नेपालमा वर्षेनी २० हजार बढी क्यान्सरका बिरामी थपिदै, कारक सूर्तिजन्य पदार्थ
सूर्तिजन्य पदार्थको लाग्दै आएको कर न्यून रहदा यसको प्रयोगमा वृद्धि भइरहेको छ
काठमाडौं । नेपालमा वर्षेनी २० हजारभन्दा बढी क्यान्सरका बिरामी थपिदै गएको तथ्यांकले देखाएको छ । साथै, १३ हजार ६२९ मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा राजधानीमा गरेको कार्यक्रममा संस्थाका कार्यवहाक अध्यक्ष महेश श्रेष्ठले नेपालमा वर्षेनी २० हजार ५०८ क्यान्सरका बिरामी थपिदै गएको अध्ययनहरुले देखाएको जानकारी दिनुभएको हो ।
उहाँले क्यान्सर गराउने प्रमुख कारक तत्व सूर्तिजन्य पदार्थको प्रयोग रहेको बताउँदै सूर्तिजन्य पदार्थको करमा वृद्धि गरे यसको प्रयोगमा कमी आउने उल्लेख गर्नुभयो । ‘सूर्तिजन्य पदार्थको लाग्दै आएको कर न्यून रहँदा यसको प्रयोगमा वृद्धि भइरहेको छ,जसका कारण क्यान्सरका बिरामी पनि बढिरहेका छन्, श्रेष्ठले भन्नुभयो कडाईका साथ सूर्तिजन्य पदार्थको करलाई वृद्धि गर्नुपर्छ । ’
श्रेष्ठले सूर्तिजन्य पदार्थमा शतप्रतिशत कर बृद्धिका लागि दवाबमुलक हस्ताक्षर संकलन गरि विश्व क्यान्सर दिवसका दिन सरकारलाई बुझाउने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । हरेक वर्षको फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस मनाइने गरिन्छ । यसवर्ष 'म हुँ र म गर्छु' भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाइदैछ ।
अर्बुद रोग निवारण संस्थाले माघ २१ गते सूर्तिजन्य पदार्थ नियन्त्रण तथा कर बृद्धि सम्बन्धि नीति कार्यान्वयनको प्रभावकारीता विषयक कार्यशाला गोष्ठि गर्दैछ । यस्तै दिवसका दिन क्यान्सरका कारण मृत्यु भएकाहरुको सम्झना तथा उपचाररत क्यान्सर रोगका बिरामीको स्वास्थ्यलाभको कामना गर्दै पशुपति मन्दिरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेकाे श्रेष्ठले जानकारी दिनुभयो ।
विश्वमा हाल १ करोड ९२ लाख ९२ हजार ७८९ नयाँ क्यान्सर रोगीहरु रहेको र त्यसमध्ये करिब ९९ लाख ५८ हजार १३३ मानिसको मृत्यु भएको जानकारी कार्यक्रममा दिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत