‘पाँच वर्षसम्म परीक्षण गर्दा पनि पत्ता लागेन रोग, पछि खुट्टाको नसाबाट मुटुको प्वाल टाल्नुपर्यो’ (भिडियो)

सिन्धुलीका रुमन दाहाल ९ वर्षका भए । उनलाई खेल्दा, हिँड्दा वा बसिरहँदा पनि छाती दुख्थ्यो । उनलाई छातीको बिचमा दुखेको महसुस हुन्थ्यो ।
‘मेरो छोराले जन्मिएको ९ महिनामा अस्वभाविक बान्ता गर्न थाल्यो’, रुमनकी आमा रञ्जिता दाहालले भन्नुभयो, ‘बान्तामा रगत आउँथ्यो । दुख्छ भन्थ्यो ।’ आमा रञ्जितालाई डर लाग्यो । जाँच गर्न नजिकैका क्लिनिकतिर जानुभयो । अस्पताल पनि लिएर जानुभयो । तर रोग के हो पाँच वर्षसम्म पत्ता लागेन । पछि २०७७ मा बनेपामा रहेको बनेपा हेल्थकेयरमा होल बडी जाँच गराउनुभयो । त्यहाँ चिकित्सकले ‘मुटुमा प्वाल छ’ भन्नुभयो । त्यसपछि के गर्ने केही समय अलमलमा पर्नुभयो । फेरि त्यतिखेर कोरोना महामारी उत्कर्षमा थियो ।
बनेपा हेल्थकेयरका चिकित्सकले रञ्जितालाई महिनाको अन्तिममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक आउने र उहाँलाई सल्लाह माग्न भन्नुभयो । तर उहाँ त्यतिन्जेल रोकिएनु भएन । छोरालाई लिएर गंगालाल पुग्नुभयो । साथमा अर्का ९ महिनाका दूधे बालक पनि थियो ।
गंगालालमा २०७७ माघ २७ गते रुमन भर्ना भए । उनको २८ गते अप्रेसन भयो । अप्रेसनपछि उनलाई तीन महिनासम्म औषधि दिइयो । ‘अप्रेसनपछि मेरो बाबुलाई एकदमै राम्रो भइराखेको छ’, आमा रञ्जिता बताउनुहुन्छ ।
अर्को सानो छोराको पनि मुटुमा प्वाल थियो । ‘उसको दादाको जस्तै मुटुमा प्वाल थियो’, आमा रञ्जिता भन्नुहुन्छ, ‘यहीँ अस्पतालमा ल्याएर डाक्टरले औषधि दिनुभयो । उसको औषधिले नै ठिक भयो ।’
अहिले बाहिर प्याकेटमा भएको खानेकुरा र बढी अमिलो, पिरो जस्ता खानेकुरा बन्देज गर्नुभएको छ रञ्जिताले । ‘डाक्टरले बार्न लगाउनुभएको खानेकुराहरू शतप्रतिशत बार्न लगाएको छु’, उहाँ भन्नुहुन्छ ।
रञ्जिता आफूले पहिलोपटक छोराको मुटुमा प्वाल परेको थाहा पाउँदा आत्तिएको बताउनुहुन्छ । त्यसैले अरूलाई नआत्तिन सुझाव दिनुहुन्छ । ‘पहिले आत्तिएको थिएँ । थाहा थिएन कहाँ के हुन्छ, कसरी उपचार हुन्छ भनेर’, उहाँ भन्नुहुन्छ, ‘तपाईँहरू चाहिँ नआत्तिनुहोला । पहिले नै आफ्नो बच्चाको पायक पर्ने र भरपर्दो अस्पतालमा जाँच गराउनुहोला ।’
रुमनलाई भएको के हो ?
रुमन दाहाललाई एट्रिओभेन्ट्रिकुलर सेप्टल डिफेक्ट (एएसडी) भएको थियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बालमुटुरोग विशेषज्ञ डा. मनिष श्रेष्ठका अनुसार एएसडी भनेको मुटुको चार वटा कोठा माथिल्लो भागको भित्तामा भएको प्वाल हो । ‘रुमनको पनि सोही स्थानमा प्वाल थियो’, उहाँले भन्नुभयो, ‘त्यो प्वाल टाल्न आवश्यक थियो । उसलाई हामीले छाती नचिरीकन खुट्टाको नसाबाट एसडी उपकरण राखेर उपचार गरेका छौँ ।’

डा. श्रेष्ठका अनुसार एसडी उपकरण भनेको एक किसिमको जाली हुन्छ । त्यो जालीले मुटुमा भएको प्वाल टालिन्छ ।
गंगालाल हृदय केन्द्रमा अहिले दुई प्रकारले मुटुको अप्रेसन हुने गरेको छ । छाती चिरेर अप्रेसन गर्ने तरिका एउटा हो भने अर्को तरिका भनेको छाती नचिरी नसाको माध्यमबाट शल्यक्रिया गर्ने हो ।
केन्द्रका बालमुटुरोग विशेषज्ञ डा. मनिष श्रेष्ठका अनुसार छाती नचिरी गरिने शल्यक्रियालाई क्याथेडर बेस्ड सर्जरी पनि भनिन्छ । यो भन्नाले खुट्टाको नसाबाट मुटुमा उपकरण राख्ने हो । उपकरणले मुटुको प्वाल टालिने वा थुनिएको भल्भ खोलिदिने काम गर्छ । आवश्यकता जुन हो त्यही काम गरिदिने कार्य गरिन्छ ।



तपाईँको अभिमत