राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल : इतिहासदेखि वर्तमानसम्म
-रामचन्द्र मिश्र
राणा शासन सुरुवात हुनु भन्दा पहिलेदेखि नै नेपालमा आधुनिक चिकित्सा प्रणालीको प्रयोग हुन थालेको पाइन्छ । २००७ सालको परिवर्तन भन्दा केही पहिलेदेखि मध्यम तथा निम्न स्तरका स्वास्थ्य सेवा प्रदायकहरुको आवश्यकता महसुस गरिएको देखिन्छ । राज्य पक्षबाट यस प्रकारको जनशक्तिको उत्पादन गर्ने, खोजी गर्ने तथा सेवामा प्रवेश गराउने कार्यको सुरुवात गरेको पाइन्छ ।
सुरुका चरणदेखि नै अन्य विधाका पेशाकर्मीहरुले जस्तै स्वास्थ्य स्वास्थ्य क्षेत्रमा पनि पेशागत विभेद, लैङ्गिक विभेद, सेवा सुविधामा असमानता जस्ता समस्या थियो नै ।
यस्ता विभेदविरुद्ध स्वास्थ्यकर्मीहरु औपचारिक तथा अनौपचारिक रुपमा संगठित भई संघर्षरत रहँदै आए।२००७ सालमा राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना त भयो, तर २०१७ सालमा फेरि खोसियो । पञ्चायती शासन सुरु भएपछि स्वास्थ्यकर्मीले आफूमाथि हुने गरेको विभेद र अन्यायविरुद्ध मात्रै नभएर राज्यको निरंकुशता, अन्याय, दमनविरुद्ध समेत आवाज उठाए ।
त्यसो गरेबापत कतिपय स्वास्थ्यकर्मीहरुले राज्य पक्षबा यातना तथा जेल सजाय समेत भोग्नु परेको नमिठो यथार्थ इतिहासमा दर्ज छ ।नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ, नेपाल चिकित्सक संघ, नेपाल औषधी व्यावसायी संघ जस्ता संगठनहरु पञ्चायतकालीन अवस्थामा स्थापित भई हालसम्म क्रियाशिल छन् ।
२०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्य भई २०४७ मा नयाँ संविधान जारी भयो । नेपालको संविधान २०४७ ले प्रत्याभुत गरेको मौलिक हक अन्तर्गत विभिन्न धर्म, संस्कृती, समुदाय, वर्ग र पेशामा आवद्ध नागरिकले सामूूहिक हितका लागि संगठित हुन पाउँने व्यवस्था भयो ।
स्थापना तथा पहिलो महाधिवेशन
२०४६ सालको परिवर्तन र २०४७ को नयाँ संविधानसँगै वैचारिक सिद्धान्त तथा राजनीतिक दर्शन सहितका संघ–संगठनको आवश्यकता महसुस हुन थाल्यो । यसै परिप्रेक्षमा वाम विचारधारा अंगिकार गर्ने तथा जनताको बहुदलीय जनवादलाई राजनैतिक दर्शनको रुपमा स्वीकार गर्ने स्वास्थ्यकर्मीहरुले विशेषज्ञ चिकित्सकदेखि महिला स्वास्थ्य स्वयमसेविका समेत अटाउने बृहत जनसंगठनको आवश्यकता महसुस गर्न थाले ।
जसको फलस्वरुप लामो छलफल, परामर्श, पूर्वतयारी तथा गृहकार्य पश्चात २०६२ साल जेष्ठमा 'राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल' को स्थापना भयो । डा. विदुर वस्तीको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन भयो।
साथै जिल्ला स्तरमा सदस्यता विस्तार तथा तदर्थ कमिटीहरु गठन गर्ने जस्ता सांगठानिक गतिविधिले तीब्रता पायो। संगठनका अगुवाहरुको निरन्तर सक्रियताको फलस्वरुप स्थापनाको १ वर्षभित्र २०६३ साल जेठमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको प्रथम महाधिवेशन सम्पन्न भयो । जुन महाधिवेशनबाट डा. विदुर वस्तीको अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय समिति निर्वाचित भयो ।
ट्रेड युनियनको रुपमा दर्ता
पहिलो महाधिवेशनबाट राष्ट्रिय समिति गठन भएसंगै संगठनका गतिविधिमा तिव्रता आयो । साधारण तथा आजीवन सदस्यता विस्तार एवम नवीकरणको काम अघि बढ्यो । ७५ वटै जिल्लामा जिल्ला कमिटी निर्माण गर्ने, विभिन्न विभागीय कमिटी, विशेष जिल्ला कमिटी स्थापना गर्ने काम अघि बढ्यो ।
आवद्ध पेशाकर्मीहरुको व्यक्तिगत तथा पेशागत समस्याको समाधानका लागि संगठित प्रयास गर्ने, सदस्यहरुलाई वैचारिक तथा सैद्धान्तिक प्रशिक्षण दिने जस्ता रचनात्मक कार्यले निरन्तरता पायो ।
श्रम ऐन बमोजिम २०६५ साल असार ११ गतेका राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाललाई स्वास्थ्यकर्मीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियनका रुपमा श्रम विभागमा दर्ता गर्ने कार्य समेत भयो ।
दोश्रो महाधिवेशन
विशेष परिस्थितिका कारण पहिलो महाधिवेशनबाट निर्वाचित राष्ट्रिय समितिलाई २०६७ साल असोज २ गते पुनर्गठन गरी डा. रामकुमार अधिकारीको संयोजकत्वमा दोश्रो महाधिवेशन आयोजक कमिटी बनाइयो । उक्त आयोजक कमिटीले २०६७ फागुन ६ र ७ गते काठमाडौँमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको दोश्रो महाधिवेशन गर्यो ।
उक्त दोश्रो महाधिवेशनबाट भक्तिमान सुब्बाको अध्यक्षमा ५५ सदस्यीय राष्ट्रिय समिति चयन भयो । उक्त केन्द्रीय समितिले लगभग ४ वर्ष संगठनको नेतृत्व गर्दे २०७१ मा तेश्रो महाधिवेशन सम्पन्न गर्यो ।
तेश्रो महाधिवेशन
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको तेश्रो महाधिवेशन २०७१ मंसिर १९ देखि २१ सम्म दाङको घोराहीमा सम्पन्न भयो । तेश्रो महाधिवेशनले अध्यक्षमा भक्तिमान सुब्बालाघ निर्वाचित गर्दै ७७ सदस्यीय राष्ट्रिय समिति बनायो ।
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता भएपश्चात दुवै दलका जनसंगठनबीच एकता नभएसम्म जनसंगठनहरुले महाधिवेशन लगायतका गतिविधि सथगन गर्न पार्टीले निर्देशन दिएको थियो ।
यसले गर्दा कारण संगठन विस्तार, बैठक तथा अन्य गतिविधी तथा महाधिवेशन समेत प्रभावित बन्न पुग्यो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण भंग भई पूर्ववत: अवस्थामा फर्किएपश्चात संगठन आफ्नो लयमा फर्कनै लागेको अवस्थामा कोभिड-१९ महामारीलेसांगठानिक गतिविधिमा अवरोध पुर्यायो।
सहकर्मीहरुसंगको सम्मिलन
समान राजनैतिक झुकाव, पृष्ठभुमी तथा दर्शन अंगिकार गरेका मात्र नभई पार्टीका विभिन्न कमिटीहरुमा महत्वपूर्ण जिम्मेवारी समेत वहन गरिरहेका कतिपय अगुवा स्वास्थ्यकर्मीहरु मित्रहरु “स्वास्थ्यकर्मी युनियन नेपाल” नामको छुट्टै पेशागत संगठनमा आवद्ध हुनुन्थ्यो ।
“राजनैतिक दर्शन विना पनि पेशागत संगठनहरु अस्तित्वमा रहन सक्दछन” भन्ने मानसिकता रहेको, आफुहरुले अंगिकार गरेको राजनैतिक दर्शन तथा विचारधाराका विषयमा उक्त संगठन मौन तथा उदासिन रहेको र पटक पटकका आन्तरिक छलफलहरुमा समेत उक्त संगठनको मुल नेतृत्व तत्कालिन अवस्थामा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालसंग समाहित हुन नचाहेको देखियो ।
यो अवस्थामा उक्त संगठनको औचित्य नरहेको तथा समान दर्शन र विचारधारा अंगिकार गरेको संगठन “राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल” हुँदा हँुदै अर्को कुनै पनि संगठनमा रहि रहन नैतिक रुपमा उचित नभएको ठहर गरियो । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालसंग आवद्ध हुन चाहनहुने सहकर्मीहरुसंग विभिन्न चरणहरुमा र विभिन्न तहहरुमा भएका छलफलहरुको परिणम स्वरुप २०७३ मंसिर १३ गते तत्कालिन स्वास्थ्यकर्मी युनियन नेपालका केन्द्रिय उपाध्यक्षको नेतृत्वमा ९ जना केन्द्रिय पदाधिकारी तथा सदस्य, झापा जिल्ला कार्यसमितीका अध्यक्ष, पदाधिकारी एवम सदस्यहरु र ५४० जना साधारण सदस्यहरु उक्त स्वास्थ्यकर्मी युनियनवाट विद्रोह गरी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा समाहित भयो ।
यसरी विद्रोह गरेर आउनेहरुमध्ये ९ जना केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाइ पेशागत महासंघ नेपालको कार्यालय काठमाण््डौमा तत्कालिन मोर्चा प्रमुख गोकर्ण विष्टबाट स्वागत गरियो भने स्वास्थ्यकर्मी युनियन नेपालका झापा जिल्ला अध्यक्ष भरत खतिवडा सहितको सिंगो जिल्ला कार्य समितीलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्य समितीका अध्यक्ष संयोजक र स्वास्थ्यकर्मी युनियन नेपाल झापा जिल्ला कमिटीका अध्यक्ष सह–संयोजक रहने गरी दुवै जिल्ला कमिटीलाई एकिकरण गरियो ।
आफ्नो संगठनका वरिष्ठ उपाध्यक्ष सहितको ठूलो समुह राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा समाहित भएको लगभग २ वर्षपछि स्वास्थ्यकर्मी युनियन नेपालका अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी युनियन नेपालको केन्द्रिय कार्य समिती सहित सिंगै स्वास्थ्यकर्मी युनियन नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा समाहित भयो ।
कर्मचारी समायोजन र संगठनको भूमिका
यस अवधिमा कर्मचारीहरुको समायोजन गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको समेत तीन तहका सरकारमा समायोजन गर्ने कार्यसम्पन्न भयो । कर्मचारी समायोजनसँगै राज्य पुर्नसंरचनाको कार्यभार पूरा भएको घोषणा गरियो ।
यस क्रममा धेरैजसो कर्मचारीहरुको समायोजन आफूले रोजेकै तहमा भयोे । तर रोजेको तहभन्दा फरक मात्र नभई विल्कुलै अपायक स्थानमा समायोजन गरी धेरै स्वास्थ्यकर्मीमाथि अन्याय गरिएको थियो । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालले उपाध्यक्ष श्री जगत नेपालीको संयोजकत्वमा समिति नै बनाएर समायोजनबाट पीडित सहकर्मीलाई पर्न गएको समस्याको न्यायोचित समाधानका लागि काम गर्यो ।
स्वास्थ्य मन्त्रालय तथा अन्य सरोकारवाला निकायमा पहल, सहकार्य तथा दबाब सिर्जना गरी मर्कामा पारिएका स्वास्थ्यकर्मीहरुलाई न्याय दिलाउन हर–सम्भव प्रयत्न समेत गरेको हो ।
तर पनि विविध कारणले गर्दा शतप्रतिशत परिणाम आउने गरी भूमिका निर्वाह गर्न सम्भव थिएन । पीडित स्वास्थ्यकर्मीहरुको अपेक्षा पूर्ण रुपमा सम्बोधन हुन नसक्दा त्यस समय संगठन नेतृत्व तथा सदस्यहरूमा चरमनैराश्यता उत्पन्न हुन पुगेको थियो । पूवाग्रही ढंगबाट गरिएको समायोज विरुद्ध संगठनले जुन ढंगको दवाव सिर्जना गर्न सक्नु पर्थ्यो त्यो गर्न सकिएन ।
कर्मचारी समायोजन र यसबाट सिर्जित परिस्थितिको सम्बोधनका लागि संस्थागत ढंगबाट आउने गुनासो सम्वोधन नै नहुने तर व्यक्तिगत पहुँचको आधारमा भने काम हुने गरेको भन्ने हल्ला चलिरहेको थियो ।
त्यस अवस्थामा संगठनले मन्त्रालयमा आफ्नो सशक्त उपस्थिति तथा भूमिका देखाउन सकेन । कर्मचारी समायोजन र यसबाट उत्पन्न भएको जटिलता व्यवस्थापनमा संगठन निरन्तर क्रियाशिल रहँदै आंशिक सफलता प्राप्त गरेको भएपनि पेशागत सुरक्षाको दृष्टिकोणबाट हेर्दा त्यो क्रियाशिलता र सफलता पर्याप्त थिएन कि भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
आगामी बाटो
स्थापनाको १५ वर्षमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालले आफूलाई अब्बल, महत्वपूर्ण र अपरिहार्य संगठनको रुपमा सावित गरिसकेको छ । संगठनको गरिमालाई अझ उँचो बनाउदै लेजाने हो भने विशेषज्ञ चिकित्सकदेखि महिला स्वास्थ्य स्वयमसेविकासम्म सबै तह, विधा र समूहका स्वास्थ्यकर्मीहरुको भरोसा र विश्वासको केन्द्रका रुपमा संगठनलाई मजवुद बनाउदै लैजानेतर्फ संगठन नेतृत्व प्रतिवद्ध र क्रियाशील रहनु पर्दछ ।
संगठनलाई जनस्तरसम्म पुर्याउनका गाउँ, नगर तथा वडा तहसम्म कमिटी निर्माण गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रभित्र रहेका फरक-फरक समूहका सदस्यमा फरक र विशिष्ट प्रकारका पेशागत समस्याहरु छन । ती समस्याको व्यवस्थित, वैज्ञानिक र दिर्घकालीन व्यवस्थापनका लागि संगठन निरन्तर प्रतिवद्ध रहनु पर्छ ।
स्वास्थ्य सेवालाइ जनताको मौलिक हकका रुपमा नेपालको संविधानले प्रत्याभुत गरेको छ ।
जनताको सेवामा दत्तचित्त भएर समर्पित हुन र आम नागरिकहरुको विश्वास जित्नका लागि आफ्ना सदस्यहरुलाई उत्प्रेरित गर्ने र सक्षम बनाउनेतर्फ संगठनको ध्यान जानु जरुरी छ ।
निजी अस्पताल, प्रतिष्ठान, कम्पनीहरुमा काम गर्ने, निजी प्राक्टिस गर्ने, सरकारी सेवामा काम गर्ने, तथा निस्वार्थ स्वयमसेवा गर्ने स्वास्थ्यकर्मीहरुलाई आइ पर्ने सबै प्रकारका समस्या समाधानका लागि योजना बनाउनु पर्दछ ।
मिटिङ तथा बैठकमा हुने लम्वेतान भाषण तथा अन्य कर्मकाण्डी प्रचलनल निरत्साहित गर्दै छरितो , सामयिक र उद्देश्यमूलक बनाउनु पर्छ ।
समग्रमा, सम्पूर्ण सदस्यहरुले आफ्नोपन महसुस गर्ने, माया र विश्वास गर्ने संस्थाको रुपमा संगठनलाई स्थापित गर्ने नेतृत्व र सम्पूर्ण सदस्यहरुको ध्यान केन्द्रित हुनु जरुरी छ ।
(लेखक राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । )
तपाईँको अभिमत