बालबालिकाका लागि मात्र उत्पादित मन्जनमा समेत मानव स्वास्थ्यलाई हानि गर्ने सिसा भेटियो, सिन्दूर सबैभन्दा जोखिमयुक्त
दाँत माझ्ने मन्जनमा मानव स्वास्थ्यलाई हानि गर्ने लेड अर्थात् सिसा पाइएको छ । जनस्वास्थ्य र वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले गरेको पछिल्लो अध्ययनमा यस्तो पाइएको हो ।
बालबालिकाका लागि मात्र उत्पादिन मन्जनमा पनि सिसाको मात्रा पाइएको हो । अध्ययनले सबभन्दा जोखिमयुक्त सिन्दूर रहेको देखाएको छ । सिन्दूरका ४० नमुनामध्ये १६ वटा नमुनामा १२४.७३ पीपीएमसम्म सिसाको मात्रा पाइएको छ । मन्जनका कुल ३१ नमुनामध्ये १४ वटा अर्थात् ४५.१६ प्रतिशतमा सिसाको मात्रा पाइएको छ ।
केन्द्रले १०० वटा सौन्दर्य साधनहरूमा गरेको नमुना अध्ययनमा यस्तो पाइएको हो । केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहका अनुसार गाजल, सिन्दूर र मन्जनका १०० वटा नमुना सङ्कलन गरी अध्ययन गरिएको थियो ।
बिहीबार राजधानीमा एक कार्यक्रम गरी अध्ययनको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
‘कुल १०० वटा नमुनामध्ये ३१ वटामा सिसाको मात्रा भेटिएको छ’, निर्देशक साहले भन्नुभयो, ‘यसले सौन्दर्य साधनहरू प्रयोगका लागि सुरक्षित छैनन् भन्ने देखायो । प्रयोग गर्दा उपभोक्ताले सावधानी अपनाउनुपर्ने देखायो ।’
अध्ययनका लागि चार वटा सहरका बजारमा पाइने गाजल, सिन्दूर र मन्जन सङ्कलन गरिएको थियो । काठमाडौं उपत्यकाबाट १० वटा गाजल, २० वटा सिन्दूर र १० वटा मन्जनको नमुना सङ्कलन गरिएको थियो । त्यस्तै पोखराबाट ६ वटा गाजल, ६ वटा सिन्दूर र ७ वटा मन्जनको नमुना सङ्कलन गरिएको थियो भने जनकपुरबाट ६/६ वटा नमुना सङ्कलन गरिएको थियो । विराटनगरको बजारबाट ७ वटा गाजल, ८ वटा सिन्दूर र ८ वटा मन्जनका नमनुना सङ्कलन गरेर अध्ययन गरिएको थियो ।
आयुर्वेदिक उत्पादनमासमेत सिसाको मात्रा पाइएको जनाइएको छ । मन्जनमध्ये पेप्सोडेन्ट, कोलगेट, दन्त कान्ति, क्लोज अप, डाबर रेड जस्ता ब्रान्डमा सिसाको मात्रा पाइएको हो । त्यस्तै ममता सिन्दूर र पतञ्जली गाजल जस्ता ब्रान्डका उत्पादनमा पनि सिसाको मात्रा पाइएको अध्ययनमा प्रतिवेदनमा भनिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जुनसुकै सिसाको मात्रा पनि स्वास्थ्यका लागि सुरक्षित हुँदैन । यद्यपि नेपालमा सौन्दर्य प्रसाधनमा मापदण्ड नतोकिएकाले यस्तो अवस्था भएको हुनसक्ने बताइएको छ ।
यसैगरी यसको सिसाको मात्रा नियमन गर्ने औपचारिक निकाय नेपालमा नभएकाले नियमन गर्न पनि अप्ठ्यारो परेको औषधि व्यवस्था विभागका माहानिर्देशक नारायणप्रसाद ढकालले बताउनुभयो । ‘नियमनका लागि ऐन आवश्यक हुन्छ, त्यो ऐन बनाएर जिम्मेवारी दिए हामी नियमन गर्न तयार छौँ’, उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सिसाकै कारण नेपालीहरूको बौद्धिक स्तर खस्किएको हुनसक्ने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत