आरोग्य भवन वर्क्स १०० वर्षमा प्रवेश, विपन्न स्थानीयलाई रोजगारी दिने योजना ल्याउँदै

निजी क्षेत्रको अग्रणी आयुर्वेद औषधि उत्पादक कम्पनी आरोग्य भवन वर्क्स प्रा.लि.ले अब नयाँ ढङ्गबाट उत्पादनमा लाग्ने बताएको छ ।
चैत १५ गते ९९ वर्ष पूरा गरी १०० वर्षमा प्रवेश गर्न लागेको पूर्वसन्ध्यामा मङ्गलबार आयोजित ‘प्रि–प्रेस मिट कार्यक्रम’मा प्रा.लि.का अध्यक्ष सुबोधकुमार अधिकारीले १००औं वर्षबाट पहिलेभन्दा फरक तरिकाले उत्पादनमा लाग्ने बताउनुभएको हो ।
‘सय वर्ष पुग्नु आफैमा अलौकिक जस्तै हो । नेपालमा कुनै पनि संस्था सय वर्ष पुग्नु चानचुने होइन । चैत १५ गते हामी ९९ वर्ष पूरा गरी सय वर्षमा प्रवेश गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘अरूभन्दा, पहिलेभन्दा अब फरक तरिकाबाट सुरु गर्नेछौँ ।’ चुनौतिका बाबजुद पनि अघि बढ्ने प्रतिवद्धता अध्यक्ष अधिकारीले व्यक्त गर्नुभयो ।
उहाँले आरोग्य भवन अब गुणस्तर, सुरक्षा, असरयुक्त, पहुँच, किफायतीलगायतका विषयलाई प्रमुख उद्देश्य राखी अगाडि बढ्ने पनि बताउनुभयो ।
आरोग्य भवनका प्रबन्ध निर्देशक सुमन पाण्डेले जिएमपी मापदण्डका आधारमा चाँडै औषधि उत्पादन गरिने बताउनुभयो । विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डका लागि पनि निवेदन गरिसकेको उहाँले जानकारी दिनुभयो ।
आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल, कीर्तिपुरका क्याम्पस प्रमुख सहप्राध्यापक डा. शिव मङ्गल प्रसादले सय वर्ष पुग्नु देवत्वकरण बराबर भएको भन्दै शुभकामना प्रदान गर्नुभयो । नेपालको सभ्यता सुरुवातसँगै आयुर्वेद पनि निरन्तर विकसित हुँदै आएको चिकित्सा पद्धति भएको भन्नुहुँदै उहाँले आयुर्वेदलाई राष्ट्रिय चिकित्सा पद्धतिको मान्यता दिनुपर्ने बताउनुभयो । त्यसका लागि निरन्तर कोसिस गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
वि.सं. १९८२ सालमा वैद्य शिवनाथ रिमाल र नरेन्द्रनाथ रिमालले आरोग्य स्थापना गर्नुभएको थियो । त्यतिबेला राणा प्रधानमन्त्री तथा उच्च ओहदाका राणाहरूको उपचार गर्ने औषधालयका रूपमा रहेको थियो । जसले राणाहरूको मन जितेको थियो ।
हाल २५० थरीका औषधि उत्पादन गरिरहेको आरोग्य भवनले वार्षिक १० करोडको कारोबार गरिरहेको छ । निर्यातसमेत गरिरहेको आरोग्यमा हाल ४५ जनाले काम गरिरहेको प्रबन्ध निर्देशक पाण्डेले जानकारी दिनुभयो । त्यस्तै कर्पोरेट कार्यालयमा छ जनाले प्रशासनिक कार्य गरिरहेको उहाँले बताउनुभयो ।
दुई वटा मूल उद्देश्यका साथ अघि बढ्ने
आरोग्य भवन वर्क्सले अब दुई वटा मूल उद्देश्यका साथ अघि बढ्ने उद्घोष गरेको छ । अध्यक्ष अधिकारीले आरोग्य भवनको प्रमुख दुई वटा उद्देश्य रहेको बताउनुभएको हो ।
‘मेरो जडिबुटी मेरो शिक्षा’ र ‘मेरो सन्तानको शैक्षिक आधार, आरोग्यमा रोजगार’ दुई प्रमुख उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अध्ययनरत विद्यार्थीका अभिभावक आफ्नो जडिबुटी लिइदिन कम्पनीमा आए बजार भाउभन्दा बढी रकम दिएर कम्पनीले खरिद गर्नेछ । यसले विद्यार्थीको पढाइमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
यसैगरी आरोग्य भवन वर्क्सको उद्योग रहेको स्थानीयवासीका लागि अवसर दिइने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार विपन्न परिवारले स्थानीय निकायको सिफारिस लिएर आए क्षमताका आधारमा रोजगारी दिइने छ ।
सय वर्ष प्रवेशका उपलक्ष्यमा यी दुई प्रमुख योजना आरोग्य भवन वर्क्सले अगाडि बढाउन लागेको हो ।
तपाईँको अभिमत