बिरामी श्रीमानकाे मृत्युपछि श्रीमती अस्पतालमै मृत फेला
काठमाडौं । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत श्रीमान्को मृत्यु भएपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् ।
म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय श्रीमान्को मृत्युपछि कुरुवा बसेकी उनकी अन्दाजी ४२ वर्षकी श्रीमतीलाई अस्पतालको बाथरुममा झुण्डिएको अवस्थामा फेला पारिएको ललितपुरकी प्रहरी उपरीक्षक एसपी किरण बज्रचार्यले जानकारी दिनुभयो । उहाँले श्रीमान्को विहान ६ः३० वजे निधन भएको र त्यसको केहीबेरमै श्रीमतीलाई अस्पतालका कर्मचारीहरुले बाथरुममा झुण्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खवर गरेको बताउनुभयो ।
क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन श्रीमतीले केही दिन अगाडि काठमाडौं ल्याएकी थिइन् । ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो ।
बिहीबार राति करिब १ बजेतिर नर्सहरु राउन्डमा जाँदा श्रीमती श्रीमान्लाई कुर्दै सुतिरहेको तर श्रीमानको मृत्यु भएपछि बाथरुममा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।
तपाईँको अभिमत