स्टार अस्पतालमा २०० बढीको जोर्नी प्रत्यारोपण
ललितपुरको सानेपास्थित स्टार अस्पतालले २०० जना भन्दा बढीको जोर्नी प्रत्यारोपण गरेको छ । २००औँ सङ्ख्यामा जोर्नी प्रत्यारोपण गर्न सफल भएको उपलक्ष्यमा अस्पतालले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिएको हो ।
स्टार अस्पतालको स्थापना २०६३ साल फाल्गुण २९ गते भएको थियो । जोर्नी प्रत्यारोपण सुरु गरेको छोटो अवधिमै अस्पतालले २०० भन्दा बढी बिरामीको हिप र घुँडा प्रत्यारोपण गर्न सफल भएको अस्पतालले जानकारी दिएको छ ।
यो सङ्ख्या निजी अस्पतालहरूमा हालसम्म गरिएको जोर्नी प्रत्यारोपणमा अहिले सम्मकै उच्च रहेको दावी अस्पतालको छ ।
हड्डी खिइएर कामै नलाग्ने तथा उपचारले ठिक नहुने अवस्था आएपछि जोर्नी प्रत्यारोपण गरिने जानकारी चिकित्सकहरूले दिनुभएको छ ।
उहाँहरूका अनुसार जोर्नी प्रत्यारोपणमा बिग्रिएको जोर्नीलाई निकालेर कृतिम जोर्नी राखिन्छ ।
उमेरको कारण, पुरानो चोट, बाथ रोग, जोर्नीको संक्रमण, रगत सम्बन्धी रोग जस्ता समस्याले हड्डि खिइएर समस्या भएका बिरामीले पीडा सहेर बस्न आवश्यक नभएको उहाँहरूको भनाइ छ । जोर्नी प्रत्यारोपण गरी सहजर पीडाबिना जिन्दगी बिताउन सकिने उहाँहरूले सुनाउनुभएको छ ।
घुँडा, हिप लगायतका जोर्नी बिग्रेमा प्रत्यारोपण गर्न मिल्छ भन्ने नै अझै धेरैलाई थाहा नभएको उहाँहरू बताउनुहुन्छ ।
थाहा हुनेलाई पनि बुढेसकालमा अप्रेसन गर्दा झन समस्या आउछ भन्ने भ्रम छ ।
जोर्नी खिइने समस्या अधिकांश उमेर बढ्दै गएपछि बुढेसकालमा नै आउने हुँदा यसमा भ्रम पाल्न आवश्यक नभएको चिकित्सकहरू बताउनुहुन्छ।
उमेर भएकाहरूकै बढी शल्यक्रिया गर्नुपर्ने सुरक्षित सर्जरी भएकाले डराउनु नपर्ने सुझाव उहाँहरूको छ ।
जोर्नी प्रत्यारोपणबारे प्रा. डा. दिर्घ राज आ. सी., डा. सुमन बाबु मरहट्टा र डा. राम ईश्वर यादवले दिनुभएको जानकारी
जोर्नी प्रत्यारोपण सम्बन्धि संक्षिप्त जानकारी
जोर्नी प्रत्यारोपण भनेको अर्थोपेडिक सर्जरीको एक विशेष र छुट्टै विधा हो। हाम्रो शरीरका जोर्नीहरू विविध कारणले बिग्रन सक्छन। धेरैजसो आफनो उमेरका कारण, कहिले बाहिरी रुपमा लाग्ने चोटपटकका कारण त कहिले काहीं संक्रमणका कारण जोर्नी बिग्रन सक्छ। जोर्नी बिग्रिसकेपछि शरीरमा अनेकौं लक्षण देखिन थाल्छन जसले जीवन असहज बन्न पुग्छ। त्यसैले यसलाई उपचार र सर्जरी गरेर मिलाउनु अथवा शरीरमा भएको बिग्रिएको जोर्नीलाई निकालेर कृतिम जोर्नी राख्ने प्रविधिलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ। नेपालमा धेरै जसो हिप र घुँडाको जोर्नी प्रत्यारोपण हुने गरेको छ। यी दुईमा पनि घुँडाको समस्या बढी छ ।
यदि कुनै पनि कारणले घुडाँभित्र रहेको आर्टिकल कार्टिलेज एक प्रकारको चिल्लो पदार्थ बिग्रेमा दुई वटा हड्डी एक आपसमा नजिक हुन्छन् र घोटिन थाल्छन्, जसलाई घुडाँ खिइएको भानिन्छ ।
घुडाँ खिइने कारण
१ उमेरको कारणले खिइने रोग
२ पुरानो चोटको कारण
३ बाथ रोग
४ जोर्नीको संक्रमण
५ रगत सम्बन्धी रोग जस्तै, हेमोफिलिया
