नेपाली नर्सलाई साउदीमा अवसर, मासिक तलब २ लाखसम्म
साउदीमा नेपाली नर्सका लागि राम्रो रोजगारीको अवसर आएको छ । नर्सका लागि नयाँ गन्तव्य बन्दै गएको साउदीस्थित साउदी बेस मल्टि नेसनल हस्पिटल ग्रुपको डा. सुलिमान अल हबिब हस्पिटल ग्रुप एचएमजीले यो वर्ष २०० नेपाली नर्स माग गरेको छ ।
मनास्लु इन्टरनेशनल सर्भिसले साउदीमा नेपाली नर्सलाई अवसरबारे जानकारी दिन आयोजना गरेकाे पत्रकार सम्मेलनमा उक्त हस्पिटलमा कामका लागि जान चाहने नर्सहरुले डकुमेन्ट खर्च बाहेक अन्य खर्च व्यहोर्न नपर्ने जानकारी दिएकाे छ ।
सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले अस्पतालले एक वर्षको आउन जान टिकट, आवास, शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने बताउनुभयो । नर्सहरूको लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च पनि अस्पतालले नै व्यहाेर्नेछ ।
नर्सहरुका लागि नर्सिङमा आफ्नो करियर सुरु गर्ने र विश्व स्तरीय अस्पतालमा बहुमूल्य अनुभव प्राप्त गर्ने यो उत्कृष्ट अवसर रहेको श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अङ्ग्रेजी भाषा राम्रो भएको, कम्युटरको ज्ञान भएको, २१ वर्ष उमेर पुगेको नर्सले आवेदन दिनसक्ने छन् । यसरी जाने नर्सहरुले मासिक १ लाख २० हजारदेखि २ लाख पाउने श्रेष्ठले जानकारी दिनुभयो।
हाल साउदीका विभिन्न अस्पतालहरूमा ६०० नर्सहरू कार्यरत रहेको पनि श्रेष्ठले बताउनुभयो ।
डा. सुलिमान अल हबिब हस्पिटलले विगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी दिँदै आएको छ । साउदी सरकारको मापदण्ड अनुसार नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ ।
अस्पतालले आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र उनीहरूलाई राम्रोसँग हेरचाहको सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ ।
कार्यक्रममा साउदीको अस्पतालहरुमा कार्यरत नर्सहरुकाे पनि सहभागिता थियाे । उनीहरुले आफूले मासिक तलव २ लाख सम्म कमाएकाे जानकारी गराएका थिए । उनीहरुले नेपालमा रोजगारीको अवसर नपाएपछि विदेसिन बाध्य भइरहँदा अष्ट्रेलिया, वेलायत, अमेरिकामा जान लाखौं खर्चन परिरहेकाे अवस्थामा साउदीमा थोरै खर्चमा जान पाउनु राम्राे अवसर रहेकाे बताए ।
सन् २०१९ बाट नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालमा कार्यरत छन् ।
हेल्थपाटी
तपाईँको अभिमत