५५ वर्ष माथिका व्यक्तिलाई लाग्ने मधुमेह रोग २० वर्षको उमेरमै (भिडियो)
खनपिन र जीवनशैलीका कारण युवावस्थामै मधुमेहको रोग देखिन थालेको मधुमेह तथा हर्माेन रोग विशेषज्ञ डा.दीपक मल्लले जानकारी दिनुभयो । वीर अस्पतालमा कार्यरत उहाँले पहिला पहिला ५५ वर्षभन्दा माथि उमेरका व्यक्तिहरूमा देखिने यो रोग अहिले २० वर्पकै उमेरमा देखिन थालेको बताउनुभयो ।
पहिला-पहिला ४० वर्ष नाघेपछि मधुमेह स्क्रिनिङ गर्न सुझाउने गरेकोमा अहिले २५-३० वर्षका युवालाई मधुमेहको परीक्षण गर्न लगाउने गरेको उहाँले बताउनुभयो । उहाँले युवा अवस्थामा मधुमेहको रोग देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
वीर अस्पतालमा डाइबेटिज थाइरायड हर्माेन विभागमा हरेक दिन करीब २५० जना बिरामी आउने गरेको बताउनुभयो । विदेशबाट फर्कने युवाहरूमा मधुमेहको समस्या धेरै देखिरहेको उहाँले बताउनुभयो । विदेश जाँदा स्वास्थ्य अवस्था ठिक रहेका युवाहरूमा उता गएको ६ महिना, १ वर्षमै मधुमेहको समस्या देखिने बताउने गरेको उहाँले बताउनुभयो ।
घरबाट टाढा रहँदा मानसिक तनाव, कमाइ, सुताइ, खानपान नमिल्दा उनीहरूमा मधुमेहको समस्या देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अनिन्द्राका कारण शरीरमा हर्माेनहरू बढ्ने र त्यसले मधुमेहको समस्या देखाउने गर्छ ।
२०-२५ वर्षकै उमेरमा मधुमेहको समस्या देखिएका युवाहरूमा मधुमेहका कारण भावी दिनमा देखिन सक्ने जोखिमका बारेमा सतर्क हुनपर्ने उहाँको भनाइ छ । त्यसका लागि बेलैमा स्वास्थ्य परीक्षण गरि मधुमेह भए नभएको पहिचान गर्नपर्ने सुझाव उहाँको छ ।
मुख सुक्ने,तिर्खा धेरै लाग्ने, आँखा धमिलो हुने, छाला चिलाउने, दुब्लदै जाने, कान कराउने गिँजा पाक्ने लगायतका समस्याहरू देखिनु मधुमेहका लक्षणहरू हुनसक्ने उहाँले बताउनुभयो ।
तर कतिपय बिरामीहरूमा यी लक्षणहरू नदेखि एक्कासी आँखा बन्द हुने, मुटु, मिर्गाैला, नसामा समस्या देखिएर अस्पताल आइपुग्ने गरेको उहाँको भनाइ छ ।
मधुमेह भएका बिरामीहरूले सजग नभए उनीहरूको दृष्टि गुम्ने , मिर्गाैला तथा मुटुले काम नगर्ने जोखिम अधिक हुने भएकाले नियमित डाक्टरको सम्पर्कमा रहने, डाक्टरले सुझाएअनुसार मधुमेह नियन्त्रणमा लाग्नपर्नेमा उहाँले सचेत गराउनुभयो ।
दुखाइको अनुभव नहुने भएकाले मधुमेह नियन्त्रणमा नरहेका बिरामीको मृत्यु रातको समयमा हुने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अनियनित्रत मधुमेहका बिरामीमा हृदयघातको जोखिम धेरै रहन्छ ।
मधुमेह २ प्रकारका हुन्छन् । टाइप १ मधुमेह जुन वंशाणुगत होइन । शरीरमा इन्सुलिनै उत्पादन नभएको अवस्थालाई टाइप १ मधुमेह जनाउँछ । यो १ वर्ष उमेरका बालबालिकामा पनि देखिन सक्छ ।
टाइप २ मधुमेह भन्नाले शरीरमा इन्सुलिन रहेको तर इन्सुलिनले राम्रोसँग काम गर्न नपाएको अवस्थालाई जनाउँछ । टाइप २ का मधुमेह धेरैलाई देखिने गरेको छ । परिवारमा मधुमेहको समस्या भएका अन्य सदस्यहरू (जसको उमेर २५ वर्षभन्दा माथि) दुब्लाउदै जाने, मुटुको समस्या देखिने, गर्भावस्थामा मधुमेह देखिसकेका व्यक्तिहरूले मधुमेहको स्क्रिनिङ गराउनपर्ने उहाँको भनाइ छ ।
डा. मल्लका अनुसार मधुमेह भनेको शरीरमा चिनीको मात्रा धेरै भएर अनियन्त्रित हुँदा पिसावबाट चिनी निस्कने अवस्थालाई बुझिन्छ । ‘पहिला- पहिला गाउँ घरमा पिसाव फेरेको ठाँउमा कमिलाहरू देखियो भन्ने गरिन्थ्यो नी, त्यो पिसावमा चिनी देखिएर कमिलाहरू आएका हुन्,’ उहाँले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत