घुमुवा प्रहरीले मादक पदार्थ सेवन गरी अवरोध गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु
मादक पदार्थ सेवन गरी सादा पोशाकमा रहेका घुमुवा प्रहरीले अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि एम्बुलेन्समै एक महिलाको मृत्यु भएको छ । काठमाडौंमा उपचार सम्भव नभएपछि घर फर्कँदै गरेका मकवानपुरको बकैया गाउँपालिका–१, धोबीडाँडाकी मुटुरोगी ५६ वर्षीया चिरमाया लोको सोमबार बिहान करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय अगाडि एम्बुलेन्समै मृत्यु भएको हो ।
काठमाडौंबाट लोलाई लिएर आएको परिवार र आफन्त हेटौँडा–४, रानीदरबार अगाडि काठमाडौंबाट आएको टाटासुमोलाई छाडेर अर्को टाटासुमोमा चढ्न लाग्दा मादक पदार्थ सेवन गरी मात्तिएको अवस्थामा घुमुवा सहायक प्रहरी हवलदार डिल्लीराम सिवकोटीले लोलाई लिएर आएको एम्बुलेन्स र टाटासुमोमा के गर्न लागेको भनी सोधीखोजी गर्दै हप्कीदप्की गर्न थालेपछि केहीबेर स्थिति असहज बनेको थियो ।
पेस्तोल समेत बोकेका सिवाकोटीसँग विवाद बढेपछि सुरक्षागस्तीमा खटिएको प्रहरी टोलीले मुटुरोगी लो र उहाँको परिवारलाई नै लिएर जिल्ला प्रहरी कार्यालय पुगेको थियो । काठमाडौंमा उपचार सम्भव नभएपछि चिरमायालाई लिएर २ जना छोरा, २ जना छोरी, २ जना ज्वाइँ, श्रीमान् अर्का एक आफन्त घर फर्कदै गर्नुभएको थियो ।
तर अक्सिजनको अभावमा प्रहरी कार्यालय अगाडि नै चिरमायाको मृत्यु भएको छ । मृतक लोको शव परिवारले सोमबार बिहान बकैयास्थित घर लगी मंगलबार अन्त्येष्टि गरेका छन् । मादकपदार्थ सेवन गरेका प्रहरी सहायक हबल्दार सिवाकोटीलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको छ ।
यसैबीच घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ । घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी नायव उपरीक्षक भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभएको छ ।
- समृद्ध समाज अनलाइन
हेल्थपाटी
तपाईँको अभिमत