मोर्डना ग्रामीण भेग र फाइजर खोप घनाबस्तीका बालबालिकालाई लगाइने
कोरोना विरुद्धको मोर्डना खोप पहिलो चरणमा ग्रामीण भेगका बालबालिकालाई लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई उक्त खोप लगाउन लागिएको छ । परिवार कल्याण महाशाखा बालस्वास्थ्य एवं खोप शाखा प्रमुख सागर दाहालका अनुसार मोर्डना खोपलाई जुन क्षेत्रमा पनि स्टोर गर्न सजिलो भएकाले मोर्डना ग्रामिण भेगका बालबालिकालाई लगाउन लागिएको हो । खोप विज्ञ सल्लाहार समितिको सिफारीसमा मोर्डना ग्रामीण क्षेत्रका बालबालिकालाई लगाउने निर्णय भएको दाहालले जानकारी दिनुभयो ।
कोभ्याक्स सुविधा अन्तरगर्त गत शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल ल्याइएको छ । मोर्डना खोप २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा स्टोर गर्न सकिन्छ ।
यसैगरी घनाबस्ती क्षेत्रका बालबालिकालाई भने फाइजर खोप लगाइने छ । केही समय आएको १ लाख डोज फाइजर खोपमध्ये ५० हजार डोज विभिन्न स्थानमा वितरण भइसकेको र बाँकी ५० हजार डोज खोप शहरी क्षेत्रका बालबालिकालाई लगाउने तय भएको छ ।
यद्यपी मोर्डना र फाइजर खोप बालबालिकालाई लगाइने मिति भने तय भइनसकेको खोप शाखा प्रमुख दाहालले बताउनुभयो । छिट्टै नै खोप लगाउने मिति निश्चित गरिने उहाँले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत