परिवार नियोजनको साधन जथाभावी प्रयोग गर्नु स्वास्थ्यलाई खतरा
परिवार नियोजनका साधनहरूले महिलालाई गर्भ रहनबाट रोकेर उनको स्वास्थ राम्रो त पार्छ तर साधन प्रयोग गर्दा होसियारी नअपनाए अनेक कुप्रभाव पनि पर्न सक्छन् । परिवार नियोजनका साधनको प्रयोगले शरीरमा ‘नराम्रो बोसो’ को मात्रा बढेर जान सक्ने र यसले गर्दा उच्च रक्तचाप पनि हुनसक्छ । तर यसको बारेमा प्राय महिलाहरूलाई जानकारी दिइन्न ।
आज भन्दा ३० वर्षअघि म वीर अस्पतालको ‘परिवार नियोजन शाखामा’ अस्थायी कर्मचारी थिएँ । त्यहाँ हामीलाई ७ वर्षसम्म प्रयोग गर्न सकिने नरप्लान्ट को सुइ राख्ने तालिम दिइयो । ६ महिनामा मैले झण्डै ४०० महिलाको पाखुरामा नरप्लान्ट राखेको थिएँ। तर ६० जना महिलालाई नरप्लान्ट राखेको दुई महिनामा नै निकाल्नु परेको थियो । ती मध्ये कसैको धेरै तौल बढेको थियो, कसैलाई लगातार योनीबाट रगत बग्ने समस्या देखिएको थियो । कसैलाई चाहीँ एकदमै धेरै टाउको दुख्ने समस्या भएको थियो ।
ती महिलाहरूको नरप्लान्ट दुई महिनामै निकालेकोमा मैले हाकिमहरूको हपार पनि खानुपरेको थियो । ‘महिलाहरूलाई टाउको दुख्ने, उच्च रक्तचाप हुने समस्या हुँदैन’ हामीलाई भनिएको थियो । तर वास्तवमा परिवार नियोजनका हर्मोनयुक्त साधनले यस्ता समस्या पैदा गर्न सक्छन् ।
३० वर्षअघि मैले एक महिलालाई नरप्लान्ट राख्दा २ महिनापछि उनी मलाई डिप्रेसन भयो नरप्लान्ट निकालिदिनुस भनेर आइन्। नरप्लान्टले कहिले पनि डिप्रेसन हुँदैन भनेर मैले उनलाई फर्काइदिएँ । त्यसको १५ दिनपछि गएर जाँच गराइछन् । मानसिक रोग विशेषज्ञले उनलाई भनेछन्, ‘डिप्रेसन परिवार नियोजनको साधनका कारणले पनि हुनसक्छ । नरप्लान्ट निकालेर आउनुहोस् अनि तपाईँले डिप्रेसनको औषधी खानु पर्ने कि नपर्ने हेराँैला।’
डाक्टरले एउटा चिठी लेखेर ती महिलाको नरप्लान्ट निकाल्न अनुरोध गरे । मैले नरप्लान्ट निकालिदिएँ । १५ दिनपछि महिला खुसी हुँदै आइन् । उनको डिप्रेसन हटेको थियो । पछि मैले विभिन्न पुस्तकमा पढ्दा थाहा भयो कि–वास्तवमा परिवार नियोजनका साधनहरूको प्रयोगले गर्दा कहिलेकाहीँ हुने कुप्रभाव जस्तो:– महिनावारी गडबड हुने, धेरै रगत बग्ने समस्या हुनसक्छ ।
दुइ वर्ष अघिको घटना हो । पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ हप्तामा नै गर्भपतन गराउने औषधि खाइछन् । तर गर्भपतन गर्न औषधी खाएको दुइ दिनपछि उनको पेट एकदमै दुखेछ । उनी बेहोस् भइछिन् ।
अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो–उनको गर्भ त गर्भनलीमा पो बसेको रहेछ । त्यो फुटेर उनको आन्तरिक रक्तश्राव भएर ज्यानमै खतरा पर्यो । शल्यक्रिया गरिएपछि धन्न ज्यान बाँच्यो । तर किशोरीलाई गर्भपतन गराउने औषधी जथाभावी दिने, उनको अवस्था कस्तो भनेर नजाँच्ने र गर्भपतनको औषधी दिने पसलेलाई कुनै सजाय भएन । यस्ता कयौँ घटनाहरु बाहिरै आउँदैनन् । घटनाहरू प्राय कतै प्रकाशमा पर्न आउँदैन ।
किशोरी तथा युवतीलाई गर्भपतनको अधिकारको बारेमा भनियो । यौन स्वास्थ्यको कुरा गरियो, तर उनीहलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी र जथाभावी परिवार नियोजनका साधनको प्रयोगबारे चाहीँ सिकाइएन । यसले गर्दाकिशोरीहरु र युवतीको जीवन र स्वास्थ्यमा धेरै नराम्रो असर परेको छ
परिवार नियोजनका साधनहरूको प्रयोग गर्दा यदि जानकारीको अभाव भयो भने प्रजनन स्वास्थ्यमा प्रभाव पर्ने सम्भावना पनि हुन्छ ।
३० वर्षअघि हामीलाई एउटा पनि बच्चा नपाएको महिलालाई डिपो प्रोभेरा सुइ दिनुहुँदैन भनेर सिइकाएको थियो । ३ महिनाअघि अछाम पुग्दा मेरो भेट त्यहाँका स्वास्थ्यकर्मीसँग भयो ।
एकै छिनको कुराकानीपछि उनले भनिन्, ‘मेरा विवाह भएको ५ वर्ष भयो, विवाहलगतै बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा सुइ लगाएँ तर छोडेको तीन वर्ष भइसक्यो अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’
उनको कुरा सुनेर मैले उनलाई सोधेँ, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो तपाईंलाई ?’ यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसैगरी सिकाइएको छ । मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्छु ।’ मलाई दुःख लाग्यो मैले उनलाई भने, ‘यो गलत कुरा हो । एउटा पनि बच्चा नभएकोलाई मैले कहिले डिपो सुइ लगाउने सल्लाह दिन्न । स्वास्थ्य मन्त्रालयका कोही पनि डाक्टरहरूले आफ्नो घर परिवारका महिलालाई यस्तो सल्लाह दिँदैनन् । किनभने यसले गर्दा प्रजनन्मा पछि समस्या पर्नसक्छ । हर्मोन सुइहरूको प्रयोग यसरी गर्नु हुन्न।’
परिवार नियोजन, गर्भपतन, आकस्मिक परिवार नियोजन, कण्डम आदिका बारेमा अनेक विज्ञापन र प्रचार प्रसार आउँछन्, तर जिम्मेवार भएर मात्रै यस्ता साधनहरु प्रयोग गर्नुपर्छ र शरीर परिपक्क नभई यौन सम्पर्कमा लिप्त हुनुहुँदैन भन्ने बारेमा कसैले बोल्दैनन् ।
किशोर किशोरीलाई नै लक्षित गरेर खासै कुनै प्रजनन स्वास्थ्य र यौन, यौनिकता सम्बन्धी कार्यक्रम बनेका छैनन् । यसबारे रेडियो र टीभीमा विज्ञापन आउँदैन् । उनीहरुका यौन र यौनिकता सम्बन्धी जिज्ञासा कतै सुनिँदैन । मैले बारम्बार किशोरीहरुको कुरा लेख्छु किनभने यौन सम्बन्धी पछिको परिणाम केवल किशोरीले भोग्छन् । किशोरले कुनै जिम्मेवारी लिँदैनन् ।
धेरै किशोरीले यौन सम्पर्क गरेपछि 'इमर्जेन्सी औषधी' पनि लिन्छन् । यसरी जथाभावी औषधी प्रयोग गर्दा किशोरीको स्वास्थ्यमा कति नराम्रो असर परेको छ, कसैले विचार नै गर्दैनन् । बेच्ने पसलेहरूले पनि यस्तो समस्याको बारेमा भनिदिँदैनन् ।
कानुनी रुपमा प्रयोग गर्न मिल्ने परिवार नियोजनका साधन तथा सुरक्षित गर्भपतन पनि कहिले–कहिले असुरक्षित हुन्छ ।
पूर्वको घटना हो । ९ कक्षामा पढने १७ वर्षीया किशोरीको १८ वर्षीया किशोरसँग सम्पर्क भएपछि गर्भ बसेछ । दुवैजना झापाको एक निजी औषधि पसलमा आएर गर्भपतन गराउन कोसिस गर्दा किशोरीको अति रक्तश्राव भएर अस्पताल जानु परेछ । किशोरले किशोरीको घरमा खबर गरिदिएछ ।
घरका मानिसहरु अस्पताल नपुग्दै किशोर भारततिर भागेछ । अत्याधिक रक्तश्राव भएर औषधी पसलबाट ठूलो अस्पताल लगियो र किशोरीको सुरक्षित गर्भपतन गरियो । किशोरीको ज्यान चाहीँ बच्यो । परिवारले बेइज्जत हुने डरले कसैलाई पनि केही भनेनन् ।
निको भएर घर गएपछि ती किशोरीको १८ वर्षमा बिहे गरिदिएछन् । ‘हाम्रा लागि अब उ मरे सरह भइ, अब लोग्नेको घरमा जे गर्छे हामीलाई वास्ता छैन’ ती किशोरीका परिवारले भनेका रहेछ ।
यदि ती किशोरीलाई सुरक्षित रुपमै गर्भपतन गर्दा पनि कहिले यस्तो समस्या पर्छ भनेर कसैले मार्गदर्शन गरेको भए, उमेर नपुगी यौन सम्पर्क गर्न हुन्न भनेको भए उनको जीवन नै अर्को हुने थियो । तर किशोर,किशोरीहरुले यस्ता कुरा कहाँ गएर को बाट बुझ्ने ?
परिवार नियोजनको साधन जथाभावी प्रयोग गर्नुहुन्न । केटा साथी वा केटी साथी बनाएर यौन सम्पर्क भएन भने त प्रेम नै होइन भन्ने भावना कसरी त्याग्ने ? यौन सम्बन्ध पेडा खाए जस्तो जुनबेला खाएपनि हुन्छ भन्ने कुरा गलत हो भन्ने कुरा कताबाट सिक्ने ?
मैले चिने जानेको महिला तथा युवतीलाई सकेसम्म एउटा बच्चा नभई कुनै साधन प्रयोग नगर्न र गर्नै परेमा श्रीमान वा साथीलाई कण्डम प्रयोग गर्न लगाउनू भन्ने सुझाव दिन्छु । हर्मोनयुक्त साधन प्रयोग नगर्नू भनेर सल्लाह दिन्छु ।
एउटा पनि बच्चा नभई यसरी महिलाले परिवार नियोजनको सुई प्रयोग गर्दा कहिलेकाहीँ लामो समयसम्म बच्चै नहुने सम्भावना बढ्छ । यसले गर्दा उनीहरूलाई घर समाजमा अपमानित गरिन्छ । श्रीमान्ले बाँझी भई भनेर अर्को विवाह गर्छन् । अनि ती महिलाका जीवनमा अनेक दुःख आइपर्छ ।
सुदूरपश्चिममा मात्र होइन, नेपालका विभिन्न ठाउँमा पनि यसरी एउटा पनि बच्चा नपाई हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरे हुन्छ भनेर स्वास्थ्य मन्त्रालयले सिकाउँछ तर यसमा मेरो विमती छ । वास्तवमा पुरुषहरूलाई कण्डम प्रयोग गर्न प्रेरित गर्ने गरी कुनै विज्ञापन बन्दैनन् ।
स्थायी बन्ध्याकरण गर्न पनि सकेसम्म महिलालाई अगाडि सारिन्छ। जबकि पुरुषहरूको बन्ध्याकरण गर्न एकदम सजिलो हुन्छ । प्राय परिवार नियोजनको बन्ध्याकरणको जिम्मेवारी शब्द पनि महिलाहरू बढी हुन्छ । पुरुषहरू त एकदम कम आउँछन् ।
अझै पनि धेरै मानिसहरूमाझ पुरुषले स्थायी बन्ध्याकरण गर्न हुन्न भन्ने बुझाइ रहेको छ-पुरुषहरूले ठूलो भारी बोक्नुपर्छ, काम गर्न विदेश जानुपर्छ, त्यही कारण स्थायी बन्ध्याकरण महिलाहरूले नै गर्नुपर्छ भन्ने सोच भएका धेरै महिलाहरू स्वास्थ्यकर्मी कहाँ परामर्श लिन आउँछन् ।
पुरुषले स्थायी परिवार नियोजन गरे ढाड दुख्छ भन्ने गलत सोच छ । यो सोच ठिक होइन भनेर त्यति धेरै प्रचार भएको पाइँदैन ।
चुरोट खाने, रगतको कमी, कुपोषण भएका महिलालाई परिवार नियोजनका हर्मोन युक्त साधनले बढी असर पार्न सक्छन् । हर्मोनयुक्त साधनहरूको प्रभावले महिलाको शरीरका हड्डी बढी फुसफुसे हुनसक्ने सम्भावना पनि हुन्छ ।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत