आज प्रतिनिधिसभा सदस्य निर्वाचन ,१ करोड ८९ लाख ३ हजार ६८९ मतदाता

फाइल तस्विर
२१ फागुन, काठमाडौं । आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदैछ ।
जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा आज ‘प्रत्यक्ष०तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
७९ हजार ७२७ नेपाली सेना ,७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ ।
राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना र निर्वाचन प्रहरीहरु एक लाख ४९ हजार ९० जना खटाइएको छ ।
निर्वाचनका लागि दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको छ ।
निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गर्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन अपील गर्नुभएको छ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् भने प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
हेल्थपाटी
तपाईँको अभिमत