सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीहरूको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन्।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले आइतबार आयोजना गरेको अन्तरसंवाद तथा प्यानल छलफल कार्यक्रममा सहभागी महिला नेतृहरूले सुर्ती नियन्त्रण अभियानमा संयुक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रमको सुरुवात गर्दै सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले महिलालाई सुर्ती सेवनतर्फ आकर्षित गर्न उद्योगहरूले विभिन्न रणनीति अपनाइरहेको बताउनुभयो । सामाजिक सञ्जाल, चलचित्र तथा नयाँ प्रविधिमा आधारित ई–सिगरेट र भेप संस्कृतिमार्फत महिलामा सुर्ती सेवनलाई सामान्य र आधुनिक जीवनशैलीको रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो। उहाँले सुर्ती नियन्त्रणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र उद्योगी हस्तक्षेपविरुद्ध महिलाको सशक्त भूमिका आवश्यक रहेको बताउनुभयो ।
वक्ताहरूले सुर्ती उद्योगले सामाजिक सञ्जाल, जीवनशैली, मार्केटिङ, आकर्षक प्याकेजिङ तथा स्वादयुक्त उत्पादनमार्फत विशेषगरी युवतीहरूलाई लक्षित गर्दै बजार विस्तार गरिरहेको बताएका छन्। नेपालमा महिलामा सुर्ती प्रयोग पुरुषको तुलनामा कम भए पनि पछिल्ला वर्षहरूमा विशेषगरी शहरी युवतीहरूबीच भेप र ई–सिगरेटप्रति आकर्षण बढ्दै गएको संकेत देखिएको उनीहरूको भनाइ थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंहले धूम्रपानलाई स्वतन्त्रता र आधुनिक जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नु सुर्ती उद्योगको दीर्घकालीन मार्केटिङ रणनीति भएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले महिलामा सुर्ती सेवनको असर गम्भीर हुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार धूम्रपानले क्यान्सर, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउनुका साथै गर्भावस्थामा समेत गम्भीर समस्या निम्त्याउन सक्छ। गर्भवती महिलाले सुर्ती सेवन गर्दा गर्भपतन, कम तौलका शिशु जन्मिने तथा समयअघि प्रसूति हुने जोखिम बढ्ने विशेषज्ञहरूले बताएका छन्।
गैरसरकारी संस्था महासंघकी पूर्व अध्यक्ष सर्मिला कार्कीले सुर्ती उद्योगले कर वृद्धि रोक्ने, कानुन कार्यान्वयन कमजोर बनाउने तथा नयाँ उत्पादनमार्फत बजार विस्तार गर्ने प्रयास गर्दै नीति निर्माण प्रक्रियामै प्रभाव पार्न खोज्ने गरेको बताउनुभयो ।
वातावरणविद् डा. अनुसुया जोशीले नेपालमा सुर्ती नियन्त्रणसम्बन्धी कानुन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै सार्वजनिक स्थानमा धूम्रपान नियन्त्रण, बिक्री व्यवस्थापन तथा सामाजिक सञ्जालमार्फत हुने अप्रत्यक्ष प्रचार रोक्न कडा कदम आवश्यक रहेको बताउनुभयो। उहाँले सुर्ती सेवनले मानव स्वास्थ्यसँगै वातावरणमा पनि गम्भीर क्षति पुर्याइरहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले सुर्ती नियन्त्रणका लागि सरकार, नागरिक समाज, स्वास्थ्य तथा सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनीहरूले कर वृद्धि, स्वादयुक्त उत्पादनमा नियन्त्रण र युवालाई लक्षित प्रचार रोक्नुपर्नेमा जोड दिएका छन्।
वक्ताहरूले महिला सशक्तीकरण र सुर्तीमुक्त समाजबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै महिलाको नेतृत्व र सामूहिक प्रयासबाट सुर्तीमुक्त समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका छन्।
हेल्थपाटी
तपाईँको अभिमत