कोभिडको समयमा प्रयोगशालाहरूले कस्ता चुनौती भोग्नुपर्यो ?

स्वास्थ्य तथा जनसंख्या राज्मन्त्री भवानीप्रसाद खापुङले पोस्टरको अवलोकन गर्नुहुँदै
कोभिड-महामारीका बेला कोरोना परीक्षण गर्ने नेपालका सरकारी तथा निजी प्रयोगशालाहरूले कामका दौरान प्राप्त गरेका अनुभव समेटेर पोस्टर प्रदर्शन गरेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा भएको पोस्टर प्रर्दशनमा ८२ वटा प्रयोगशालाको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कोभिडले प्रयोगशालाको महत्व दर्शाएको र प्रयोगशालाको बिस्तार भएको चर्चा गर्नुभयो । कार्यक्रममा राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा.रुणा झाले कोभिडको समयमा रातदिन नभनी खटिएका प्रयोगशालाकर्मीको प्रशंशा गर्नुभयो ।
प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले पोस्टरमा कोभिडको समयमा कसरी काम गरियो, कस्ता प्रविधिको प्रयोग भयो, के कस्ता कठिनाइ र चुनौती झेल्नुपर्यो, परीक्षणलाई निरन्तरता कसरी दिने भन्ने लगायतका विषयमा खुलाइएको जानकारी दिनुभयो ।

यस्तै पोस्टरमा अधिकांश प्रयोगशालाले जनशक्तिको अभाव झेल्नुपरेको खुलाएका छन् । जनशक्तिको अभाव हुँदा धेरै समय कार्यक्षेत्रमा खटिनुपर्दा तनाव झेल्नुपरेको उनीहरूले उल्लेख गरेका छन् ।
यस्तै नमुना संकलन गर्ने स्वास्थ्यकर्मी र प्रयोगशालाका स्वास्थ्यककर्मीबीच समन्वय हुन नसकेको अनुभव प्रयोगशालाले प्रस्तुत गरेका छन् । नमुना संकलन गर्ने तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्ने स्वास्थ्यकर्मीको परिवारमा उनीहरुबाटै संक्रमण फैलने उच्च जोखिममा रही काम गर्नुपरेको पनि प्रयोगशालाकर्मीहरुले जानकारी दिएका छन्। केही प्रयोगशालाले कोभिडका समयमा काम गर्दा विद्युत आपूर्ति नियमित नभएको र कार्यस्थल साँघुरो भएको पनि जनाएका छन् ।

पीसीआर रिएजेन्ट तथा कीट अभाव भएको, धेरै स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा काम प्रभावित भएको, लामो समयसम्म पीपीई लगाएर काम गर्दा असहज भएको पोस्टरमा उल्लेख गरिएको छ। छिटो रिपोर्ट दिन नसक्दा बिरामी र बिरामीका आफन्त रिसाउने गरेको लगायतका आफ्नो समस्या र चुुनाैतीलाई प्रयोगशालाहरुले जनाएका छन् ।
चुनौती र जोखिमका बीच प्रयोगशालाहरुमा टिमवर्क राम्रो रहेको उनीहरुको बताएका छन् । पोस्टर प्रदर्शनी आज साँझ ६ बजेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्राङ्गणमा चल्नेछ । कार्यक्रमको संयोजन प्रयोगशाला लेखापाल लेखनाथ भट्टराईले गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत