कोरोनाबाट करिब १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान
कोभिड–१९ महामारीका कारण विश्वभर करिब १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बिहीबार एक तथ्यांक सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनले यस्तो अनुमान गरेको हो।
सन् २०२० जनवरीदेखि २०२१ मे महिनासम्मको एक तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो। उक्त तथ्यांकमा कोभिड–१९ को समयमा फ्रन्टलाइनमा काम गर्ने ८० हजारदेखि१ लाख ८० हजारको बीचमा स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको छ ।
यो स्वास्थ्य क्षेत्रका लागि ठूलो क्षति भएको विश्व स्वास्थ्य संगठनका स्वास्थ्य कार्यबल विभाग प्रमुख जिम क्याम्पबेलले बताएका छन् ।
२०२० जनवरीदेखि २०२१ मे महिना संसारभर कोरोनाबाट करिब ३५ लाखको मृत्यु भएको थियो।
संसारभर स्वास्थ्य क्षेत्रमा काम गर्ने १३ करोड ५० लाख भन्दा धेरै रहेको अनुमान छ । कोभिड महामारी सुरुभएपछि स्वास्थ्य क्षेत्रमा काम गर्नेले डर र तनाव समेत भोग्नु परेकाले धेरै जना डिप्रेसनको शिकार समेत भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोभिड–१९ विरुद्धको खोप आएपछि अधिकांश देशले स्वास्थ्यकर्मीलाई पहिलो प्राथकितामा राखेर खोप लगाएका थिए । तर अफ्रिका र पश्चिमी प्राशान्त क्षेत्रका मुलुकमा १० मध्ये १ स्वास्थ्यकर्मीले मात्रै पूर्ण खोप पाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत