जलविन्दु रोगलाई 'दृष्टिचोर' पनि भनिन्छ
मार्च १२ देखि १८ सम्म विश्व जलविन्दु सप्ताह मनाइएको छ । यस अवधिमा जलविन्दुबारे आम व्यक्तिलाई सचेतना फैलाउने कार्य गरेर मनाइन्छ । नेपालमा पनि आँखा उपचार गर्ने अस्पताल तथा यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीले जलविन्दु रोगबारे सचेतना फैलाएर मनाइएको छ।
यस सन्दर्भमा जलविन्दु रोगबारे केही कुरा गरौँ
के हाे जलविन्दु ?
जलविन्दु आँखलाई अन्धो गराउने आँखाको ठूलो रोग हो । नेपाल तथा विश्वमै यो आँखालाई अन्धो बनाउने दोस्रो वा तेस्रो रोगको रुपमा रहेको छ ।
जलविन्दुलाई अंग्रेजीमा ग्लूकोमा(Glaucoma) भनिन्छ। यो आखाको प्रेसर बढेर लाग्ने रोग हो। आँखाको प्रेसर १० देखि २० एमएमएचजी हुनुपर्छ । आँखामा aqueous humour भन्ने पानी हुन्छ । यसका कामहरु धेरै छन्। यो बन्ने र बाहिरिने क्रमको सन्तुलन नमिलेर र यो राम्रोसँग बग्न नपाउँदा आँखाको प्रसेर बढ्ने हुन्छ ।
यसरी प्रेसर बढेपछि आँखाको दृष्टिनशालाई असर पार्छ। दृष्टिनशालाई असर गरेपछि दृष्टिपरिधि क्षेत्रलाई यसले असर पु¥याउँछ । दृष्टिपरिधि क्षेत्र भिजुअल फिललाई साँघुरो बनाउछ। दृष्टि घटाउँछ।
नशामा असर गर्ने भएकैले जलविन्दुलाई अप्टिक न्यूरोप्याथी भएको पनि भनिन्छ। यो नशाकै रोग भयो ।
लक्षण कस्तो हुन्छ ?
जलविन्दुका प्रकारहरु धेरै छन् । कसैलाई जन्मजात जलविन्दु हुन्छ । जन्मजातबाहेक उमेरपुगेपछि हुने जलविन्दुलाई सामान्यतया ओपन एंलग ग्लुकोमा र क्लोज एंगल ग्लुकोमा भनिन्छ।
जन्मजात जलविन्दु एकदमै कम रहेको पाइन्छ । १० हजार जनामा एक जनामा यस्तो हुने अनुमान छ ।
प्राइमरी ओपन एंगल जलविन्दु विश्वका विभिन्न ठाउँमा हेर्दा कुल जनसंख्याको १ देखि २ प्रतिशतमा रहेको पाइन्छ । सबैभन्दा बढी पीओएनजी नै हुन्छ ।
जुन भएपनि यसको लक्षणहरु उस्तै हुन्छन्। जलविन्दुलाई दृष्टिचोर पनि भनिन्छ।
सुरुमा यो रोगका खासै लक्षणहरु देखिँदैन। आँखाको प्रेसर बढिरहेको हुन्छ । आँखाको नियमित परीक्षण गर्ने चलन एकदमै कम छ । निकै असर गरिसकेपछि मात्रै यो थाहा पाउने पनि हुनसक्छ।
सुरु सुरुमा केही हुँदैन। पछि यसले धेरै असर पार्न थालेपछि कसैलाई टाउको दुख्ने, दृष्टिक्षेत्र घटेर हिँड्दा, सवारी चलाउँदा दायाँ बायाँ रहेका अवरोधहरू नदेखिएर ठोक्किने पनि हुन्छ ।
बत्तिहरुमा हेर्दा यसमा रंगीचंगी इन्द्रेणीजस्तो घेरा देखिने पनि हुन्छ । चस्मा लगाउने मान्छे छ भने उसको चस्माको पावर छिटो–छिटो बदल्नु पर्ने हुन्छ।
दृष्टि मधुरो हुँदै जाने एंगल क्लोजर भइसकेको छ भने धेरै टाउको दुख्ने, बान्ता हुने लक्षण देखिन्छ । दृष्टि अकस्मात घट्ने, आँखा रातो हुने हुन्छ । सेन्टर भिजनलाई पछि असर गर्छ ।
नेपालमा के छ अवस्था ?
नेपालमा जलविन्दुका बिरामी यति नै छन् भनेर कसैले गरेको अनुसन्धान खासै छैन । तर पनि ट्रेण्डलाई हेर्दा कुल जनसंख्यामा १ प्रतिशतलाई जलविन्दु रहेको मान्न सकिन्छ । अस्पतालमा उपचारका लागि आउनेमा जन्मजात जलविन्दुहरु पनि केही संख्यामा छन् । तर धेरै संख्या प्राइमरी ओपन एंगल ग्लुकोमा(पीओएजी) नै हुन्छ ।
यसपछि प्राइमरी एंगल क्लोजर ग्लुकोमा हुन्छ । यी दुवै भेराइटीका बिरामी अस्पतालमा आउँछन् । नेपालमा मोतियाविन्दुपछि अन्धो बनाउने दोस्रो रोग जलविन्दु हो ।
उपचार कसरी हुन्छ?
के हुन्छ भने यो रोग लागेर आँखाको जति क्षति पुगेको हुन्छ, यो फर्काउन सकिँदैन । पत्ता लाग्दा जति क्षति भएको छ, यसलाई बढ्न नदिने हो । यसले अरु थप हानी नगरोस् भनेर उपचार सुरु गर्ने हो ।
यस कारणले पनि जति छिटो पत्ता लाग्यो उति छिटो आँखाको दृष्टि बच्न हुन्छ । प्रायगरी ४० वर्ष उमेर नाघेका व्यक्तिमा यो देखिन्छ । त्यो उमेरका व्यक्तिले ६–६ महिना वा १–१ वर्षमा आँखा नियमित जचाउनु पर्ने हुन्छ । यसो गर्दा जलविन्दुको समयमै पत्ता लाग्छ । उपचार राम्रो हुन्छ ।
जलविन्दु गराउने अन्य कारक स्वास्थ्य समस्या पनि हुन्छन् । मधुमेह भएका, उच्चरक्तचाप भएका, स्टोराइट नामको औषधि लामो समयसम्म प्रयोग गरेका, थाइराइडको समस्या भएका व्यक्तिलाई जलविन्दु हुने सम्भावना बढी हुन्छ। डर चिन्ता बढी लिने व्यक्ति, तनावमा रहने व्यक्तिलाई पनि जलविन्दु हुने जोखिम बढी हुन्छ ।
जलविन्दुको जोखिम कम गर्ने यी रिक्स फ्याक्टरलाई नियन्त्रण गर्नु आवश्यक छ । यसले जलविन्दुको सम्भावना कम हुन्छ ।
उपचारको कुरा गर्दा जन्मजात जलविन्दु पत्ता लागेपछि जतिसक्यो छिटो अप्रेसन गर्नुपर्ने हुन्छ ।
पछि हुने जलविन्दुलाई पनि पहिला प्रेसर घटाउनु पर्यो । आँखाको प्रेसर सामान्यतया १० देखि २० एमएमजीएच हुनेपर्नेमा २४–२५ भइरहेको हुन्छ । त्यो भन्दा पनि बढी भएको हुन्छ ।
प्रेसर घटाइसकेपछि यसले आँखाको दृष्टिनशालाई थप असर गर्नबाट जोखिन्छ । यसलाई नियन्त्रण गर्न सुरुमा आइड्रपहरू हालेर उपचार गरिने हुन्छ ।
ड्रपले नियन्त्रणमा आएन भने ट्याब्लेट खुवाएर र त्यतिले पनि नियन्त्रणमा आएन भने नशामार्फत इन्जेक्सन दिएर पनि घटाउनु पर्ने हुन्छ ।
आँखाको कोणहरु बन्द भएका छन् भने । अप्रेसन गरेर उपचार गर्नुपर्ने हुन्छ ।
यो बढेपछि यसले स्नायुमा असर गर्दै लान्छ ।
जलविन्दुका रोगीले कस्तो सावधानी अपनाउनुपर्छ ?
यो रोग लागेको पत्ता लागेपछि चिकित्सकले भनेबमोजिम नियमित परीक्षण गराइरहनुपर्छ । दृष्टिक्षेत्र पहिलो के थियो अहिले के छ भनेर हेरिरहनुपर्छ हुन्छ ।
आँखाको प्रेसर कति नियन्त्रणमा आयो भन्ने पनि परीक्षण गरेर जानकारी लिइरहनुपर्छ ।
अर्कोमा उसको लक्षण कस्तो देखाइरहेको छ, पहिलोको भन्दा सुधार भएको छकि छैन भनेर पनि थाहा पाइरहनुपर्ने हुन्छ । नियमित फालोअप र प्रेसर नियन्त्रण नै यसको मुख्य सावधानी हो ।
यो रोग लाग्नबाट कसरी जोगिने ?
परिवारमा रगतको नाताभित्र जलविन्दु भएका व्यक्तिलाई यो यसको जोखिम बढी हुन्छ । त्यस्तो हुँदा परीक्षण गराएर आफ्नो अवस्था बुझ्नु पर्ने हुन्छ।
आँखाको माइनस पावर ६ भन्दा बढी भएकालाई पनि जलविन्दुको जोखिम बढी हुन्छ ।
यो भनेको साइलेन्ट किलर अफ भिजन हो त्यसैले बिरामीलाई काउन्सलिङको जोखिम पनि हुन्छ । एंगल क्लोजर ग्लुकोमा अकस्मात पनि हुनसक्छ । धेरै टाउको दुख्ने, अकस्मात वान्ता हुने आँखाको दृष्टि धमिलो हुने, रातो हुने भएमा तुरुन्तै अस्तपाल लगि हाल्नुपर्छ ।
यस्तो बेला २४ वा ४८ घण्टाभित्र उपचार सुरु भएन भने मान्छे अन्धो नै हुने सम्भावना पनि रहन्छ । यस्तो समस्या हुने मान्छेहरु कम छन् ।
तर सचेत भने हुनुपर्छ ।
जस्तो मधुमेह, उच्चरक्तचाप, थाइराइड जस्ता जलविन्दु गराउने कारकहरूबाट बच्नु पनि यो रोग लाग्न नदिनु हो ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत सहप्राध्यापक दृष्टिरोग विशेषज्ञ डा.भट्टराईसँग गरिएको कुराकानीमा आधारित
डा.सञ्जीव भट्टराई
तपाईँको अभिमत