माथि उल्लेखित एक वा एकभन्दा धेरै कारणले मानिसको घुडाँ खिइने समस्या आउन सक्छ । यो समस्या सुन्दा एउटै जस्तो लागे पनि यसका विभिन्न स्टेज हुन्छन् । जस अनुसार उपचार पद्दति पनि फरकफरक हुन्छन् । बिरामीको लक्षण, डाक्टरको जाँच र एक्स-रे गरेर घुडाँ खिईने अवस्थालाई ग्रेडिङ्ग गर्न सकिन्छ । घुडाँ खिइने रोगलाई ४ वटा अवस्थामा (स्टेज) राख्न सकिन्छ ।
यी चार अवस्थामा बिरामीको लक्षण चेकजाँच र उपचार विल्कुल नै फरक हुन्छ । त्यसैले बिरामीले के बुझ्नुपर्छ भने घुडाँ खिईएको भन्दैमा सबैको उपचार एउटै हुँदैन । मानौ बिरामीको उमेर ४० वर्षको छ र उसको घुडाँ खिइएको छ उसको अवस्था र उपचार तथा एउटा ६५ वर्षको बिरामीको अवस्था र उपचारमा विल्कुल फरक पर्छ। त्यसैले बिरामीले आफ्नो डाक्टरसँग घुडाँको समस्याको कारण र यदि घुडाँ खिइएको छ भने खिईएको घुडाँ कुन अवस्थामा छ प्रष्ट हुन जरुरी छ ।
जोर्नी बिग्रने बित्तिकै यसको प्रत्यारोपण नै गर्नुपर्छ भन्ने होइन। सजिलो भाषामा भन्नुपर्दा सबैको जोर्नीमा समस्या आउँदैमा दुख्दैमा प्रत्यारोपण गर्न पर्दैन र मिल्दैन पनि। शुरुमा हामी जोर्नी के कारणले बिग्रको हो, कति बिग्रको छ सबै हेरेर मात्र निर्णय गर्छौं। प्रत्यारोपण नै गर्ने भनेको जोर्नी अब अन्य उपचार, औषधी वा व्यायामले काम गर्दैन भन्ने लागेपछि मात्र हो । हामी यसलाई चारवटा स्टेजमा राख्छौं । दुई वटा स्टेज सम्म जोर्नी प्रत्यारोपण गर्नुपर्दैन । तर तेस्रो र चौथो स्टेज भनेको अब बिरामी हिंडडुल गर्न नै गाह्रो हुन थाल्यो, ह्विलचेयरमै बस्न पर्ने भइसक्यो वा खुट्टा नै बांगिन थालिसक्यो भने अब जोर्नी प्रत्यारोपण बाहेकको अर्को उपाय नै हुँदैन् । यसमा औषधीले कुनै काम गर्दैन्। त्यो अवस्थामा भने हामी घुँडाको जोर्नी प्रत्यारोपण गरेर जीवन सहज बनाउन सल्लाह दिन्छौँ ।
शल्यक्रियापछि धेरैलाई असाध्यै सहज हुने गरेको छ । यसले दुई पाइला हिंड्न पनि गाह्रो भएकाहरू एवं दिन रात दुखाइ सहन बाध्य भएकाहरूलाई वरदान नै सावित भएको छ । उनीहरू यही दुखाइ र असहजताका कारण कयौं आफन्तहरू भेट्न समेत जान पाएका हुँदैनन् । यो सर्जरीपछि भने उनीहरूको मुहारमा निकै खुशी छाएको पाइन्छ । ८० ९० वर्षका बिरामीहरू पनि मेरो जोर्नी फेरिदिनुपर्यो भनेर आउनुहुन्छ । अहिलेसम्म हामीले सर्जरी गरेका बिरामीहरू सन्तुष्ट नै हुनुहुन्छ ।
नेपालमा अझै पनि धेरै जनालाई घुँडा, हिप लगायतका जोर्नी बिग्रेमा प्रत्यारोपण गर्न मिल्छ भन्ने नै थाहा छैन् । जतिलाई थाहा छ उनीहरूमध्ये धेरैमा जोर्नी प्रत्यारोपण गरेपछि झनै समस्या हुन्छ भन्ने भ्रम पनि छ । त्यसैले पहिलो कुरा त यो सर्जरीका बारेमा नै जानकारी दिन जरुरी छ । अर्को कुरा बुढेसकालमा पनि यति ठूलो शल्यक्रिया गर्ने भन्ने भ्रम पनि छ । यो भ्रम मात्र हो । अधिकांश जोर्नी प्रत्यारोपण हड्डी खिइएपछि गरिने हुँदा यो समस्या अधिकांश उमेर बढ्दै गएपछि बुढेसकालमा नै आउने हुँदा यसमा भ्रम पाल्न पर्दैन । त्यसैले उमेर भएकाहरूकै बढी शल्यक्रिया गर्नुपर्ने हुन्छ । यो सुरक्षित सर्जरी भएकाले समस्या भएकाहरूले आफनो जीवन सहज बनाउनका लागि र जति बाँचिन्छ पीडा बिना बाँच्नका लागि जोर्नी प्रत्यारोपण गर्न सक्नुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत