भएको पत्ता नलाग्दासम्म घरमै राखेपनि हुने आशय चिकित्सकले व्यक्त गरेपछि उहाँहरूले नितुलाई घर लिएर आउनुभयो।
बी एण्ड बीमा ५ दिन राखिएको थियो। यो बेला लक्षण केही परिवर्तन भएका थिए। ज्वरो केही घटेको थियो। खटिरा रातो ढिक्का बनेको थियो। एकपत्र छाला गएर नयाँ छाला आएको थियो।
बी एण्ड बीको रिपोर्ट आएपछि डाक्टरहरूले लुपस बाथको शंका गरे। त्यसपछि जवालाखेलस्थित आरोग्य क्लिनिकमा बाथरोग विशेषज्ञ डा.बुद्धि पौडेल कहाँ पठाइयो।
भदौ १९ गते नितुलाई लिएर बुबा, आमा डा.बुद्धि पौडेल कहाँ जानुभयो। उहाँले सबै लक्षण हेरर बाथरोग नभएको सुनाउनुभयो। घर नलैजान र तत्काल अस्पताल भर्ना गर्न डा.पौडेलले सुझाव दिनुभयो। उहाँकै सल्लाहमा त्यसै दिन नितुलाई पाटन अस्पताल भर्ना गरियो।
पाटनमा लगेपछि चिकित्सकहरूले सबै हिस्ट्री सोध्नथाले। समस्याबारे अध्ययन गर्न थाले। यो डण्डीफोरको औषधिको रियाक्सन नै भएको चिकित्सकहरूले सुनाएको नितुका बुबा, आमा बताउनुहुन्छ।
उहाँहरूका अनुसार औषधिको एलर्जीबाटै देखिएको समस्यामा झन् कडा औषधि चलाएकोले समस्या बल्झिएको पाटन अस्पतालका चिकित्सकहरूले बताए।
औषधिको एलर्जी भएकाले कुनै औषधि दिन नमिल्ने भनेर दुखाइका बेला पेन किलर समेत नदिएको नितुकी आमा गीता सुनाउनुहुन्छ।
श्वास फेर्न गाह्रो भएकाले बेला अक्सिजन लगाइ दिने र प्रोटिन कम हुँदा प्रोटिन दिने मात्रै गरिएको थियो।
डाक्टरहरूले टेन डिजिजको निष्कर्ष निकाले। यो कुनै औषधिको गलत प्रतिरक्षाबाट देखिने छाला सम्बन्धि प्राणघातक रोग हो।
अवस्था निकै नाजुक भइसकेको थियो। बुबा राधेश्यामका अनुसार नितुका पछिल्ला दिन निकै पीडादायी थिए। पीडाले धेरै छलपटिनुभएको थियो। अलिअलि चलाउँदा पनि छालाबाट रगत चुहिन्थ्यो। एकापट्टी सुतेपछि अर्काेपट्टी फर्कन नमिल्ने। अस्पतालमा नितुलाई हेर्न आउने सबै त्यो दुर्दशा देखेर रुन्थे।

आइसीयू हुँदै भेन्टिलेटरमा समेत राखियो। कठिन पीडापछि भदौ ३१ गते नितु कलिलो उमेरमै सधैंका लागि अस्ताउनुभयो।
डण्डीफोरको औषधिलाई नै दोष
ख्वप अस्पतालका चिकित्सकले लेखिदिएको गलत औषधिकै कारण छोरीलाई गुमाउनुपरेको आरोप उहाँका बुबाआमाको छ।
डाक्टरहरूले मिनोसिन र एक्नेट्रेट नाममा औषधि लेखिदिएका थिए। पछि बुझ्दा यो दुवै औषधि एकै पटक प्रयोग गर्ने नमिल्ने कुरा पत्ता लागेको बुबा राधेश्यामको दावी छ।
‘हामीले चिनेको डाक्टरहरूसँग पनि बुझयौँ। गुगलमा खोजेर पनि पढयौँ' राधेश्याम भन्नुहुन्छ, ‘यो दुईवटा औषधि एकै पटक दिनै नमिल्ने रहेछ। डाक्टरलाई विश्वास गर्यौँ। घटना भइसकेपछि बुझ्दा यस्तो देखियो।’
पाटन अस्पतालले दिएको मृत्यु प्रमाण पत्रमा पनि मृत्युको कारण औषधिको गलत प्रभाव भनेर उल्लेख गरिएको छ ।

उक्त औषधि खाँदा समस्या देखिनेवित्तिकै डाक्टरहरूले चासो देखाएर औषधि खान रोकेको भए यो अवस्था नआउने भनाइ उहाँहरूको छ। नितु अस्पताल भर्ना भएका बेला डण्डीफोरको औषधिको साइड इफ्वेक्टले यस्तो समस्या भएको होकि भनेर भन्दा पनि ख्वपका डाक्टरले वास्ता नगरेको राधेश्याम बताउनुहुन्छ।
‘स्किनको औषधिको रियाक्सनलाई वास्तै गरेन टाइफाइडको कडा डोज औषधि चलाइरह्यो, झन डोज बढाइरह्यो’ राधेश्याम सुनाउनुहुन्छ।
छानबिन गरी उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग उहाँहरूको छ।
डाक्टरको लापरवाहीले आफूहरूले छोरी गुमाउनु परेकाले आगामी दिनमा त्यस्तो नहोस् भन्न र नितुलाई न्याय हुन पनि गलत औषधि लेखिदिने डाक्टरलाई कारबाही गर्नुपर्ने नितुका बुबा, आमाको जिकिर छ।
न्याय माग्दा खेरी कसैले सुनुवाइ नगरेको बरु अन्त अस्पतालमा भएको मृत्युको विषयलाई लिएर ख्वप अस्पताललाई बदनाम बनाएको भन्ने हरू समेत रहेको उहाँहरूको गुनासो छ।
दुवाल परिवारले घटनाबारे विभिन्न मिडियामा बोलेपछि हिजो ख्वप अस्पतालले स्पष्टीकरण दिँदै विज्ञप्ति निकालेको थियो।
भर्ना गरेर उपचार गर्न भन्दा भन्दै बिरामीलाई घर लगेको, आफ्नै खुसीले अस्पताल सारेको, गलत औषधि नदिएको दावी अस्पतालको छ।
अन्तै अस्पतालमा भएको मृत्युको विषयलाई लिएर नितुको परिवारले ख्वप अस्पतालको बदनाम गरेको आरोप पनि अस्पतालको छ। बिरामी लगेपछि आफन्तले ख्वप अस्पतालमा कुनै सम्पर्क नगरेको पनि विज्ञप्तिमा भनिएको छ।

पीडित परिवारले अस्पतालले विज्ञप्ति निकालेर झुट कुरा गरेको बताएको छ।
बिरामीको मृत्यु जहाँ भएपनि ख्वप अस्पतालका डाक्टरले लेखिदिएको औषधिकै कारण घटना भएकाले अस्पतालको नाम लिनुपरेको आमा गीताले स्पष्ट पार्नुभयो।
भक्तपुरका जनताको करबाट चलेको अस्पताललाई बदनाम कुनै गर्ने नभएको राधेश्याम बताउनुहुन्छ।
‘यो हामी जनताको रगत पसिनाबाट चलेको अस्पताल हो, तर मैले त छोरी गुमाएको छुनि’ उहाँ भन्नुहुन्छ, ‘गलत औषधि लेख्ने डाक्टरले सजाय नपाउने ? मेरो छोरीले अकालमा ज्यान गुमाउँदा न्याय नपाउने ?’
बी एण्ड बी देखि पाटन अस्पताल लैजाँदासम्म पनि ख्वपका डाक्टरसँग नियमित सम्पर्क भइरहेको, त्यहाँका डाक्टरदेखि अस्पतालका व्यवस्थापकसमेत पाटन अस्पतालमै हेर्न आएको राधेश्यामले जानकारी दिनुभयो।
अन्य अस्पतालको रिपोर्टहरू समेत उहाँकै भाइ नाता पर्ने डाक्टर अमरलाई भाइबारमा पठाएर जानकारी दिइरहेको उहाँले बताउनुभयो।
कुनै सम्पर्क नगरेको भनेर अस्पतालले विज्ञप्तिमा गलत लेखेको नितुको परिवारले बताएको छ।
छानबिनमा सघाउन अस्पताल तयार
घटनाबारे आफू जानकार रहेको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा.मजेश प्रताप मल्ल बताउनुहुन्छ।
घटना के भएको भनेर अनुसन्धान नै गर्नुपर्ने डा.मल्लको भनाइ छ। आफूले कसैलाई पनि तँ दोषी हो भनेर किटेर भन्न नमिल्ने उहाँले स्पष्ट पार्नुभयो।

चलाइएका औषधीहरु नमिलेका भन्ने विषयमा सम्बन्धित निकायलाई अनुसन्धान गर्ने जिम्मा दिइनुपर्ने र त्यो वैज्ञानिक आधारमा हुनपर्ने उहाँको भनाइ छ ।
पीडित परिवारले आफूलाई अन्याय पर्यो भनेर सम्बन्धित निकायमा उजुरी दिए छानबिनका लागि सहयोग गर्ने प्रतिवद्धता डा.मल्लले व्यक्त गर्नुभयो।
यसबारे जानकारी भिडियोमा
केदार गौतम
तपाईँको अभिमत