बच्चालाई दिनको एक प्याकेट चाउचाउ खुवायो भने हाड, छाला मात्रै हुन्छ (भिडियो)
सोझो अर्थमा बुझ्नु पर्दा काम नलाग्ने खानेकुरा भनेको नै जंक फुड हो । प्रशस्त मात्रामा क्यालोरी दिन्छ तर त्यसमा अन्य पोष्ठिक तत्व केही हुँदैन । यसको अर्काे सुनिरहेको शब्द पनि छ-पत्रु खाना । कस्तो खानेकुरा चाहिँ जंक फुड हो कस्तो होइन यो निकै महत्वपूर्ण कुरा हो। मान्छेहरूले स्वस्थ खानेकुरा खाएँ भनिरहँदा पनि जंक फुड खाइरहेका हुन्छन् । त्यसैले यसबारे जानी राख्नु एकदमै जरुरी छ ।
जंक फुड भन्नाले कसरी बुझ्ने त भन्दा हाम्रो शरीरका लागि पोष्टिक आहार चाहिन्छ ।
कार्बाेहाइड्रेड, प्रोटिन, राम्रो प्रकारको चिल्लो, भिटामिनहरू, खनिजहरु, प्रशस्त मात्रामा फाइबर यस्ता कुरा भएका खानेकुरा पौष्टिक खानेकुरा हुन् ।
हामी हरियो सागपात खान्छौँ, माछामासु फलफूल, दूध आदि खान्छौँ । यी खाने कुरामा प्रशस्त मात्रामा शरीरलाई आवश्यक पौष्टिक आहार हुन्छन् । यिनीहरु स्वस्थ आहारमा पर्छन् ।
अब जंक फुड भनेको कस्तो खानेकुरा हो भन्दा जसमा पौष्टिक तत्व पनि हुँदैन, भएपनि पौष्टिक तत्व तथा भिटामिनहरू एकदमै कम मात्रामा हुन्छ ।
त्यस्ता खानेकुरामा के धेरै हुन्छ भन्दा गुलियो धेरै हुन्छ । चिल्लो धेरै हुन्छ कि त नुन धेरै हुन्छ ।
कार्बाेहाइड्रेड, चिल्लो पदार्थले तत्काल उर्जा दिन्छ । जंक फुडमा चिल्लो हुन्छ तर कस्तो चिल्लो हुन्छ भने एकदमै खराब चिल्लो, कार्बाेहाइड्रेडमा असाध्यै गुलियो कित असाध्यै नुनिलो हुन्छ ।
भिटामिनहरु कित एकदमै कम हुन्छ । कित शून्य हुन्छ । जंक फुडलाई रित्तो क्यालोरी भनिन्छ । कोकाकोलाले भरिएको बोतल घटघट पिएपछि शक्ति आएको भनेर विज्ञापनमा पनि देखाइन्छ । इनर्जी ड्रिक्सहरू पिएपछि धेरै शक्ति आएको देखाइन्छ । खासमा त्यसमा के हुन्छ त भन्दा चिनी प्रशस्त हुन्छ । एउटा कोकाकोला तथा इनर्जी ड्रिक्समा १० चम्चासम्म चिनी हुन्छ ।
जंक फुडको उदाहरण दिँदा हामीले खाने तयारी चाउचाउ, विस्कुट, चिजबल, कुरकुरे, दालमोटजस्ता प्याकेटमा राखिएका तयारी खानेकुरा पर्दछन्।
चिल्लोमा डिपफ्राइ गरेका खानेकुरा-समोसा, पकौडा, आलुफ्राइ, चिकेन फ्राइ जस्ता खानेकुरा पनि जंकफुडमा पर्छन् ।
अन्नरुलाई मिलमा लगेर त्यसका बाहिरका बोक्रो निकालेर, प्रशोधन गरेर, फाइबार निकालेर धेरै मसिनो बनाइन्छ अनि खानका रुपमा प्रयोग गरिन्छ त्यो पनि जंकफुड नै हो ।
अब आलुको कुरा गरौँ, आलूलाई उसिनेर नुन जिरासँग चोबेर खायो भने त्यो पौष्टिक आहार हुन्छ । यसमा भएको कार्बाेहाइड्रेड, भिटामिन, फाइबरहरुले हाम्रो शरीरलाई फाइदा गर्छ। त्यही आलूलाई चाना पारेर काटेर चिल्लोमा मज्जाले डिपफ्राइ गरेर तयार गर्यो भने त्यो जंकफूड हुन्छ ।
अब किन जंकफुड भयो भन्दा चिल्लोमा जब आलुलाई डिपफ्राइ गरिन्छ, आलुमा भएका भिटामिन, खनिजहरू नष्ट हुन्छ । डिपफ्राइ गर्दा राम्रो चिल्लो नै रहेछ भनेपनि धेरै तताएपछि त्यो खराब चिल्लोमा परिणत हुन्छ । जसलाई ट्रान्सफ्याट भनिन्छ । डिपफ्राइ गरेको जुनसुकै खानेकुरामा प्रशस्त मात्रामा ट्रान्सफ्याट हुन्छ ।
यही प्रकारले कुखुराको मासुलाई पकाएर, उसिनेर, अलिअलि रोष्ट गरेर खायो भने पौष्टिक आहार हुन्छ, त्यसैलाई डिपफ्राइ गरेर खायो भने जंकफुड भयो ।
एउटै खानेकुरा पनि कसरी बनाइएको छ, कसरी तयार गरिएको छ भन्ने कुराले जंकफुड होकि होइन भन्ने निर्धारण गर्छ। हामीले हाम्रो भन्सामा पकाएका ताजा खानेकुरा पनि जंकफुड हुन्छन् ।
प्याकेट, बट्टामा, सिसीमा राखिएका खानेकुरा मात्रै जंकफुड हो भन्ने भ्रम छ । तर हामीले खानेकुरा तयार गर्न जानेनौँ भने आफ्नै भान्सामा पनि पौष्टिक खानेकुराबाट जंकफुड बन्न पुग्छ।
हामीले तेल, घ्यूको सट्टामा बनस्पति घ्यू हालेर खानेकुरा पकाउँछौँ भने पनि त्यो जंकफुड हुन्छ । बनस्पति घ्यूमा अध्याधिक मात्रामा ट्रान्सफ्याट हुन्छ ।
ट्रान्स फ्याटले शरीरमा खराब कलेस्टेरोललाई बढाउँछ, बोसो धेरै जम्मा गर्छ । त्यसले मुटुका रक्तनलीहरुलाई साँघुरो बनाउन भूमिका खेल्छ । हृदयधात हुने, मस्तिष्किधात हुने, पक्षघात हुने, मधुमेह हुने जोखिम धेरै हुन्छ ।
हामी के हामीले भन्छौँ भने-खानेकुरा बनाउँदा भरसक चिल्लोमा नबनाऔँ । यदि चिल्लोमा बनाउने भए राम्रो खालको चिल्लो प्रयोग गरौँ । घिउमा बनाऔँ । राम्रो खालको तेल प्रयोग गरौँ ।
त्यसलाई धेरै पल्ट तताउनु भएन। जति धेरै पल्ट तेललाई ततायो त्यति धेरै त्यो ट्रान्स फ्याटमा परिणत हुन्छ । त्यसैल सकेसम्म एकपल्ट भन्दा बढी नचताऊ ।
चिल्लो जस्तै गुलियोको कुरा गरौँ ।
चिनी स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिनी मान्छेले खानै पर्दैन । हामीले चियामा चिनी हालेर खान्छौँ । एक–दुई कप चियामा, एक–एक चम्चा चिनी हालेर खादाँ फरक नपर्ला ठिकै छ जसलाई मधुमेहको समस्या छैन । तर जब दिनमा ५–५ कप चिया २–२ चम्चा चिनी हालेर खान्छौँ त्यो हानिकारक हुन्छ । चिनीमा त प्रशस्त क्यालोरी हुन्छ । शरीरमा गएर मोटोपन बढाउने र चिनीले लाग्ने थुप्रै प्रकारका रोगहरू छन् ।
