अबदेखि गरिब तथा विपन्न नागरिकको आकस्मिक उपचार निःशुल्क

काठमाडौं । अबदेखि राष्ट्रिय ट्रमा सेन्टरमा गरिब तथा विपन्न नागरिकले आकस्मिक उपचार निशुल्क पाउने भएका छन् । चोटपटक वा घाइते भएका गरिब तथा विपन्न नागरिकले यस सेन्टरमा आकस्मिक उपचार गरेबापत् पैसा तिर्नु पर्दैन । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सन्तोष पौडेलले आज असोज १ गतेबाट नै लागू हुने गरि गरिब तथा विपन्न नागरिकका लागि निशुल्क उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रममा सम्बोधित गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार निशुल्क कार्यक्रम ट्रमा सेन्टरबाट नै सुरुवात भएको बताउनुभयो । सेन्टरमा ४५ वर्षका एक बेवारिसे पुरुष बिरामीको उपचारबाट यस कार्यक्रमको थालनी गरेको छ ।
कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७/७८ देखि लागू हुने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवा कार्यक्रमको तयारी गरेको थियो । यस्तो व्यवस्था केन्द्रीय अस्पतालहरूमा हुने जनाइएको छ ।
वीर अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह, नरदेवी आयुर्वेदिक अस्पताल, सिभिल अस्पताल, नेपाल पुलिस अस्पताल केन्द्रीय अस्पतालमा यस किसिमको सेवा दिने भनिएको छ ।
तपाईँको अभिमत