'क्यान्सरको वर्तमान अवस्थालाई नियन्त्रण नगरिए आर्यघाटमा लाश जलाउन लाइन लाग्नुपर्ने हुनसक्छ'
नेपालमा क्यान्सर रोगका कारण दैनिक ४० जनाको मृत्यु

आर्यघाटमा भिड लाग्नु राम्रो नहुने क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीले बताउनुभयो । आइतबार राजधानीमा इन्टरनेशनल नेप्लिज कम्युनिटी (आइएनसी) नामक संस्थाले गरेको एक कार्यक्रममा क्यान्सर रोगबाट मृत्युवरण भएर आर्यघाटमा भिड लाग्ने र लाइन बस्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै त्यस्तो अवस्था सिर्जना हुनु राम्रो नहुने बताउनुभएको हो ।
क्यान्सरबाट अकाल मृत्यु हुने जोखिम धेरै भएको भन्नुहुँदै आर्यघाटमा लाइन लाग्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिनुभयो । उहाँले क्यान्सर जस्तो रोगको रोकथाम गर्ने प्रयत्न नगरिए आर्यघाटमा लाश जलाउन लाइन लाग्नुपर्ने अवस्था सिर्जना हुने चेतावनी दिनुभएको हो । ‘अहिले त हामी के देख्छौँ भने एयरपोर्टमा गयो त्यहीँ भिड, बसपार्कमा गयो बसपार्कमै भिड, सब्जीमण्डीमा गयो सब्जीमण्डीमै भिड’, डा. शाहीले भन्नुभयो, ‘जहाँ गयो त्यहीँ भिड छ । यदि यो भयावह स्थितिलाई रोकेनौँ भने भोलि आर्यघाटमा पनि भिड हुन्छ, जहाँ लाइन लाग्नुपर्ने हुन्छ । आर्यघाटको भिड चाहिँ कुनै पनि अर्थमा राम्रो होइन ।’
नेपालमा प्रत्येक दिन क्यान्सरका कारण ४० जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । यसलाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूलगायत आम सर्वसाधारण जागरुक हुनुपर्ने बताउनुभयो ।
डा. शाहीले शरीरका विभिन्न अङ्मा क्यान्सर हुनसक्ने भन्दै अङ्गअनुसार लक्षण पनि फरक हुने बताउनुभयो । क्यान्सर सबै अङ्गमा लाग्न सक्ने भएकाले स्वस्थ व्यक्तिले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँले सुझाउनुभयो ।
कार्यक्रममा गायिका कुन्ती मोक्तानले क्यान्सर रोगबारे धेरै कुरा जान्न पाएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । ‘डा’सापहरूले क्यान्सरबारे धेरै कुरा बताइदिनुभयो । यसबाट डराउन नहुने रहेछ’, उहाँले भन्नुभयो, ‘रोग लाग्नै नदिने वा सुरुवाती चरण कसरी थाहा पाउने भन्ने बारे महत्वपूर्ण कुरा बताइदिनुभयो, धन्यवाद छ ।’
पछिल्लो समय आयुर्वेद चिकित्साले क्यान्सर रोग निको पार्ने भन्दै कतिपयले भ्रम फैलाइरहेको आयुर्वेद चिकित्सक तथा जनस्वास्थ्यविद् डा. प्रकाश ज्ञवालीले बताउनुभयो । त्यस्ता भ्रम फैलाउने व्यक्ति आयुर्वेद चिकित्सक हुन नसक्ने भन्दै उहाँले त्यस्ता व्यक्ति तथा संस्थालाई नियन्त्रण एवम् कारबाही गर्ने गरिएको जानकारी दिनुभयो । साथै भ्रममा नपर्न उहाँले बताउनुभयो ।
गायक यश कुमारले क्यान्सरबारे आफ्नो बुझाइ परिवर्तन भएको प्रतिक्रिया दिनुभयो । सबैले सन्तुलित भोजन, व्यायाम जस्ता क्रियाकलापबारे थप प्रष्ट हुन पाएको उहाँको भनाइ थियो । विशेषगरी कलकारहरूले स्वास्थ्यको ख्याल गर्न असहज हुने गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग सर्जन डा. उत्सवमान श्रेष्ठले पछिल्लो समय सर्वसाधारण तथा बिरामीमा चेतना आएको सुनाउनुभयो । ‘पहिले तेस्रो वा चौथो अन्तिम स्टेजमा पुगेपछि बिरामीहरू अस्पताल आउनुहुन्थ्यो । अहिले दोस्रो स्टेजमै आइपुग्नेको सङ्ख्या धेरै छ’, उहाँले भन्नुभयो ।
गायिका देविका बन्दनाले आफूले ‘केमो’ गर्दा तथा क्यान्सर अवधिमा भोगेका आफ्ना भोगाइ ‘जित्नेहरूको हाँसो’ पुस्तकमार्फत् जनचेतना होस् भनेर सार्वजनिक गरेको बताउनुभयो । उहाँले पुस्तकबाट आर्जन हुने रकम क्यान्सर पीडितलाई सहयोग गरिने जानकारी दिनुभयो ।
स्तन क्यान्सर जित्नुभएकी गायिका बन्दनालाई कार्यक्रममा सम्मान गरिएको थियो ।


तपाईँको अभिमत