अब नुन : नुन हामीलाई चाहिन्छ शरीरमा नुन नभइ हुँदैन । तर विश्व स्वास्थ्य संगठनले के भनेको छ भने एउटा स्वस्थ व्यक्तिलाई दिनमा ५ ग्राम भन्दा बढी नुन चाहिँदैन ।
नुनको मात्रा बढी भयो भने मुटुका रोग हुने, उच्चरक्तचाप हुने, मिर्गौलामा समस्या हुने हुन्छ । त्यसैले अध्याधिक मात्रामा नुन खानु हानिकारक हुन्छ । जंकफूडहरूमा नुनको मात्रा अध्याधिक हुन्छ ।
तयारी चाउचाउको कुरा गरौँ, चाउचाउ यति धेरै प्रयोगमा छ कि बच्चा-बच्चाको हातमा चाउचाउ हुन्छ ।ठूलो मान्छेलाई पनि हतारमा केही खाऔँ भन्यो भने चाउचाउ बनाऔँ भन्ने हुन्छ ।
चाउचाउ भनेको प्रशोधित मैदा हो । त्यलाई ट्रान्सफ्याट प्रयोग गरेर तयार गरिएको हुन्छ र प्याकेटमा बन्द गरिएको हुन्छ । छिट्टै नबिग्रियोस् भनेर रसायनहरु राखिएको हुन्छ, जसले स्वास्थ्यलाई हानि गर्छ ।
जस्तो महिनामा एउटा प्याकेट खाएर त केही हानी गरिनहाल्ला तर हाम्रो बानी के छ भने दिनदिन हामी चाउचाउको खाजा खान्छौँ । बच्चाहरुलाई एकपटक पाएपछि खाएको खायै गर्न लत लाग्छ ।
चाउचाउको प्रयोगले कार्बाेहाइड्रेड अनावश्यक मात्रामा शरीरमा जान्छ, ट्रान्सफ्याट जान्छ । यदि कुनै बच्चालाई दालभात तरकारीको सट्टा दिनदिन एक प्याकेट चाउचाउ मात्रै खुवायो भने त्यो हाड र छाला मात्रै भएको बच्चा हुन्छ । त्यति कुपोषण हुन्छ । त्यो हामीले देखेकै कुरा हो । त्यसैले तयारी चाउचाउको विरोध गरेको हो ।
यो खानै नहुने कुरा होइन तर दैनिक खायो भने धेरै हानी गर्छ । कोलाकोला फ्यान्टा, आइसक्रिम, केक जेजति हुन्छन् सबै जंकफुड नै हुन् ।हामीले के बुझ्नुपर्छ भने जंकफुडको प्रयोग भरसक गर्नै हुँदैन। गरिहाल्यो भनेपनि एकदमै कम गर्नुपर्छ । बच्चाहरुलाई सानैदेखि जंकफुड खाने बानी बसाल्नु हुँदैन ।
जंकफुडको एउटा विशेषता के छ त भन्दा खाने बानी लाग्यो भने रक्सी चुरोटमा जस्तो खाइरहन मनलाग्ने नसा हुन्छ । यसमा भएका स्वादहरू जिब्रोमा बसिरहन्छ । शरीरमा यसको लत लाग्छ । बालबालिकालाई त्यसको लत बस्यो भने एकदमै नराम्रो हुन्छ ।
हर्लिक, बिस्कुट, बट्टामा राखिएका फलफूलका जुस जंकफुड हो भन्ने कुरा धेरैलाई थाहा नभएर यो अस्पतालमा प्रयोग भइरहेका छन् । यो चाहिँ जानकारी हुनु जरुरी छ ।
हर्लिक्स कसरी जंकफुड भयो भन्दा यो जौबाट बनाइएको हुन्छ। त्यो प्रशोधित गरिएको हुन्छ। त्यसमा भएका फाइबरहरू सबै निकालिएको हुन्छ । यसमा चिनी मिसाइन्छ केही मात्रामा चिल्लो मिसाइन्छ । केही मात्रामा नबिग्रियास् भनेर केमिकलहरु मिसाइएको हुन्छ ।
प्रचार गर्दा त यसमा क्याल्सियम छ, भिटामिन छ, यहाँ त त्यहाँ छ भनेर भनिएको हुन्छ । प्रचार गरिएजस्तो केही हुँदैन। त्यसमा भएका पौष्टिक तत्व पनि त्यो तयार गर्दा नष्ट भएको हुन्छ ।
हर्लिक्सलाई घोलेर जब खाइन्छ, खाली हामीले प्रशोधित पिठो, गुलियो चिनी र मिठो होस् भनेर मिसाइएका केही कुरा मात्रै खाएका हुन्छौँ।
यसको सट्टामा जौको पिठो, घरमै बनाएको गेडाडुडीको पिठो पकाएर, घोलेर खायो भनेर त्यसले फाइदा गर्छ ।
बिस्कुटको कुरा छ । यो मैदाबाट बन्ने हो ।पक्कै पनि राम्रो चिल्लो प्रयोग भएको हुँदैन । ट्रान्सफ्याट हुन्छ । गुलियो बिस्कुटमा गुलियो धेरै हुन्छ, नुनिलोमा नुन धेरै हुन्छ । मैदालाई चिल्लोमा पकाउँदा पौष्टिक आहार नष्ट भइसकेको हुन्छ । नबिग्रियोस भनेर प्रिजर्भेटिभ प्रयोग गरिएको हुन्छ ।
प्याकेटमा राखिएका यी खानेकुरा पत्रु खानेकुरा हुन् ।
बिरामीलाई औषधि खाँदा बिस्कुट खाने चलन छ । खाजाको रुपमा खाने चलन छ । कतिपयले त दिनदिनै बिहान बेलुका बिस्कुट खाने गर्छन् त्यो नजानेर हो ।
फलफूलको रस बट्टामा राखेको हामीले देख्छौँ । कुनैपनि फलको रसलाई निचोरेर गिलासमा हालेर खायो भने त्यो त निकै पौष्टिक हुन्छ । राम्रो फाइदा गर्छ । तर जुन फलफूलको रस भनेर हामीले बट्टामा किन्छौँ, त्यो फलफूलकै रस होइन। फ्लेबर मात्रै हो ।
पाउडरका रुपमा फलफूलका फ्लेबर किन्न पाइन्छ । पानीमा त्यो फ्लेबर हालेपछि त्यो फलफूलको स्वाद आउँछ । त्यसमा चिनी मिसाएपछि गुलियो हुन्छ मिठो हुन्छ ।
जे को जुस भनिएको हुन्छ त्यसमा त्यही फ्लेबर राखिन्छ । बट्टामा राखेपछि नबिग्रियोस् भन्नका लागि रसायन हालिन्छ । यसले शरीरलाई हानि गर्छ ।
अस्पतालकै बेडमा भएका बिरामीले पनि यी खानेकुराहरू खाइरहेका हुन्छन् । स्वास्थ्यकर्मीहरुले नै अस्पतालको स्टोरबाट झिकेर त त्यस्ता खानेकुरा दिएका हुँदैनन् । जब बिरामी अस्पतालमा भर्ना भएका हुन्छन् । उनीहरुका आफन्तले ती कुराहरु ल्याएका हुन्छन् । स्वास्थ्यकर्मीले बनाएर दिन्छन् । स्वास्थ्यकर्मी कतिलाई त जानकारी नभएको पनि होला ।
हाम्रोमा जंकफुडलाई नियन्त्रण गर्ने नीति नभएकाले अध्याधिक प्रयोग भइरहेको छ । यस्ता खानेकुरालाई हामीले निरुत्साहित गर्नुपर्छ ।

हेल्थपाटी
तपाईँको अभिमत